कर्मचारीको उमेर ६० वर्ष पुर्याउन लविङ




२०७५ जेठ ६ आइतवार
Newsdesk Shikharnews

शिखरन्युज संवाददाता, ६ जेठ – संघीय संरचनासँगै मन्त्रालयले तयार पारेको निजामती कर्मचारी सेवा ऐनको मस्यौदा तयार पार्दैछ । निजामती कर्मचारीको उमेरहदका विषयमा निकै बहस भैरहेको छ । अहिले निजामती सेवा ऐनमा कर्मचारीहरुको उमेर हद ५८ वर्ष राखिएको छ । निजामती सेवा ऐनमा ६० वर्ष हुनुपर्ने प्रावधान राखिएको छ ।

५८ वर्ष पुग्दा सेवाबाट अवकाश लिइरहेका कर्मचारीले ६० वर्षसम्म काम गर्न पाउनुपर्ने गरी ऐनमा प्रस्ताव गरिएको छ । यसभन्दा अघिल्लो शेरबहादुर देउवा सरकारले पनि विधेयकको विषयमा छलफल गरेको थियो ।

संघीय निजामती सेवाको विधेयक सरकारले परिवर्तनसहितको पुनरावलोकन गर्दैछ । देउवा नेतृत्वको पालामा तत्कालीन सामान्य प्रशासन मन्त्रालयले बनाएको विधेयकमा कर्मचारीहरुको अवकाश उमेरहद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो ।

विधेयक पुनरावलोकनको क्रममा ६० वर्ष उमेर हदको प्रस्तावलाई हटाएर ५८ वर्ष नै यथावत् राखिने जनाइएको छ । तर, कर्मचारीहरुले ६० वर्ष नै हुनुपर्ने जोड गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एक स्रोतका अनुसार ६० वर्ष नै उमेर हद कायम बनाउन लविङ भैरहेको छ । एक अधिकारीका अनुसार एक वर्षपछि कायम हुनेगरी निजामती कर्मचारीको उमेर हद ६० वर्ष बनाइने प्रक्रियामा छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित निजामती कर्मचारीको उमेरहद बढाउन नहुने पक्षमा छन् । मन्त्री पण्डितले मन्त्रालयका अधिकारीलाई उमेर हद ५८ वर्ष नै कायम राख्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिइसकेकाका छन् ।

सरकारी सेवामा नयाँ जनशक्ति ल्याउन उमेर हद अहिले भएको नै कायम राख्ने मन्त्री पण्डितको भनाइ छ । तैपनि आफू विज्ञहरुसँग छलफलको क्रममा रहेको बताए । ‘विज्ञहरू सँग आवश्यक छलफल थालेको छु, छलफल पछि यसको टुंगो लाग्नेछु मन्त्री पण्डितले भने ।

मन्त्री पण्डित र कर्मचारीको कुरामा विरोधाभाष देखिन्छ । मन्त्रीले ५९ वर्ष र कर्मचारीले ६० वर्षका लागि अडान राखेका छन् । अब निजामती कर्मचारीको उमेर हद कति हुन्छ भन्ने कुरा हेर्न बाँकी छ ।