कम्युनिष्टहरु एक हुँदा पनि काँग्रेस बलियो नै: देउवा

२०७५ जेठ २७ आइतवार
Newsdesk Shikharnews

डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने बताएका छन् ।

आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उहाँले उल्लेख गरे ।

कम्युनिष्टहरु एक हुँदा पनि काँग्रेस बलियो नै देखिएको सभापति देउवाले दाबी गरे । प्रत्यक्ष निर्वाचनमा संख्यात्मकरुपमा केही सिट कम आएको कुरा स्वीकार्दै सभापति देउवाले समानुपातिकका मतले पार्टीलाई जनताले विश्वास दिएका छन् भने ।

काँग्रेस विभिन्न कालखण्डका आन्दोलनमा अग्रमोर्चामा उभिएको र निर्णायक बेलामा नेतृत्व लिने पार्टी भएकाले पार्टीभित्रका आन्तरिक कुरालाई मिलाएर पहिलो पार्टी स्थापना गरी छाड्ने उनले प्रतिबद्धता जनाए ।