बग्गीमा चढेर राष्ट्रपति भण्डारीको सम्बोधन सुरु

२०७४ चैत १५ बिहीवार
Newsdesk Shikharnews

काठमाडाै, १५ चैत । राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीको सम्बोधन सुरु भएको छ । संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीको यो पहिलो सम्वोधन हो ।

शीतल निवासबाट गाडीमा सवार राष्ट्रपति भण्डारी शान्तिनगर गेटमा पुगेपछि बग्गीमा चढेर संसद भवन पुगेकी हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । २९ फागुनमा भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज सम्बोधनको समय तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा हलमा संयुक्त बैठक
संघीय संसद्को दुवै सदनको संयुक्त बैठक प्रतिनिधिसभा हलमा बसेको छ। प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ सांसद प्रतिनिधिसभाको हलमा अट्ने भएकाले सो हलमा संयुक्त बैठक राखिएको हो । संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका छन् ।

संघीय संसद् सञ्चालनको अन्तरिम कार्यविधि तथा अन्तर्राष्ट्रिय प्रचलन नै तल्लो सदनको सभामुखले संयुक्त बैठकको अध्यक्षता गर्ने रहेको सचिवालयका सहसचिव सुरजकुमार दुराले बताए । उनले भने, ‘संयुक्त बैठकमा राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको सभामुख दुवै हुने भए पनि अन्तर्राष्ट्रिय प्रचलन तल्लो सदनको सभामुखले अध्यक्षता गर्नेछ । हाम्रोमा पनि त्यही अभ्यास हुँदै छ ।’