प्रधानमन्त्री ओली ल्हासा पुगे, यस्तो छ आजको कार्यक्रम

२०७५ असार ९ शनिवार
Newsdesk Shikharnews

काठमाडौं, ९ असार- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा पुगेका छन् । प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बतका सरकार प्रमुख छी चालासँग ल्हासा पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया समेत गरेका छन् ।

आज ल्हासामा धार्मिक लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । अहिले बिहान प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थल प्रसिद्ध मन्दिर पोतला दरबार र पवित्र मन्दिर जोखाङ जाने कार्यक्रम छ ।

तिब्बतको जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्ती छ । तिब्बतको जोखाङ भनेको बुद्धको घर भन्ने बुझिन्छ, त्यो मन्दिरको नेपालकी भृकुटीसँग साइनो जोडिएको छ ।

त्यसैगरी छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ । चीनकै एक नमुना कृषि परियोजनाको रुपमा रहेको छुसुई अग्रिकल्चर गरिबी कम गर्न गरिएको परियोजना हो ।

त्यसैगरी आज शनिबार साँझ रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । नेपाल वाणिज्य दूतावासको आयोजनामा हुने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । ६ दिने भ्रमण सकेर आइतबार नेपाल फर्कने कार्यक्रम छ ।