नेपाल ट्रस्टले सार्वजनिक जग्गा ओगट्नेलाई प्रहरी लगाएर हटाउने




२०७५ असार १४ बिहीवार
Newsdesk Shikharnews

शिखरन्युज १४ असार, राजा वीरेन्द्रको सम्पत्ति नेपाल ट्रस्टको नाममा आइसकेको सार्वजनिक सम्पत्ति हड्प्नेलाई प्रहरी लगाएर हटाइने भएको छ । नेपाल ट्रस्टको कार्यालयले सार्वजनिक घर, जग्गा व्यक्तिले हड्पेर नछाडेको भन्दै प्रहरी लगाएर हटाउने अभियान थालेको छ ।

काठमाडौंको छाउनीमा रहेको २ रोपनी १३ आना जग्गा व्यक्तिले हड्पेको घर खाली गर्न नमानेपछि ट्रस्टले ताला लगाएको हो। स्थानीय जुनी थापाले ट्रस्ट स्वामित्वको करिब साढे २ रोपनी जग्गामा रहेको घर हड्पेर बसेकी थिइन् । उनले घर खाली गर्ने आग्रह नमानेपछि हटाउन कानुनी प्रक्रिया थालिएको ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले बताए ।

ट्रस्टको कार्यालयले २०७२ सालदेखि पटकपटक घरजग्गा खाली गर्न आग्रहसहितको सार्वजनिक सूचना जारी गरेको थियो । ट्रस्टको सार्वजनिक सूचना र पत्रलाई बेवास्ता गर्दै थापाले अटेर गरेपछि मंगलबार ताला लगाइएको हो । ‘उनलाई ३ वर्षदेखि पटकपटक घरजग्गा खाली गर्न पत्र पठाइएको थियो । तर, उनले खाली गर्न नमानेपछि कानुनअनुसार अघि बढिएको हो,’ सचिव सिंहले भने।

उनलाई पछिल्लोपटक गत वैशाख ६ मा सात दिनभित्र जग्गा खाली गर्न आग्रहसहितको पत्र पठाइएको थियो । पत्र पठाएर जानकारी गराउँदै हैरान भएको ट्रस्टले पहिलोपटक घरमा पुगेर ताला लगाएको हो । ट्रस्टले घरजग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरीलाई समेत जानकारी गराएको थियो । प्रहरी प्रशासनले समेत ध्यान नदिँदा सार्वजनिक जग्गामा व्यक्तिले फाइदा उठाउँदै आएका छन्।

काठमाडौंमा राजाको पालामा बक्सिसमा जग्गा पाएको भन्दै व्यक्तिले अन्य ठाउँमा समेत सार्वजनिक जग्गा हड्पेर बसेका छन् । अब घरजग्गा खाली नगर्ने अटेरीलाई ट्रस्ट आफैं पुगेर खाली गराउने काम सुरु गरेको छ ।

ट्रस्टका कार्यकारी सचिव सिंहका अनुसार ट्रस्टका नाममा रहेका जग्गा व्यक्तिव्यक्तिको हातमा रहेकाले सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानमा लागेको बताए । ‘घरजग्गा खाली गर्न पटकपटक जानकारी गराउँदा समेत अटेर गरेकाले अब कानुनबमोजिम कार्बाही अघि बढाउनेछौं,’ सचिव सिंहले भने ।