आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा

२०७५ असार ७ बिहीवार
NewsDesk Shikharnews

दाङ, ७ असार । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले ल्याएको बजेटले संघीय संरचनालाई मजबुत बनाउने आधार दिएको बताएका छन् । सभामुख महराले नेपाल पत्रकार महासंघ दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो धारणा राखेका हुन् ।

“सरसर्ती हेर्दा आफ्नो जिल्लामा बजेट नदेखिन सक्छ”, सभामुख महराले भने, “सिधै स्थानीय तहमा बजेट आएको छ । त्यसपछि संघमा बजेट आएको छ र ठूला खालका योजनाका लागि केन्द्रीय बजेटले हेरेको छ ।” सभामुख महराले बजेट तत्काल देखिने भन्दा पनि दीर्घकालीन असर देखिने खालको भएको बताए । ठूला योजनाहरुमा केन्द्र सरकारले, मझौला योजनाहरुमा प्रदेश सरकारले र जनताका दैनिक जीवनसँग जोडिएका साना योजनाहरुमा स्थानीय सरकारले बजेट विनियोजन गर्ने जानकारी सभामुख महराले दिए ।

सभामुख महराले दाङको टरिगाउँ विमानस्थललाई नियमित सञ्चालन गर्न डिपो स्थापना गर्नेतर्फ पहल भइरहेको जानकारी दिँदै दाङमा बन्ने अर्को विमानस्थल टरिगाउँको विकल्पमा नभएर यो प्रदेशकै र देशकै वैकल्पिक विमानस्थल भएको स्पष्ट पारे । उनले भने, “नयाँ बनाउने भनिएको विमानस्थल टरिगाउँ विमानस्थलको विकल्प भन्ने बुझिएको छ । त्यसो होइन ।” सभामुख महराले स्थानीय तहलाई भौतिक पूर्वाधारमात्र होइन जनताको जीवनस्तर उकास्नेतर्फ पनि ध्यान दिन आफूले ध्यानाकर्षण गराएको बताए ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सभामुख महरा आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लाका सबै जनप्रतिनिधिहरुसँग जनताका गुनासो, समस्या र योजनाहरुको विषयमा बुझ्न जिल्ला आएका हुन् । दाङ– ३ का सांसद हिराचन्द्र केसी, दाङ– १ का सांसद मेटमणि चौधरी, एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीसहित दाङ आएका सभामुख महराले जिल्लाका १ सय वडाअध्यक्षमध्ये १÷२ जनाबाहेक सबैलाई भेटेका छन् । उनले यसअघि पनि दाङका ३ प्रतिनिधिसभा सदस्य, ६ जना प्रदेशसभा सदस्य र १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षहरुलाई एकै ठाउँमा जम्मा गराएर जिल्लाको बृहत्तर विकासका लागि विज्ञहरुसहितको छलफल गराएका थिए । दाङ– २ “क”बाट विजयी नेता शंकर पोख्रेल ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा उक्त कार्यक्रममा सहभागी थिए ।

सभामुख सर्वोदय पुस्तकालयको आजीवन सदस्य
यसैबीच सभामुख कृष्णबहादुर महराले सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीको आजीवन सदस्यता लिएका छन् । उनले बिहीवार घोराहीमा आयोजित कार्यक्रममा आजीवन सदस्यता लिएका हुन् ।

पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमले सदस्यतापत्र प्रदान गरेका थिए । सो अवसरमा सभामुख महराले राप्तीकै जेठो पुस्तकालय सर्वोदयको सदस्यता लिएसँगै आफ्नो दायित्व पनि अझ बढेको र यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही अवसरमा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी र दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले पनि सर्वोदय पुस्तकालयको आजीवन सदस्यता लिएका थिए । दुबैजनाले नि पुस्तकालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सर्वोदय पुस्तकालयले आजीवन सदस्यता खुला गरेको छ । १ हजार ५ सय शुल्क तिरेर आजीवन सदस्यता लिन सकिने ब्यवस्था गरिएको पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष गौतमले जानकारी दिए ।