New from Nepal

उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताहरूको लागि कांग्रेस, एमाले र माओवादी केन्द्र सबै दल उस्तै भएको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले भने,‘एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरेर गल्ती गरेको छ, हुन त एमालेमात्रै होइन, मधेसका लागि ठूला दलहरूले अहिलेसम्म सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन्।’

यादवले अघि थपे,‘एमाले, कांग्रेस, माओवादी केन्द्र यी तीनै दल मधेसी जनताहरूको लागि उस्तै हुन्, यी पार्टी मधेसविरोधी हुन् । सबै पार्टी उस्तै हुन् । मधेसमाथि दमन गरेका छन्, यिनीहरू सरकारमा हुँदा मधेसी जनताको छातीमाथि गोली चलाएकै हुन् ।’

अध्यक्ष यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेसमा भोट माग्ने नैतिकता गुमाएको बताएका छन्। यादवले भने,‘संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भीर भुल गरेको छ, त्यसैले उसले मधेसमा भोट माग्ने नैतिकता नै गुमाएको छ।’

साक्षात्कारमा बोल्दै उनले चुनाव भनेको लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । उनले भने,‘मानव शरिरमा रगतको महत्व जति हुन्छ, लोकतन्त्रमा चुनावको जरुरी वा महत्व त्यति नै हुन्छ । निर्वाचनलाई पर्व वा उत्सवको रुपमा लिनुपर्छ।’

यादवले मधेसमा निर्वाचप्रति व्यापक ठूलो जनलहर छाएको बताए । त्यस्तै उनले आफ्नो पार्टीले अहिले संविधान संशोधनमा जोड नदिई निर्वाचनमा जोड दिएको समेत स्पष्ट पारे । यादवले थपे,‘चुनावपछि संविधान सच्याइन्छ।’

सरकारको रवैया ठीक नभएको उनको आरोप थियो । ‘सरकारले दिने सेवामा अत्यन्तै कमजोरी भएको छ, भ्रष्टाचार बढेको छ’, यादवले भने,‘मुलुकमा अहिले लोकतन्त्र होइन, लुटतन्त्र मौलाएको छ।’

अध्यक्ष यादवले हिजोसम्म लोकतन्त्र हावामा भएको बताउँदै भने,‘तर अहिले स्थानीय तहको निर्वाचनपछि लोकतन्त्र जनतामा पुगेको छ ।’
राजपा नेपालप्रति लक्षित गर्दै उनले भने,‘केही पक्षले गैरराजनीतिक गतिविधि खास गरेर हिजो हामी निर्वाचनमा जाँदा आक्रमण गरेपनि अहिले आएर उनीहरू पनि चुनावमा आएका छन्।’

उनले २ नम्बर प्रदशेमा आफ्नो पार्टीले धेरै सिट जित्ने पनि उनले दाबी गरे ।

यादवले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता र अनुगमन लगायत अन्य महत्वपूर्ण विषयमा कडाई गर्न नसकेकेको समेत गुनासो पोखे । उनले थपे, ‘सरकारमा बसेका दलहरूबाट व्यापक शक्तिको दुरुपयोग भएको छ, यसको अनुगमन गर्नुपर्दैन ? निर्वाचन आयोग के हेरेर बसेको छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *