मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्




२०७५ असार १७ आइतवार
Newsdesk Shikharnews

डा. अरुणा उप्रेति

– “बिहान के खाएर निस्कनुभयो” भनेर सोधिंदा प्रायः मेरो उत्तर हुन्छ, “बेलुका बाँकी रहेको भात, रोटी, तरकारी, खिचडी वा चनाको सातु।” यो सुनेर धेरैजसोले मुख बिगार्छन्।

कतिले मुखै फोरेर भन्छन्, “बासी खाना पनि खाएर हिंड्ने होरु” तर, बजारको बिस्कुट, चाउचाउ, जेरी, स्वारी ताजा हुने अनि बेलुकाको खाना बिहान तताएर खाँदा बासी हुने कुरा म मान्दिनँ। जापानमा काम गरेका एक जना नेपालीले मलाई सुनाएका थिए, “हामी बजारमा एक दिन बासी फलफूल किन्थ्यौं। एक दिन बासी हुँदा फलफूल अखाद्य हुँदैन, तर जापानीहरू ताजै खोज्छन्। त्यसैले, यस्ता फलफूल सस्तोमा बेचिन्छ। यसरी सस्तो फलफूल र खाना किनेर मैले वर्षमा करीब रु।२ लाख बचत गरें।”

हामी १० जना पाहुना छन् भने १५ जनालाई पुग्ने परिकार पकाउँछौं, अरू पनि आइहाल्छन् कि भनेर। तर, बाँकी पाँच जनालाई पकाएको खाना खेर नै जान्छ। १० जना पाहुना बोलाउँदा ७–८ जनालाई पुग्ने खाना पकाउने हो भने धन, समय, ग्याँस सबैको खर्च जोगिन्छ।

आजकल भोजभतेरमा पहिला नै पेयका साथ विभिन्न किसिमका ‘स्न्याक्स’ दिइने हुनाले सबैको पेट भरिसकेको हुन्छ। अनि खाना खाँदा धेरै लिएर आधा फालिन्छ, मानौं धेरै खाना फाल्नु भनेको बडप्पनको प्रतीक हो।

हामीलाई यसरी खाना फ्याँक्दा ‘अरूले के भन्लान्’ भन्ने चिन्ता पनि हुँदैन। हाम्रा बालबालिका हुन् वा युवा–युवती, उनीहरू बिल्कुलै बेपर्वाहका साथ खाना फालिरहेका हुन्छन्। उनीहरूलाई खाना बनाउँदा लागेको श्रम र पैसाबारे सिकाइएकै हुँदैन।

उनीहरूलाई नेपालमा आफू जस्ता धेरै बालबालिका र युवा भोको पेट बस्न बाध्य छन् भनेर बताइएको छैन। मेरी हजूरआमाले मलाई ‘अन्न भनेको भगवान हुन्, यिनको अपमान गर्नुहुँदैन’ भनेर सिकाउनुभयो। त्यो सिकाइले मलाई अन्नप्रति आजीवन संवेदनशील बनायो।

डा. अरुणा उप्रेतिको फेसबुकबाट