New from Nepal

तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता भएको बताएका छन् । असोज २ गते तेस्रो चरणमा हुन लागेको दुई नं. प्रदेशको निर्वाचनबाट यस प्रदेशका जनतालाई केन्द्रिय राजनीतिसँग जोड्न सके नेपालको राष्ट्रियता दह्रो हुने दाबी गरे । साेमबार प्रेस सेन्टर सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले दुई नम्वर प्रदेशमा हुन लागेको निर्वाचनको सम्पन्नतासँगै संघ र प्रदेशको निर्वाचनको पनि बाटो खुल्ने उनले बताए । तराई मधेसमा परम्परादेखि देखिँदै आएको बुथ कब्जाको समस्या र पैसाको चलखेलका कारण कसैले पनि सोचेको र दाबी गरे अनुसारको नतिजा ल्याउन सक्ने अवस्था नरहेकाे बताए ।

तराईका पुराना दलका उम्मेदवारले स्थानीय महिलाहरुलाई प्रभावित पार्नको लागी एक महिला एक साडी, साडी भित्र हजारको नोट जस्ता अभियान चलाएको आफुहरुले पाएको समेत उनले खुलासा गरे । कसले यसरी बाँड्यो भन्ने पत्रकारहरुको प्रश्नमा उनले प्राय :पुराना पार्टीका उम्मेदवारहरु बढी रहेको तर, आफ्ना पार्टीका उम्मेदवारले पनि सक्ने जतिले नछोडेको उनको भनाई छ । तराईका कतिपय स्थानमा बहुदल आएदेखि अहिलेसम्म जसले बुथ कब्जा गर्न सक्यो उसैले मात्र चुनाव जित्ने गरेको स्थान पनि धेरै रहेकाले त्यस तर्फ गृहमन्त्री र स्थानीय प्रशासकहरुको ध्यानाकर्षण गराएको दाहालले बताए । भारतसँग सिमा जोडिएका जिल्लाका कतिपय बुथहरु वर्षौँदेखि कब्जा गर्ने र निर्वाचन जित्ने परिपाटी रहेको तथ्य समेत आफुहरुको सामु रहेको उनले बताए ।

दुई नम्वर प्रदेशमा माओवादी ठुलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले अहिले नै यसै भन्न गर्न नसक्ने बताए । मधेसमा अहिले देखिएको निर्वाचनको माहोल,पहाडी र हिमाली जिल्लामा भन्दा पनि बढी रहेको उनले बताए । सरकारले तेस्रो चरणमा निर्वाचन गर्न लाग्यो भनेर विरोध गर्नेहरुको अहिले मुखमा बुझो लागेको उनले बताए । ‘ तराईका ८ जिल्लामा निर्वाचनमा जुन प्रकारको हुलदंगाको आशंका गरिएको थियो,त्यो सवै गलत सावित भए, तराईमा अहिले त निर्वाचनको विरोध गर्ने केही पनि जीव छैन’, पहाडमा भन्दा तराईमा निर्वाचनको सरगर्मी बढी छ, प्रचण्डले भने ।
अहिले दुई नम्वर प्रदेशमा हुन लागेको निर्वाचन माओवादीको लागी सवै भन्दा खुसीको कुरा भएको उनको भनाई छ । पछिल्लो समय १० महिना नेपाल र नेपालीको प्रधानमन्त्री हुँदा जुन रुपमा तराई र पहाडका विचमा एक अर्काप्रति आशंका देखिएको थियो त्यो चिर्न आफु सफल भएको उनले बताए ।

त्यसबेला तराई र पहाडमा जुन विखण्डनकारी तत्व देखिएको थियो, त्यसलाई निस्तेज पार्दै निर्वाचन हुने सम्मको वातावरण बन्यो त्यो नै आफ्नो सरकारको सवैभन्दा बढी सफलताको दिन हो, उनले भने । ‘अहिले तराईमा नसोचेको सफलता माओवादीले पाइरहेको छ, जुन आफ्नो पार्टीको सोचेको थिएन’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *