दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ

विप्लवको नाम जोडिँदा अच्चम लागेको छ : विजय

२०७५ वैशाख ५ बुधवार
NewsDesk ShikharNews

काठमाडौं । २०५५ असार १० गते उज्जन कुमार श्रेष्ठ (भुवन)को हत्या भएको थियो । श्रेष्ठको हत्या अभियोगमा माओवादी नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल हाल जेल सजायँ भोगिरहेका छन् । उज्जनको हत्या भएको एक वर्षपछि उनका दाजु गणेश कुमार श्रेष्ठको पनि माओवादीले हत्या गरेका थिए ।

द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीबाट हत्या गरिएका आफ्ना दाजुभाइको सम्झनामा दिदी सावित्री श्रेष्ठले शालिक निर्माण गरेकी छन् । रामेछापको सैपुफेदीस्थित उज्जन र गणेशको हत्या गरिएको स्थान नजिकै उक्त शालिक निर्माण गरिएको हो ।

गत चैत २० गते शालिकको अनावरण सावित्री श्रेष्ठले गरेकी थिइन् । सावित्री श्रेष्ठ गणेश–उज्जन (भुवन) प्रतिष्ठानकी अध्यक्ष समेत हुन् । शालिक अनावरणसँगै दाजुभाईको सम्झनामा सैपुफेदीस्थित अरुणोदय माविका लागि १२ कोठे भवन बनाइदिएर हस्तान्तरण पनि गरिसकेकी छन् ।

गणेश–उज्जन (भुवन) स्मृति प्रतिष्ठानका नाममा निर्मित भवन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद पौडेललाई हस्तान्तरण गरिसकेको श्रेष्ठले बताइन् ।

द्वन्द्वकालमा आफ्ना परिवार गुमाए पनि उनीहरुको सम्झनामा गाउँका बालबालिकाले पक्की भवनमा पढ्न पाऊन् भनी विद्यालयलाई सहयोग गरेको श्रेष्ठले बताइन् ।

तर, यतिबेला उक्त शालिक सग्लो छैन । शालिकको कान र नाकमा चोट भत्काइएको छ । केही दिनअघि मात्र उक्त शालिक तोडफोड गरिएको हो । पत्रपत्रिका र अनलाइनहरुमा शालिक तोडफोडको समाचारको ‘हेडलाइन’ विप्लव कार्यकर्ताहरुद्वारा गणेश–उज्जनको शालिक तोडफोड भनेर भाइरल बन्यो ।

तर, प्रकाशित समाचारहरुको ‘हेडलाइन’ गलत भएको भन्दै श्रेष्ठले आपत्ति समेत जनाएकी छन् । श्रेष्ठले भनिन्, ‘मध्यरातमा चोरशैलीमा शालिक तोडफोड गरेर विप्लव माओवादीको नाम जोडियो ।’

श्रेष्ठले आपत्ति जनाउनुको कारण के हो ? किन आपत्ति जनाइन् ? यस्तै विषयमा श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अशंः–

तपाईंहरुले आपत्ति जनाउनुको कारण ?

दाजुभाईलाई गुमाए पनि उनीहरुको सम्झनामा शालिक निर्माण गरी सम्मान गर्न पाउँदा खुसी भएका थियौं सबै परिवार । अनावरण गरेको केही दिनमै तोडफोड गरेर विप्लपको नाम जोड्नु झनै पीडा छ । वास्तवमा यो काम ढुंगेलका कार्यकर्ताहरुको हो ।

ढुंगेलका कार्यकर्ताले नै भनेर कसरी भन्न सक्नुहुन्छ ?

मैले लगायत परिवारका सदस्यहरुले जिल्लाका विप्लवको केही नेताहरुसँग फोनमा वा भेटमा कुराकानी गरिरहेको छौं । ‘हामीले त्यस्तो काम गर्ने हो भने सबैलाई सूचना दिएर नै गर्छौं यो हाम्रो पार्टीले गरेको होइन्,’ विप्लव कार्यकर्ताहरुले हामीसँग भनेका छन् ।

मेरो दाई गणेशका छोराले समेत एउटा लामो स्ट्याटस लेख्दै विप्लवको कार्यकर्ताहरुको नाम जोडिनु आश्चर्यजनक भएको भन्दै यसको सत्थतथ्य छानबिन गर्न माग गरेका छन् ।

त्यसो भए विप्लवको नभएर ढुंगेलका कार्यकर्ताहरुको नै हो ?

एकदम हो । यसमा विप्लव माओवादीको कुनै हात छैन । हामीले जिल्लाका सबै पार्टीका नेता÷कार्यकर्ताहरुसँग बुझिरहेको छौं ।

शालिक निर्माण गरेको जग्गा स्कुलको हो भन्छन् नि ?

जग्गा स्कुलको होइन् । स्कुल नजिकै हाम्रो ढेड रोपनी जग्गा पनि थियो । स्कुल बनाउँदै गर्दा केही जग्गा थप नपुगेपछि पछि हामीलाई स्कुलले स्कुल नजिकको जग्गा उपलब्ध गराउन बारम्बार चिठ्ठी पठायो । स्कुलको चिठ्ठीपछि हामीले त्यो जग्गा स्कुललाई नै सहयोग गर्यौं ।

स्कुलले पटक–पटक हामीसँग सहयोगको माग गरेपछि हामीले जग्गासहित स्कुललाई १२ कोठे पक्की भवन सहयोग गरेका हौं । पछि स्कुल नजिकको जग्गा स्कुललाई भोगचलन गर्न दिएपछि स्कुल व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक÷शिक्षिका, राजनीतिक पार्टीका नेता/कार्यकर्ताहरुसँग छलफल गरेर स्कुलको रोहबरमा नजिकै रहने गरी शालिक निर्माण गर्ने सहमति पनि भएको हो । हामीले सहमति अनुसार नै स्कुल नजिक मात्र बनाएका हौं ।

स्कुल नजिक किन बनाउनुभएको ?

सबैसँग सल्लाह गरेर त्यहाँ बनाएका हौं । स्कुल विगतदेखि नै एउटा छाप्रोमा अवस्थित थियो । सबैसँग सल्लाह गरेर स्कुलको भवन प्रतिष्ठानले बनाइदिने सहमतिसँगै शालिक पनि स्कुल नजिकै बनाउने निर्णय भएको हो ।

निर्णय गर्दा कसैले विमति जनाउनुभएन ?

कसैले विमति जनाएनन । उल्टै त्यो बेला स्कुल व्यवस्थापन समितिका अध्यक्ष नै माओवादीका हुनुहुन्थ्यो । उहाँले पनि हुन्छ भनेर नै सहमति गर्नुभएको हो ।

अनि त्यसपछि काम कसरी अगाडि बढ्यो ?

गाउँमा त्यो सहमति भएपछि मैले सिडिओ कार्यालयबाट अनुमति मागें । सिडिओ कार्यालयबाट पनि गाउँका स्थानीय नेताहरुसँग सहमति भएको हो भने बनाउनुस् भनेर अनुमति दियो । अनि स्कुलको कामसँगै शालिक निर्माणको काम पनि सुरु भएको हो ।

यो कति सालतिरको कुरा हो ?

मलाई लाग्छ ०७२ सालको हो । भूकम्पपछि ।

तपाईंले सिडिओ कार्यालयबाट लिएको पत्र छ ?

छ । कसैले प्रमाण खोज्यो भने देखाउन सक्छु ।

शालिक तोडफोड गर्नेहरु पत्ता लागेका छैनन् । के गर्दै हुनुहुन्छ ?

मैले घटनाबारे सबैतिर जानकारी गराइसकेको छु । सर्वप्रथम यो घटनाको जिम्मेवार सरकार हुनुपर्छ । किनकि सरकारले गणेश र उज्जनलाई शहिद घोषणा गरिसकेको छ । शहिद घोषणा गरिसकेको मान्छेको शालिक निर्माण सरकारले आफैँले गर्नपर्ने हो ।

पछिल्लो समय सरकार त यो कुरामा मौन छ ?

माओवादीकै सरकार छ । मैले भनिसकें । सरकारले निर्माण गर्नुपर्ने शालिक हामीले आफ्नो खर्चमा निर्माण गर्दा पनि सुरक्षा दिन सक्दैन र यो घटनामा सरकार मौन बस्छ भने अब त झन हाम्रो के नै लाग्छ र ।

शालिक निर्माण गर्दा त्यस्तो कुनै अप्ठ्यारो भयो ?

सहमतिमा निर्माण गर्ने भनेपछि खासै कुनै समस्या आएन । तब निर्माण गरेर अनावरण गरिसकेपछि तोडफोड गर्नु चाहिँ कदापि राम्रो होइन् । बरु पहिला नै यहाँ नबनाउ भनेको भए राम्रो हुन्थ्यो । हामी पनि बनाउने थिएनौं ।

‘यो खुसी एकछिन पनि टिकेन’ : विजय

यता शहीद गणेशका छोरा विजय श्रेष्ठले पनि मध्यरातमा शालिक तोडफोड गर्ने अचम्म अनि विप्लवको नाम जोड्ने भनेर आपत्ति जनाएका छन् । विजयले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका हुन् ।

‘हामीले बुबालाई गुमाएपनि बुबाको सम्झनामा शालिक निर्माण गरी बुबाप्रति सम्मान गर्न पाउँदा एकदम खुसी भएका थियौं सबै परिवार ।’ विजयले लेखेका छन्, ‘तर, त्यो खुसी केही दिन पनि टिक्न नपाउँदा एकदम दुःख लागेको छ ।’

उनले भनेका छन्, ‘माओवादी लगायत सबै दललाई निमन्त्रणा गरेर शालिक अनावरण भएको थियो । तर सुनियो माओवादीले शालिक तोडफोड गर्यो रे, माओवादी जस्तो ठूलो पार्टीले गरेको यो कायरतापूर्ण हर्कत सुनेर भने कठै तिनलाई धन्यवाद दिन मन लाग्यो ।’

विजयले आश्चर्य पनि लाग्यो, आखिर किन खनिन्छ ज्यान लिएर पनि यति ठूलो पार्टी हामी जस्तो दुखजिलो गरि खाने एउटा दुखी परिवारमाथि ? प्रश्न गरेका छन् ।

हेरौं उनको फेसबुक स्ट्याटस जस्ताको तस्तैः–

चोरशैलीमा मध्यरातमा शालिक तोडफोड तर अचम्म विप्लवको नाम !!!!!!!!!!! हामीले बुबालाई गुमाएपनि बुबाको सम्झनामा शालिक निर्माण गरि बुबाप्रति सम्मान गर्न पाउँदा खुसी भएका थियौं सबै परिवार । माओवादीलगायत सबै दललाई निमन्त्रणा गरेर शालिक अनावरण भएको थियो । तर आज बिहानै सुनियो माओवादीले शालिक तोडफोड गर्यो रे, माओवादी जस्तो ठूलो पार्टीले गरेको यो कायरतापूर्ण हर्कत सुनेर भने कठै तिनलाई धन्यवाद दिन मन लाग्यो । अनि आश्चर्य पनि लाग्यो आखिर किन खनिन्छ ज्यान लिएर पनि यति ठूलो पार्टी हामी जस्तो दुखजिलो गरि खाने एउटा दुखी परिवारमाथि ????

माओवादी बारबार कुरा उठाउँछ बालकृष्ण ढुंगेललाई जेल हाल्यो, जेल कसले हाल्यो ? किन हालियो ? जेल हामीले हैन उसैको कुकर्मले गर्दा राज्यले हाल्यो राज्यसँग रिस गर्ने, हामी परिवार गुमाएका पीडितमाथि हैन । के हामीले आफ्नो गुमेको परिवारको याद गर्न नपाउने ? के हाम्रो परिवारको सम्झनामा केही सामाजिक कामहरु गर्न नपाउने ?

माओवादीको रिस एक जनासँग छ भने सबै परिवार नै सत्रु सम्झने ? सबै परिवार नै सखाप पार्नुपर्ने ? किन हाम्रो अभिभावक मारेको ? यत्रो वर्षपछि पनि किन माओवादीले हामीमाथि नै रिस गर्छ कारण न्यायको साहारा लिँदा हैन ? हाम्रो अभिभावकमाथि रिस रहेछ मारिए हामी नाबालक हुँदा बुबालाई मारियो बुबा बिनाको जीवन कस्तो हुन्छ एकपटक सम्झेर हेर ? यदि रिस गरेको भए माननीय जनार्दन शर्मालाई अथितिको निमन्त्रणा गर्ने थिएनौ होला । आज हामी आफ्नो अभिभावकलाई सम्झन चाहान्छौं उहाँको नाममा सामाजिक काम गर्छौं के त्यो पनि गर्न पाउदैनौं हामीले ?

६ बर्षको थिए बुबाको हत्या गर्दा सेतो कपडामा पशुपतिको एक कोठामा राख्दा मलाई थाहा थिएन मेरो बुबा मारिएको भन्ने । सधैँ परीवारको आखामा आँशु हुने गथ्यों हुँदाहुँदै पढ्न एक छाक खानको लागि समेत अरुको शरणमा बस्नु पर्दाको पीडा ताजा नै छ ।

त्यसैले ती पीडा भूल्न अहिले केही गर्न खोज्दैछौं मेरो बुबालाई अनाहकमा किन मारियो ? जतिबेला म ६ वर्षको अबोध नाबालक थिएँ । आज म ठूलो भएको छु र बुबाको नाममा केहि सामाजिक काम गरौं भन्दा किन रिस गर्दैछौ के हामीलाई पनि हतियार उठा भनेको हो ?

द्वन्द्वको नाममा हाम्रा अभिभावक मारिए तर एकपटक पनि कुनै राजनीतिक दलका नेता फर्किएर के छ ? कसो छ ? के खाएर कुन हालतमा बसेको छौ भनि सोध्नसम्म पनि आएनन् । आशा थियो माओवादी सरकारमा गएपछि द्वन्द्वकालमा मारिएका सबैलाई समान नजरले हेर्नेछन् । दुखी गरिबको लागि भनेको पार्टीले हामीलाई पनि हेर्नेछ तर त्यसो भएन बुबा मारे तै पनि हामीलाई अझैँ रिस किन ?
आखिर सत्ता, बल, धन पछिपछि हिँड्न कार्यकर्ता छन् भन्दैमा एउटा परिवारमाथि निरन्तर पीडा दिईरहने ? आश्चर्य लाग्यो कम्युनिष्ट भनौदा नेपालका नेताहरुको सोच विचारप्रति । जो सहिदको सम्मान गर्नुपर्नेमा हाम्रो बुबाको शालिक तोडफोड गर्दै हिँडेको छन् ।

बालकृष्णलाई लाग्दो हो मैले जितें सोध्न चाहान्छु के जितेकै छौ त ? एउटा खुसी परिवारलाई तहसनहस बनाई पीडा दिएर तिम्रो परिवार खुसी हुनु नै जित ठान्यौं ? यदि यहि नै जित ठान्छौं भनि खुसियाली मनाउ, सहिदको सालिक कति सक्छौ भत्काउ । सरकार शक्ति अनि अघिपछि लाठी हतियार बोकी हिँड्ने कार्यकर्ता सब तिम्रै छन् । जे सक्छौ गर तर यहि नै कम्युनिस्टको नीति हो यसरी नै अरुलाई दुःख दिएर आफू खुसी हुनेहरु नै कम्युनिष्ट हो भने म स्वीकार्छु ।

हैन भने सबै तिमी जस्तै काएर एउटा ढुंगाको सालिकदेखि पनि डराउने हुँदैनन् । जनता अरु नेता दलले बुझ्नेछन् बालकृष्णले जित्यो कि हार्यो भन्ने । हैन भने एउटा समय अनुसारको इस्यू थियो तिम्रो काम मान्छे मार्नु थियो मारेकै थियौ, हामीलाई टुहुरो बनाउनु थियो बनाएकै थियौ, हाम्रो पनि अभिभावकप्रति कर्तव्य हुन्छ केहि गरौं भन्ने सोच हुन्छ, त्यो पुरा गर्न तिमी एक्लो या आसेपासे हिँड्ने गुरिल्ला बालकृष्ण त के हजारौं बालकृष्ण जन्मे पनि हाम्रो सामाजिक उत्तरदायित्व पुरा गराउने कार्य रोक्न सक्दैनौं । तिम्रो कारण गुमाएको आफ्नो प्यारो अभिभावकको नाममा हामी आफ्नो उत्तरदायित्व पुरा गर्न राज्य स्थानीय नागरिकहरुसँग हातेमालो गर्दै सामाजिक कार्य गरि रहनेछौं ।