संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया

२०७४ साउन २७ शुक्रवार
developer_admin

काठमाडौं, २७ साउन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुननसक्ने ठोकुवा गरेका छन् ।

नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताए । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘एमालेसँग परामर्श विना सरकारले दाउपेचको विषय बनाएर बढ्नुले नयाँ संकट बढाउँदैछ ।’

एमालेले चासो राखेको गम्भीर विषयलाई समेत बेवास्ता गरेर विधयेक संसदमा प्रस्तुत गरिएको बताए । विधयेक पास भए जस लिने र फेल भए एमालेलाई दोष देखाउने रणनीति बनाइएको उनको भनाई थियो ।

पछिल्लो समय दलहरूबीच दूरी बढाउने र देशमा नयाँ धु्रवीकरण गराउने खेलहरू भइरहेको बताए । ज्ञवालीले भने, ‘संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने, मधेशविरोधी देखाएर प्रोपोगाण्डा गर्ने र तराईको सेन्टिमेन्ट जित्ने रणनीति लुकेको छ ।’ संविधान संशोधन प्रस्ताव बारे एमाले गम्भीर छलफल गरेर अगाडि बढ्न तयार भएको उनको भनाई थियो ।

‘प्रदेश नम्बर दुई एमाले पहिलो शक्ति बन्ने’

जस्तोसुकै चलखेल गरेपनि प्रदेश नम्बर दुईको स्थानीय चुनावमा एमाले पहिलो पार्टी हुने दाबी गरे । वर्तमान सरकारले गराउने प्रदेश र संसदको चुनावमा भाग लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यसै सरकारले चुनाव गराओस् एमाले चुनावबाट भाग्दैन बहुमत ल्याएर सरकार चलाउनेछ ।’

‘गोविन्द केसीका नाममा एमालेलाई लाञ्छित गर्ने घटिया राजनीति’

चिकित्सा क्षेत्रको विकृतिविरूद्ध डा.गोविन्द केसीले गरिरहेको अनशनको मनशाय गलत नभएको बताए । समस्याको तत्काल समाधान खोजिनुपर्ने तर चिकित्सा क्षेत्रमा लगानी गरेकाहरूलाई समेत अन्यायमा पार्न नहुने उनको भनाई थियो । मध्यमार्गी बाटोबाट समाधान निकाल्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘सरकारले हिजो गरेको गल्तीको भागिदार सर्वसाधारण र लगानीकर्ता हुनुहुँदैन । लगानी खरिद हुनुपर्छ ।’ अनसनलाई आधार बनाएर एमालेलाई लाञ्छित बनाउने क्रियाकलाप भइरहेकोप्रति आपत्ति जनाए । उनले भने, ‘गोविन्द केसीका नाममा एमालेलाई लाञ्छित गर्ने घटिया राजनीति भइरहेका छन् ।’

(https://www.dipprofit.com/)