
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष, सांगठनिक स्वरूप, सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपतिका उम्मेदवारका विषयमा ‘वन अन वन’ छलफल गरिरहेका छन् ।
दुई नेताबीच सीमित छलफलका प्रगति अहिलेसम्म बाहिर आउन नसके पनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनदेखि आकांक्षी अन्य नेताहरूले विभिन्न तरिकाले आफ्नो उम्मेदवारी र औचित्य प्रकट गर्न थालेका छन् ।
वाम गठबन्धनबाटै राष्ट्रपति–उपराष्ट्रपति निर्वाचित हुने बढी सम्भावना देखिएकाले कांग्रेस र मधेसकेन्द्रित दलभित्र भने अहिलेसम्म आकांक्षी देखिएका छैनन् । आयोगले २१ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन मिति प्रस्ताव गरेको छ ।
यसै विषयमा माओवादी नेता अमिक शेरचन यसो भन्छन्– मलाई अघिल्लोपटक नै पार्टीभित्र र अन्य पार्टीबाट पनि राष्ट्रपति बन्न प्रस्ताव आएको थियो । तर, म उम्मेदवार बन्न चाहिनँ । किनभने ०१७ देखि राजनीति गरेको गृहजिल्ला चितवनमा ०७० को निर्वाचनमा धाँधली गरेर हराइयो । त्यसैले राष्ट्रपति हुनेबित्तिकै राजनीतिबाट वञ्चित हुनुपर्ने भएकाले केही समय राजनीतिमै सक्रिय हुने जवाफ फर्काएको थिएँ ।
तर, यसपटक वाम गठबन्धनको प्रस्ताव आउँदा अस्वीकार गर्दिनँ । पार्टी अध्यक्ष प्रचण्डले सुरुदेखि नै प्रस्ताव राख्दै आउनुभएको छ । तर, हामीले मात्र होइन, गठबन्धनले पनि स्वीकार गर्नुर्पयो । समय परिपक्व भएपछि सायद अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुहुन्छ होला ।

