प्रधानमन्त्रीलाई ईञ्जनियरले दिए देश बनाउने खाका, मुलुक किन बनेन ?

२०७४ फागुन ६ आइतवार
NewsDesk ShikharNews

काठमाडौं, फागुन ६ । नेपाल विकाशको हिसाबले विश्वका धेरै देशहरु भन्दा पछाडि परेको मुलुक हो । देशमा धेरै चोटी सरकार परिवर्तन भए पनि ७० वर्ष देखी स्थायी सरकार नेपािलमा बनेको छैन । यसले नेपाललाई ठुलो चुनौति दिईरहेको छ । नेपालमा पुर्वाधार विकाश राम्रो नभएका कारण पेपाल पछाडि परेको भन्ने सबैको भनाई छ ।

पञ्चायतकाल, बहुदलीय कालखण्ड तथा लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि राजधानी काठमाडौं भित्र एउटा नमूना सडक खण्ड छैन, न त देशैभर गणना गर्दा कुनै २ वटा नमूना पुल पाउन सकिन्छ, न त कुनै अत्याधुनिक राजमार्ग नै पाउन सकिन्छ । राजमार्गहरु त खाली सरफेस रोडका रुपमा मात्रै सीमित छन् । नारायणगढ मुग्लिन सडक खण्डकै कुरा गर्ने हो भने, मुलुकका हाइ–वे निर्माणको सबैभन्दा टिठ लाग्दो अनुहार यहीँ देख्न सकिन्छ ।

मुलुक किन बनेन ?
यही प्रश्नको जवाफ खोज्ने काम प्रगतिशील तथा पेसाकर्मी इन्जिनियरहरुको समूहले गरेको छ । आजसम्म मुलुकले अवलम्बन गरेको पूर्वाधार विकासको जड समस्या के हो भन्नेबारे राष्ट्रिय योजना आयोगले गर्नुपर्ने अध्ययन गरेर नेपालका इन्जिनियरहरुले प्रधानमन्त्री समक्ष आफ्नो अध्ययनको प्रतिवेदन बुझाएको छ । धेरैले विकासको मूल फुटाउने प्रधानमन्त्रीका रुपमा अपेक्षा गरेको प्रधानमन्त्री केपी ओलीलाई पेसा कर्मी इन्जिनियरहरुको टोलीले नै गएर आफ्नो अध्ययन प्रतिवेदन दिएको हो ।

झन्डै ६० पेज भन्दा लामो उक्त अध्ययन प्रतिवेदनले आजसम्म पाइपलाइनमा रहेको राष्ट्रिय गौरवका आयोजनाहरु, हाइ–वे तथा लोकमार्गको क्षेत्र, रेल–वे, सिँचाइ, खाने पानी, जलविद्युत् उत्पादनको क्षेत्र, अन्तर्रा्ष्ट्रिय विमान स्थल निर्माणको क्षेत्र, फास्ट ट्र्याक निर्माण, ठुल्ठूला पुल तथा राजधानी जस्ता मुख्य सहरहरुको सडक तथा वैज्ञानिक सहरीकरण जस्ता पक्षहरु अध्ययनमा समेटिएका छन् ।

स्केफका महासचिव समेत रहेका प्रगतिशील पेसाकर्मी इन्जिनियर समूहको उक्त अध्ययनमा मुख्य भूमिका खेलेका कृष्ण सापकोटाका अनुसार अध्ययनले मुख्य गरी १० विभिन्न केटेगोरीलाई ३ प्रमुख आधारमा उभिएर केलाएको छ । आजसम्म नेपाको पूर्वाधार विकासमा रहेका समस्याहरु के हुन् र उपाय के हुन सक्छन् भन्ने मार्ग दर्शन दिन सक्ने गरी यो अध्ययन गरिएको उक्त अध्ययनमा संलग्न सापकोटाले जानकारी दिए ।

चालू परियोजना के हुन्, यिनका समस्या के कस्ता छन्, र वाम गठबन्धनले संयुक्त घोषणा पत्रमा लिएका पूर्वाधार विकासका लक्ष्यहरु के कसरी हासिल गर्न सकिन्छ भन्ने मार्ग दर्शन गर्न सक्ने दस्ताबेजका रुपमा अध्ययन आएको छ । निर्माण सञ्चारसँग बोल्दै सापकोटाले भने, ‘अबको संयुक्त वाम गठबन्धन सरकारले देशको समृद्धिलाई कसरी हासिल गर्न सक्छ भन्ने तीव्र विकासको वर्तमान सरकारको उद्देश्यमा थप टेवा दिने गरी यो अध्ययन पूरा गरिएको छ ।’

‘विकास पूर्वाधारको दिशामा विद्यमान राजनीतिक सोच कसरी मूर्तीकरण गर्ने ?’ भन्ने आधार पत्रका रुपमा उक्त अध्ययन सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेकी विकास तथा पूर्वाधारविद् डा सुमित्रा अमात्य सहितको उक्त टोलीले सो अध्ययन दस्ताबेज एमाले मुख्यालयमा प्रधानमन्त्री ओलीलाई बुझाए लगत्तै अबका सरकारका कार्यभार तथा विकासका प्राथमिकता तयार गर्न बनेको उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वको समितिलाई समेत बुझाएको छ । अध्ययनमा ६० जना भन्दा बढी इन्जिनियर सहभागी थिए, जुन अध्ययनमा संलग्न इन्जिनियरहरुको अध्ययन थिम तथा नाम समेत तल दिइएको छ ।