
नागरिक दैनिक

आजको नागरिक दैनिकमा छापिएका मुख्य समाचारहरु :
प्रधानमन्त्री देउवाले आज राजीनामा दिने
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ ।
त्यसपछि पधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुहुनेछ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।यो खबर आजको नागरिक दैनिकले छापेको छ ।
प्रधानमन्त्री चयन प्रक्रिया : वाम गठबन्धनबाट ओली
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दावी पेस गर्ने भएका छन् ।
वामपन्थी गठबन्धनको केन्द्रिय एकता संयोजन समितिको बुधबार साँझ बसेको बैठकले निर्वाचित परिणाम औपचारिक रुपमा सार्वजनिक भईसकेकाले अव सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकाल्दै राष्ट्रपतिसमक्ष दावी प्रस्तुत गर्ने निर्णय गरेको हो ।
वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।यो खबर आजको नागरिक दैनिकले छापेको छ ।
प्रदेशमा पुग्यो १ अर्ब १९ करोड
सरकारले प्रदेशमा तत्कालको खर्च सञ्चालन गर्न १ अर्ब १९ करोड रुपैयाँ पठाएको छ ।
सात प्रदेशमा १७ करोड रुपैयाँका दरले रकम पठाईएको हो ।
प्रदेशमा प्रदेशप्रखुम, मुख्यमन्त्री, प्रदेश सभामुखसहित अन्य पदाधिकारी तथा कर्मचारीको तलबभत्ता र अन्य भईपरी आउने खर्चका लागि रकम पठाईएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रदेशप्रमुखको कार्यलयमा २ करोडका दरले १४ करोड, प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा ५ करोडका दरले ३५ करोड र प्रदेशसभामा १० करोडका दरले ७० करोड रुपैयाँ पठाएको हो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
माओवादी सरकारमा सहभागी नहुने
माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो ।
एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भईरहेका बेला मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको छ ।
माओवादी केन्द्र मोरङ ईन्चार्ज कुशल लिम्बुले मन्त्रालयमा कुरा नमिलेको भन्दै सरकारमा सहभागी नहुने स्पष्ट पारे ।
उनले भने, सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको हो । यो खबर आजको नागरिक दैनिकमा छ ।
जहाँ ट्युसन पढ्का लागि विद्यालय छाड्छन् विद्यार्थी
रसुवा – माध्यमिक शिक्षा परीक्षा नजिकिन थालेपछि जिल्लाको माथिल्लो क्षेत्रमा सञ्चालित विद्यालयका विद्यार्थी बाहिरिने गरेका छन् ।
जिल्लाको आमाछोदिङमो गाउँपालिकामा रहेको विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले ट्युसन पढ्का लागि विद्यालय छाड्ने गरेका हुन् ।
गाउँमा पढ्नका लागि उपयुक्त वातावरण नहुने भएकाले परीक्षा आउन करिव पाँच महिना बाँकी छँदा विद्यार्थीले गाउँ छाड्ने गरेका अभिभावकहरूले जनाएका छन् ।
गाउँपालिकाका गत्लाङस्थित नेपाल राष्ट्रिय मावि, गोल्जुङस्थित पार्वतीकुण्ड मावि र हाकुस्थित हाकु माविमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले दसैंतिहारको बिदासँगै विद्यालय जान छाड्ने क्रम बढेको छ ।
विद्यालय छाडेपछि उनीहरू जिल्लाका स्याफ्रु, कालिाकस्थान र काठमाडौंमा ट्युसन पढ्न जाने गरेका नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक नवीन लामाले बताए ।
परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले कात्तिकबाटै विद्यालय छाडेर अन्यत्र गएपछि पठनपाठन प्रभावित बनेको छ । ‘परीक्षा दिने समयमा मात्र ती विद्यार्थी विद्यालय आउँछन्,’ उनले भने, ‘यसले पठनपाठनमा समस्या हुने गरेको छ।’यो खबर आजको नागरिक दैनिकमा छ ।
अन्नपूर्णपोस्ट
आजको अन्नपुर्णपोष्टमा छापिएका मुख्य समाचारहरु :
बाख्रा हेर्न गएकी बालिका बलात्कृत
लमजुङ – लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् ।
११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए ।
बुवासँग बाख्रा हेर्न गएकी बालिकालाई मदिरा सेवन गरेका लामाले मंगलबार दिउँसो करिब १ बजे करणी गरेको प्रहरीले जनाएको छ ।
३० बर्षलेदि राइनासमा मजदुरी गर्दै आएका लामालाई साँझ साढे ५ बजे पक्राउ गरिएको हो । यो खबर आजको अन्नपूर्ण पोस्टले छापिएको छ ।
पूर्वराष्ट्रपतिलाई किन चाहियो अर्को गाडी ?
काठमाडौं – सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ ।
राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो ।
तर, उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृहमन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो ।
अब पूर्वराष्ट्रपति यादवले दुईवटा गाडी प्रयोग गर्ने भएका छन् । यो खबर आजको अन्नपूर्ण पोस्टले छापिएको छ ।
यसकारण रोकियो प्रधानमन्त्री देउवाको राजीनामा
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ ।
राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन् ।
सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दासम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति परित्याग गरेको बालुवाटार स्रोतले जानकारी दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
देशवासीलाई सम्बोधन गरी बुधबार राजीनामा दिने देउवाको तयारी थियो। उनले साँझ मन्त्रिपरिषद्का सदस्यसँग आफ्नो राजीनामाको विषयमा अनौपचारिक छलफल पनि गरेका थिए। छलफलमा राष्ट्रपतिसँग सरकारको सिफारिसका विषयमा कुरा गरेर मात्रै राजीनामा दिन सुझाव आएपछि देउवा राजीनामाबाट पछि हटेका हुन् ।
प्रधानमन्त्री सचिवालयदेखि केही कांग्रेसी नेताले बुधबार देउवाको बिदाइ सम्बोधन तयार पारेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सम्बोधन र राजीनामा सबै तयार पारेर बसे पनि सरकारको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयनमा ढिलाइ हुँदा रोकिएको जानकारी दिए ।
नयाँ पत्रिका
आजको नयाँपत्रिकामा छापिएका मुख्य समाचारहरु :
यसरी हार्यो नेपालसँग क्यानडा, करण बने नायक: खेल नसकिँदै नेपाल छनोट
काठमाडौं – नेपालले आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा खेल्ने भएको छ । नामिबियामा बुधबार भएको खेलमा क्यानडामाथि १ विकेटको जित निकाल्दै नेपालले अर्को वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको हो । नेपालले उपाधिका लागि बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले लिगमा पाँच खेलबाट सर्वाधिक ८ अंक जोड्यो । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । क्यानडा र नामिबियाले पाँच खेलबाट समान ६ अंक जोडे पनि रनरेटमा पछि परे। आजको नयाँ पत्रिकामा खबर छ ।
अन्तिम ओभरमा ८ रन
अन्तिम ओभरमा नेपाललाई ८ रन चाहिएको थियो । क्यानडाले अन्तिम ओभर स्ट्राइक बलर सेसिल पर्भेजलाई दिएको थियो । यता क्रिजमा करणले नै स्ट्राइक लिएका थिए । करणले पर्भेजका पहिलो चार बलमा कुनै रन लिन सकेनन् । क्यानडाले लगभग खेल आफ्नो पडकमा लिइसकेको थियो । तर, करणले पर्भेजको पाँचौँ बलमा छक्का प्रहार गरे । इनिङकै अन्तिम बल फ्याँकेका पर्भेजले वाइड फ्याक्दा नेपालको स्कोर १९४ भएको थियो । पर्भेजको अन्तिम बलमा रन नलिँदा पनि नेपालले खेल नहार्ने पक्का भइसक्यो । करणले पर्भेजको अन्तिम बलमा मिडविकेटमा एक रन लिँदै नेपाललाई जिताए ।
करण नायक
पहिलो ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा आठ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा १ सय ९५ रन जोड्दै विश्वकप छनोटमा स्थान सुरक्षित ग¥यो । नेपालको सनसनी जितमा करण केसी नायक भए । इनिङको एक समयमा नेपाल १४४–९ को स्थितिमा थियो । क्रिजमा दशौँ क्रमका करण केसी र ११औँ क्रममा सन्दीप लामिछाने थिए । करणले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बटुलेपछि क्यानडा स्तब्ध बन्यो । करणले सन्दीपसँग दशौँ विकेटका लागि ७.५ ओभरमा ५१ रनको साझेदारी गरेका थिए । करणले म्याच विनिङ पफर्मेन्समा तीन चौका र चार छक्का समावेश रह्यो ।
विश्वकप छनोट समीकरण
सन् २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपमा आइसिसीको वरीयतामा रहेका शीर्ष दश टोलीले प्रतिस्पर्धा गर्नेछन् । आइसिसी वरीयताको शीर्ष आठभित्र रहेका राष्ट्रले सीधै विश्वकप खेल्नेछन् । शीर्ष आठभित्र पर्न नसक्दा दुईपटकको पूर्वच्याम्पियन वेस्ट इन्डिजले पनि विश्वकप खेल्न पहिलोपटक छनोटको बाटो रोज्नुपरेको छ । वेस्ट इन्डिजबाहेक अफगानिस्तान, जिम्बावे र आयरल्यान्डले पनि छनोट खेल नै खेल्नेछन् ।
विजेरत्नेको शतक ओझेलमा
टस हारी ब्याटिङ गरेको क्यानडाका लागि श्रीमान्थ विजेरत्नले नटआउट १ सय ३ रन बटुलेका थिए । उनले १ सय ५२ बलमा आठ चौका प्रहार गरेका थिए । नेपालको जितसँगै विजेरत्नको शतक छायामा परेको छ । नेपालको बलिङमा वसन्त रेग्मीले ३४ रन खर्चेर तीन विकेट लिए । सन्दीपले ९ ओभरमा ४० रन खर्चेर दुई विकेट हात पारे ।
खेल नसकिँदै नेपाल छनोट
यद्यपि, नेपालले क्यानडामाथि इनिङको अन्तिम बलमै जित निकाले पनि ४९.५ ओभरमै नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा पुगिसकेको थियो । पर्भेजले छैटौँ बल फ्याँक्नुअघि अर्को खेलमा युएईले नामिबियालाई १९ रनले हराएको थियो । युएईको नतिजा आइसक्दासम्म नेपाल र क्यानडाको समान १९४ रन थियो । अन्तिम बलमा रन नलिएको अवस्थामा पनि खेल बराबरीमै सकिन्थ्यो । यस समीकरणमा क्यानडा शीर्ष र नेपाल दोस्रो स्थानमा रहन्थे । तर, नेपालसँग पराजित भएपछि क्यानडा शीर्ष स्थानबाट सीधै तेस्रो स्थानमा पुग्यो । नामिबिया अन्तिम खेलमा पराजित भएपछि चौथो स्थानमै सीमित भयो ।यो खबर आजको नयाँ पत्रिकाले छापेको छ ।
वाम एकता प्रक्रियाः ३-२ र अढाइ–अढाइमा कुरा मिल्न बाँकी
एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको खबर आजको नयाँ पत्रिकामा छ ।
प्रधानमन्त्रीको कार्यकालबारे असहमति जारी
छलफलमा एमाले नेताहरूले पार्टीको पोजिसनका आधारमा ओलीले कम्तीमा ३ वर्ष सरकारको नेतृत्व गरिसकेपछि प्रचण्डलाई हस्तान्तरण गर्ने कुरा उठाएको छ भने माओवादी नेताहरूले संयुक्त नेतृत्व र आलोपालो सिद्धान्तअनुसार अढाइ–अढाइ वर्ष हुनुपर्ने अडान राखेका छन् । यस विषयमा सहमति हुन बाँकी छ ।
केन्द्रीय नेतृत्वमा सयजनाभन्दा बढी
नेतृत्वमा पदाधिकारी नराख्ने र दुई अंकभन्दा नबढ्ने गरी (अर्थात् सयभन्दा कम) सदस्य रहेको केन्द्रीय कमिटी बनाउने विषयमा छलफल चलेको छ । तर, यो छलफलले बुधबारको संयोजन समिति बैठकमा प्रवेश पाइनसकेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । पदाधिकारी नराख्दा शीर्ष नेताको भूमिका कम हुने, स्थायी समिति र केन्द्रीय सदस्यको पद घटुवा हुने सम्भावना देखिएपछि बिहीबार दुवै पार्टीका पहिलो र दोस्रो तहका नेताले छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् । संगठनात्मक स्वधपबारे अनौपचारिक तहको मोटामोटी खाका संयोजन समितिको छलफलमा प्रस्तुत हुने र कम्तीमा पदाधिकारी र स्थायी समितिमा रहेका नेतालाई स्थायी समितिमै राख्नुपर्ने बाध्यताका कारण संगठनको आकार ठूलो हुने सम्भावना देखिएको एक नेताले बताए ।
प्रचण्डले भने : एकता हुने भयो, तयार रहनुस्
पार्टी एकता अन्तिम चरणमा पुगेको छ । मेरो र ओलीजीको वार्ता सकारात्मक रूपमा अन्तिम चरणमा छ । यसलाई व्यवस्थित गर्न सांगठनिक र वैचारिक कार्यदिशासँग सम्बन्धित दुईवटा कार्यदल बनाउने सहमति भएको छ । अब विभिन्न पार्टी (माओवादी वा एमाले) मात्रै रहेर हुँदैन, एउटा कम्युनिस्ट केन्द्र बनाएर, ठूलो पार्टी बनाएर समाजवादी क्रान्तिमा जानु छ । तपाईंहरू तयार हुनुहोस्, वैचारिक रूपमा कमजोर नहुनुस् । दृढसंकल्पित भएर अघि बढ्नुस् । समयको चुनौती हो, हामीले सामना गर्नुपर्छ ।
कान्तिपुर
आजको कान्तिपुरमा छापिएका मुख्य समाचारहरु :
नेपाल विश्वकप छनौटमा :सनसनीपुर्ण जित
क्यानामाठि अन्तिम बलमा १ विकेटको सनसनीपुर्ण जित हात पार्दै नेपाल विश्वकप छनौटमा पुगेको छ ।
नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को राउन्ड रोबिनाको पाँचौँ तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनौटमा पुग्ने स्थिति थियो ।
नेपाल सर्वाधिक ८ अंक बोक्दै विश्वकप छनौटमा पुगेको हो ।
युएई, नामिबिया र क्यानडाको समान ६ अंक भए पनि राम्रो रन रेटका आधारमा युएई छनौट हुन सफल भएको छ ।, यो खबर आजको कान्तिपुरले छापेको छ ।
सिलवालविरुद्ध किर्ते मुद्धा चलाउन राय
महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुर्वडीआईजी नवराज सिलवालविरुद्ध सरकारी छाप दस्तखत ‘किर्ते’ को मुद्धा चलाउन राय दिएको छ ।
सरकारले प्रकाश आर्यललाई आईजीपिमा नियुक्त गरेपछि त्यस निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेको सरकारी कागजातमा किर्ते गरेको आरोप उनीमाथि छ ।
काठमाडौं सरकारी वकिलको कार्यालयका प्रमुख सुर्य दाहालले राय अध्ययनपछि उचित निर्णय लिईने बताए । यो खबर आजको कान्तिपुरले छापेको छ ।
आयोगले बुझायो परिणाम, खुल्यो सरकार गठनको बाटो
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सकिएको ६९ दिनपछि बुधबार राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएको छ ।
निर्वाचनको एक साताभित्रै मतगणना सकिए पनि राष्ट्रिय सभा निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकको परिणाम दिन संवैधानिक र कानुनी जटिलताका कारण आयोगले लामो समयदेखि ‘होल्ड’ मा राखेको थियो ।
प्रतिनिधिसभाको परिणाम आएसँगै संघीय संसद्ले पूर्णता पाएको मात्र होइन, संघीय संरचनाका तीनवटै तहमा राजनीतिक नेतृत्व आएर मुलुकले संविधान कार्यान्वयनको महत्त्वपूर्ण खुडकिलो पार गरेको छ ।
वर्ष २०७४ मा ७ सय ५३ स्थानीय तह, ७ वटा प्रदेश, संघीय संसदभित्रका प्रतिनिधिसभा र राष्ट्रिय सभाको चुनाव सम्पन्न भइसकेको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट चुनिएका छन् । आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
ललितपुर बलात्कार काण्ड: तीनै जना अभियुक्त फरार
ललितपुरको भित्री वस्ती गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती फैसला आएको एक सातापछि मात्रै उनीहरु ‘फरार रहेको’ प्रहरीले थाहा पाएको छ ।
गत विहिबार पाटन उच्च अदालतले दिएको पुरावेदन फैसलाको औपचारिक पत्र जिल्ला प्रहरी कार्यालयले सोमबार मात्रै पाएको र तत्काल आरोपीको ‘लोकेसन’मा खोजी गर्दा उनीहरु फरार भैसकेको प्रहरीले जनाएको छ ।
‘यो स्थितीबारे हामीले केन्द्रिय प्रहरी परिसर र अपराध महाशाखालाई पनि अवगत गराएका छौं,’महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी विनोद सिलवालले कान्तिपुरसँग भने—‘फरार आरोपीको ‘लोकेसन ट्रेस’ गर्ने काम थालिएको छ ।’
अदालती फैसला आउनासाथ आफूले मौखिक रुपमा स्थानीय बाँडेगाउँस्थित प्रहरी प्रभागमा आरोपीको थातथलो निगरानी गर्न निर्देशन दिएको बताउँदै सिलवालले ‘आरोपी खोजबिनमा तदारुकता अपाइने’ बताए ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
कारोबार
आजको कारोबारमा छापिएका मुख्य समाचारहरु :
भूकम्प दोहोरियो भने काठमाडौंमा कति क्षति हुन्छ ?
काठमाडौं – तीन बर्षअघि गोरखा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ ।
यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । आजको कारोबारमा खबर छापिएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्याकंन परियोजनाले जापानी सहयोग नियोग(जाइका)सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो ।
तीन बर्षको समय लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दाहोरिए काठमाडौं उपत्यकामा मात्र ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ ।
समाचारमा लेखिएको छ, यसअघि पनि विभिन्न दातृ संस्थाहरुले काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् ।यो खबर आजको कारोबारले छापिएको छ ।

