दहीचिउरा खाने कि दहीचिउरे हुने !




२०७५ असार १५ शुक्रवार
NewsDesk Shikharnews

नरेन्द्रजंग पिटर

असारको मास् त्यो दवदेवे हिलो …खेताँ कतै देख्दिन …

न त लाठे.. बाउसे, न त बेठीबाजा गिदांगें नै देख्दिन,
न साउने हलो, न त खेल्ने हिलो… रोपारे नै देख्दिछु

के पो भयो गाउँमा ? भनौँ कस्को नाममा ? लाठेबाउसे देख्दिछु ।

यो मनको बह, कसैलाई न कह ….
कसैलाई न कह …..आत्मा हेर ! बरर …

कि दहीच्यूरा खाने ! कि दहीचिउरे बन्ने…. भन्देऊ, के छ विचार ?

आज असार पन्ध्र । मानो रोपेर… मुरी फलाउने दिन । अब त सुकिलामुकिलाले दबदबे हिलो छुने कुरै छैन । बिर्सी पनि सके । तर यो कृषि अर्थतन्त्रमा आधारित हाम्रा जीवनसंस्कृति कृषिपर्व भने कतिलाई रमिता र तमासा बन्दो छ । अधिकांश लाठेलाठी परदेसिए । बाउ खेताला नपाएर गाउँमा हुक्क छ । छोरो विदेशमा काम नपाएर हैरान ।

बचेखुचेका तन्नेरीहरु सामाजिक सञ्जालमा दहीचिउरे बनेर असरल्ल छन् । सत्ता कृषि सन्देश दिने भन्दा पनि रमिता लगाउन धान दिवस भन्छ । मेरा मित्र पूर्व कृषिमन्त्री हरि पराजुलीलाई असार १५ मा लागेको राजनीतिक–हिलो ज्यादै महंगो भयो । अर्का मित्र हरिबोल गजुरेलले गमलामन्त्रीको पदवी उठाउनै हम्मेहम्मेमा छन् ।

आफ्ना औचित्य सावित गर्ने सबैसँग तर्क हुन्छन् । त्यस्तै तर्क कोरलिन्छन पनि । सामाजिक संस्कृतिमा फेरबदलसँगै आधुनिक चाकरहरूका नयाँ रूप र चाकरीचरित्र पनि फेरिए । उनीहरु भीडलाई भाइरस छरेर उत्तेजित पार्छन् । सामन्तका रूप पनि फेरिए । अबका जिम्मावाल बाजेहरु बेठी लगाउने खेताँ आलीमा बसेर खेताला नियाली मात्र रहँदैन् । उनका अरनीका अर्थ समेत फेरिए । श्रमजिवी खेतालाको ठाउँ आधुनिक हुक्के, छाते, द्वारे, हुड्केहरूले लिइसके । नयाँ नयाँ जिम्मावाल बाजेका नालीबेलीका बहीखाता पनि फेरिए ।

खण्डबृष्टि छ । असारे झरीे छैन । इतिहास बिर्सन पाउँदैनस् भनेर भूकम्पले हिजै तर्साइसक्यो । सामाजिक सञ्जाल या त आफूलाई  ‘सभ्य’ र ‘आधुनिक’ तन्नेरी कहलिन फुटबलमा केन्द्रित छन् या प्रेस काउन्सिल भर्सेस रवि लामिछाने । यो समय अहंकारलाई चपरीमुनिको बास बनाएर जीवनको रोपाइँ गर्ने बेला हो । तर, त्यसको छाँटकाँट भने देखिदैन ।

खेतका गरा नभएर हिलो छ्याप्ने र भद्दा–ठट्टाको कुरुप थलो पार्टी र संसद बने । राजनीतिक दलहरुलाई जे छैन त्यसको नाटक गर्नुपर्ने, जे छ त्यो लुकाउनुपर्ने अवस्थामा छन् । असारे दबदबे हिलोमा त जीवनको बासना हुन्छ । राजनीतिज्ञका अनुहारमा लाग्ने हिलो नालीको हुन्छ । संसदीय राजनीतिमा नेताका कथन, प्रतिवद्धता र घोषणाहरु अहिले रसिक ठट्टा मात्र बने । नियत नाप्ने तराजु परिणाम हो । तर ती सुन्दा रसिक र कर्णप्रिय तर पत्याउँदा पोटासियम साइनाड जस्ता । हिजोका आदर्श नायक/नायिकाका अनुहार चिन्नै नसक्ने.. अझ सिद्धान्तका नाममा । समाजवाद उन्मुख सरकारको बजेट हे¥यो भने “हामी गर्छौ आग्राका कुरा, उनी गर्छन् गाग्राका कुरा” भइदियो । प्रधानमन्त्रीज्यूको घोषणा कार्यान्वयन कुर्नै पर्दैन । पानी जहाज राजधानीका सडकमा चलाउने अवस्था छ । हरिसिद्धिमा नारायणकाजी श्रेष्ठ (नेता नेकपा), बुढानीलकण्ठमा ईश्वर पोखरेल (रक्षामन्त्री), झोरमा रामबहादुर थापा (गृहमन्त्री), सिपाडोलमा बिष्णु पौडेल (महासचिव, नेकपा) सडकमै रोपाई गर्न छोड्दै किन त्यहाँ जानु प¥या हो ! अहिले सपना र विश्वासमाथि लागेको हिलो असार १५ को नेताहरुका त्यस्ता रमिता र तमासाले धुन सक्ला र !

कार्य, कारण र परिणामको वास्तविक बहसबाट समाजलाई विषयान्तर गरिँदै गइयो । उदासीन समाजका नौटंकीबाजहरूका यस्ता असार १५ गते धान दिवस नियालौ त ….। अहिले बहसहीन बहस उछालिएर सस्तो मनोरञ्जन दिइरहिएको छ । साच्चै असारे हिलो कसले, कसलाई, कति छ्याप्न सक्छ ! कसले कसको धुने ? पखाल्ने ? अहिले जर्मन कवि हान्स माग्नुस एन्जेसर्वगर यदि नेपालमा हुन्थे भने असारे गाउँदै भन्ने थिए–
“प्रिय माक्र्स !
तिमीलाई तिम्रै शिष्यहरुले पो धोका दिए,
वैरीहरु त
हिजो जस्ता थिए, आज पनि उस्तै छन्’
इतिहासले नै हामीसँग कुरुप ठट्टा त गर्दै छैन !”

बहस त हुनु पर्ने थियो– सरकारी गोपनीयता कानुनको । यदि सञ्चार साधनलाई नियन्त्रण गरियो भने मान्छेको सोच्ने तरिका पनि नियन्त्रण गर्न सकिन्छ भन्ने चित्र फेरिए पनि चरित्र फेर्न नसक्ने सत्ता सोच छ । प्रश्न सोध्न पाउने अधिकारको रक्षा आजको महत्वपूर्ण विषय हो । शक्ति कहिल्यै पनि प्रश्न चाहँदैन । उसलाई भजनमण्डली वा भीडमात्र प्रिय हुन्छ । जहाँ र जहिले पनि भीडले विवेकसम्मत धारणा बनाउनै दिँदैन, सक्दैन ।

म लेखक, मिडियाकर्मी, टिप्पणीकार, विकासे र समकालीन इतिहास लेखन अहिले नियाल्दै छु । अक्षरका मसी सुकेका छैनन् तर एमाले र माओवादी केन्द्र बिघटन भएर नेकपा (नेकपा) गठनसँगै धेरैजसो मिडिया र सामाजिक सञ्जालका शौन्दर्यशास्त्र नै फेरिए । शब्दका अर्थ मात्रै हैन नायक/खलनायक र गालीशास्त्र समेत फेरियो । चेतमै हस्तक्षेप ग¥यो । ब्यबस्थाले उनीहरुको क्रान्तिकारी चेत र सप नै पचाइदियो । असारे दबदबे हिलोको बासना र नालीको गन्ध छुट्याउने चेत नै कच्चा दिमागमा सुविधाका चास्नीले पचाइदियो । यो ब्याक रुम मेनेजमेन्टको करामत थियो ।
जनता विश्वास गर्न चाहन्थे– पार्टीलाई विचारको सामूहिक वाहक, नेताहरुलाई सोच, सपना र योजनाको पहलकर्ता, मिडियालाई राज्यको साँच्चैको चौथो अङ्ग, नागरिक अभियन्ता निर्धाका आतंकरहित नैतिक संरक्षक देख्न चाहन्थे । भजनकारलाई कविको रुपमा देख्न चाहन्थे । समकालीन साहित्यकार, इतिहासकारका सक्रियतामा स्मृतिलाई निरन्तर सम्झाउँदै आशा र विश्वासका मशाल जलाउने ..सोच्न चाहन्थे । तर जिम्मेवारहरुका अजिम्मेवारी र उदासीन भूमिकाले भने आदर्श र आचरणमा सोही स्तरको विश्वसनीय पाइरहेका भने छैनन् ।

मौनता विकल्प हुँदै हैन । विचारबाट आतंकितहरुले तर्कशील चिन्तन विरुद्ध आफूसँग भएका हतियार उठाइसके । सपना दबदबे असारे हिलोमा रोपिने ब्याडबाट गरामा रोपारेले रोप्ने बीउ हो । बीउ बुढो हुँदैन । बाटोले बाटो खोज्छ, बीउले उम्रिने, झाँगिने र फल्ने फुल्ने धरती खोज्छ । धरातल खोज्नेले बाटो नियाल्नु पर्छ, पहिल्याउनै पर्छ । बाटोमा उत्रिएपछि बाटो छैन भने पनि बाटो खोज्छ, पाउँछ ।

सत्ता र शक्तिले बौलाएकाहरुले पनि कसरी हिलोमा माना छरेर मुरी उब्जाउन असारे दबदबे हिलोमा रहेको जीवन नियाल्नु पर्छ या पाकिस्तानी सायर हबीव जालिवको भनाई सम्झनु पर्छ–
तुम से पहले वो शक्स यहाँ तख्तनशीं था
उसको भी अपने खुदा होने पे इतना ही यकीं था ।