काठमाडौं, फागुन ४ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकट मानिने नेता महासचिव ईश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीलाई मन्त्री बनाउने चर्चा थियो । तर, उनले पोखरेल र ज्ञवालीलाई हिस्स बनाउँदै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएर सरप्राइज दिए ।
सपथग्रहण सुरु हुनु अघिसम्म पनि महासचिव पोखरेल मन्त्री बन्ने चर्चा हुँदै थियो । तर, उनीहरुलाई ओलीले नपत्याएको चर्चा सुरु हुन थालेको छ ।
ओलीले बिहीबार सानो आकारको मन्त्रिमण्डल विस्तारसँगै पहिलो चरणमा पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालय र थापालाई महिला, बालबालिका र समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
ओलीले आज शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायलाई शुभकामना व्यक्त गर्दै सरकारले छिट्टै पूर्णता पाउने समेत बताएका छन् ।
ओलीको सपथसँगै यतिबेला एमालेबाट को कुन मन्त्री बन्ने भन्नेबारे चर्को बहस सुरु हुन थालेको छ । एमालेले दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा युवा नेतालाई पहिलो प्राथमिकतामा राख्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पार्टी महासचिव ईश्वर पोखरेलले ओलीपछिको एमालेबाट सरकारमा नेतृत्व गर्ने बताइएको छ । त्यस्तै पार्टी सचिव प्रदिप ज्ञवालीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने बताइएको हो ।
त्यस्तै एमालेले पूर्वउद्योगमन्त्री समेत भएका महेश बस्नेतलाई ओलीले उद्योगमन्त्री नै बनाउने तयारी थालेको स्रोतले बताएको छ । यता पार्टी सचिव योगेश भट्टराईलाई सूचना तथा सञ्चारमन्त्री बनाउने भएको छ ।
यता माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनेपनि माओवादीले तत्कालै सरकारमा मन्त्री नपठाउने भएको छ । गत असोजदेखि पार्टी एकताको प्रक्रियामा रहेका एमाले र माओवादीले अहिलेसम्म सत्ता सञ्चालनको भागवण्डामा कुनै सहमति जुटाउन सकेका छैनन् ।
एमालेले कुन मन्त्रालय सम्हाल्ने र माओवादीले कुन मन्त्रालय पाउने भन्नेबारे अहिलेसम्म गृहकार्य नभएको कारण माओवादीले सरकारमा तत्काल सामेल नहुने बताएको हो ।
पार्टी एकतालाई एउटा निश्कर्षमा पुर्याउन एमाले–माओवादी केन्द्रबीच आज निर्णायक वार्ता समेत बस्दैछ ।
Leave a Reply