प्रकाश दाहालः जो कहिल्यै बाँच्न पाएनन्…




२०७५ असार १७ आइतवार
NewsDesk Shikharnews

गोकर्ण भट्ट

‘जिन्दगीका सफर है ये कैसा सफर,
कोई समझा नहीं कोही जाना नहीं…’

यी पंक्तिहरु सन् १९७० मा बनेको भारतीय चलचित्र ‘सफर’ हुन । र, यी पंक्तिहरु जस्तै जीवनको नियती भोग्नेहरु हामी वरिपरि भेटिन्छन् ।

जीवनको बाटोमा अघि बढ्दै गर्दा कतिपय पात्रहरु अविस्मरणीय बन्छन्, उनीहरुको जीवन फरक हुन्छ, अरु भन्दा फरक । र, धेरैको हकमा मृत्युले मात्रै उनीहरुको वास्तविक चरित्र, पीडा, हास्य र जीवनको चित्रण गर्दछ ।

टाढा नजाऔं, नेपाली राजनीति, नेपाली मिडिया, नेपाली क्रान्ति र नेपाली समाजमा बाँच्दासम्म कहिल्यै बाँच्न नपाएका र मरेपछि सबैलाई चाहिएका प्रकाश दाहालको जीवन नै यो बुझ्न काफी छ ।

प्रकाश दाहाल, जो बाँच्दासम्म कहिल्यै बाँच्न पाएनन, तनाव, तनाव र तनाव । एउटा विशिष्ट परिवारमा जन्म हुनुको सुख उनले कहिल्यै लिन पाएनन् । बरु यसले नै उनलाई सधैं खेदिरह्यो, खेदिरह्यो ।

‘मेरो छोरालाई समेत खेद्न छोड्दैनन होला है’ मृत्युको दुई साताअघि चितवनको पटियानीका बाटामा गाडी कुदाउँदै गर्दा उनले अकस्मात भावुक भएर सोधे ।

हामी गाउँतिर गइरहेका थियौं चुनावी कामले । एउटा प्रतिष्पर्धि उम्मेदवारको स्वार्थ भएको मिडियामा प्रचण्ड, बलिदान र माओवादी केन्द्रको उछित्तो काढिएको समाचार आइरहेको थियो ।

‘दाइ पनि के कुरा गर्नुहुन्छ । यो रेडियो कस्को हो था छैन र ? के बढी सोच्नु हुन्न के यस्तो बारेमा ।’ कपीलले तत्कालै भन्यो ।

‘हैन के, जहिल्यै पनि मैलाई खेद्नुपर्ने, बुवा बाँच्दासम्म बुवालाई रक्षा गर्ने हो, म चाहिँ अब केही पेशा गरेर बाँच्छु, सकिन्न यार ।” प्रकाश साँच्चिकै भावुक थिए । हामीले बढी कुरा अघि बढाएनौं ।

एकछिनपछि उनले आफै भने, ‘भोली यी यसकै हजुरबाले हो १७ हजार.. भन्ने हुन । हाम्रो त मानौं जिन्दगी नै छैन । यो गरे प्रचण्ड, त्यो गरे प्रचण्ड । बुवाले गरेको कसले बुझ्ने ?’

प्रकाश तनावमा आएको यो पहिलो पटक थिएन । जनयुद्धपछि सार्वजनिक जीवनमा ओर्लिएपछि माओवादी अध्यक्ष प्रचण्डलाई खेद्ने एउटा प्रमुख बहाना प्रकाश दाहाल बनाइए । कुनै बेला उनी नभए मिडियाको शीर्षक नै नबन्ने अवस्था थियो । पार्टीभित्र, पार्टीबाहिर, समर्थकहरुको खेमा र बिरोधीहरुको खेमामा । प्रकाश दाहाल मानौं अपाच्य थिए ।

सरल, जिस्किने, साथीभाईका लागि ज्यान पनि दिन चाहने, समूहमा बाँच्न चाहने र कुशल व्यवस्थापकको भूमिका खेल्न सक्ने क्षमता थियो उनमा । तर, यो कुरा मिडियाले कहिल्यै देखेनन उनी बाँच्दासम्म ।

पार्टी भित्रैका कोही भन्थे ‘प्रचण्डलाई घेराबन्दी राखेको छ त्यसले, भेटनै पाइन्न’

‘च्यानलबाट कोही नआउने, व्यक्तिगत स्वार्थका लागि आउनेहरुको भीड मात्रै ? काम गर्दिए प्रचण्ड राम्रो, काम नगर्दिए आलोचना ।’ प्रकाश दाहालको तर्क हुन्थ्यो ।

यता मिडियाले उनलाई २०६४ देखि नै खेदिरहेको थियो । उनले केही ‘गल्ती’ समेत गरेको त्यो बीचमा ।

तर, दुर्भाग्य, यी गल्तीहरु, गल्तीहरुको आत्मलोचनापछि पनि पार्टी र नेतृत्वको रक्षाप्रति प्रतिबद्ध उनको भावना भने कसैले आत्मसात गर्न सकेनन् ।

स्वभावैले अटेरी प्रकाश, अरुजस्तो न आमाको काखमा लुटपुटिन पाए, न बाउको हात समातेर स्कुल जान पाए । बाबुराम भट्टराईलगायतका छोरीछोराहरु विदेशमा पढिरहेको बेला

प्रकाश कहिले रोल्पा त कहिल्ये पञ्जाब हुन्थे । एकातिर सर्वोच्च व्यक्तिको छोरा, अर्कोतर्फ त्यही सर्वोच्च व्यक्तिको माया नपाइने ।

”मैले नि त्यसरी चुपचाप बसेर पढन पाएको भए” बारम्बार दुखेसो पोख्थे प्रकाश ।

यो हुर्काईले प्रकाशको मनोविज्ञान नै अटेरी र विद्रोही, जिद्दी बनेको थियो । मायाको अभाव र चौतर्फी आलोचना । यति हुँदा पनि विचलित नभई उनले आफूलाई विकास गरे । यति राम्रोसँग विकास गरे कि चौतर्फी आलोचना चिर्दै पछिल्लो चरणमा आइपुग्दा प्रचण्ड प्रधानमन्त्री हुँदाको सफलताको दुई तिहाई जस प्रकाश लिन सफल भए ।

“प्रकाशले आफूलाई निकै विकास गरेका थियाे । उसमा हिजोको जस्तो केटाकेटीपन थिएन । उसको ध्यान नै पार्टी र नेतृत्वलाई सफल पार्ने थियो । मेरो प्रधानमन्त्रीकालको सफलतापछाडि एउटा मुख्य भूमिकामा ऊ थियो ।” प्रकाशको मृत्युपछि प्रचण्डले यी शब्दहरु आफन्तहरुमाझ व्यक्त गरेका थिए ।

प्रकाश दाहालमाथि मिडियाको हमलाले उनको नकारात्मक चरित्र निर्माण गरेको थियो । कतिपयले उनलाई पारससँग तुलना गरेका थिए । तर , यसरी तुलना गर्नेहरुले प्रकाशको जन्म, हुर्काई, शिक्षादीक्षा, संघर्ष कहिल्यै बुझेका थिएनन् । प्रकाशको सबैभन्दा ठूलो दुखाई यही कुरामा हुन्थ्यो ।

र, सबैभन्दा बढी प्रकाशको कमी त्यही वर्गले गर्यो, जसले उसको सबैभन्दा बढी खेदो खन्दै आएको थियो ।

सरल, जिस्किने, साथीभाईका लागि ज्यान पनि दिन चाहने, समूहमा बाँच्न चाहने र कुशल व्यवस्थापकको भूमिका खेल्न सक्ने क्षमता थियो उनमा । तर, यो कुरा मिडियाले कहिल्यै देखेनन उनी बाँच्दासम्म ।

‘सफर’ चलचित्रको माथिकै गीतमा एउटा अर्को पंक्ति छः

“ऐसे जीवन भी है जो जिए हि नहीं
जिन को जीने से पहले ही मौत आ गई”

र, यस्तै भयो प्रकाशका लागि ।

उनको असमायिक निधन भयो । अकल्पनीय निधन ।

संसारले उनी बाँच्दा उनलाई चिनेनन, तर मरेर बल्ल उनले आफ्नो महत्व र परिचय दिन सके ।

मृत्युपछि मात्रै प्रकाश दाहाल भएको भए के हुन्थ्यो र नहुँदा के हुँदो रहेछ भन्ने कुरा उनका समर्थक र आलोचकहरु अनुभूति गरे ।

र, सबैभन्दा बढी प्रकाशको कमी त्यही वर्गले गर्यो, जसले उसको सबैभन्दा बढी खेदो खन्दै आएको थियो ।

नेपाली मिडियामा एउटा मुख्य समाचार श्रोतका रुपमा रहेका प्रकाशको निधनको कमी अहिले पनि मिडियाले अनुभूति गरिरहेको छ ।

प्रकाश भएको भए…

अहिले सबैको मुखमा यही देखिन्छ ।

तर प्रकाशलाई प्रकाशित हुन दिन सकेको भए…..।

मिडियाले खेदो खनेकै कारण मिडियाको चरित्र बुझ्ने कला प्रकाशमा थियो । के कुरा समाचार बन्छ र के कुरालाई समाचार बनाउनुपर्छ भन्ने उनले मेसो पाएका थिए । सूचनाको त उनी भण्डार नै थिए ।

ह्दयघातबाट प्रकाशको मृत्यु भएको भएपनि उनले जीवनमा तनाव लिनुपर्ने अवस्था सिर्जना नभएको भए सम्भवतः उनी बाँच्थे कि ? हरेक पाइला, पाइलामा आलोचना खेप्न नपरेको भए उनी हाँस्न सक्थे कि ? माअ‍ोवादी आन्दोलनको रिस प्रचण्डसँग फेर्ने नाममा, पार्टीभित्र नेतृत्वको विरोध गर्ने नाममा, आफूले प्रगति गर्न नसकेको कुण्ठा पोख्ने नाममा प्रकाश दाहालमाथि आक्रमण नहुन्थ्यो भने, उनको आलोचना नहुन्थ्यो भने, उनको खेदो खन्ने काम नहुन्थ्यो भने सम्भवतः प्रकाश दाहालको ह्दयघात नहुन्थ्यो कि ? र, उनी अहिले तपाई हामी माझ बाँचिरहेका हुन्थे कि ?

तर, यसो भएन, उनी मरेपछि मात्रै आमरुपमा उनको कमी महसुस भयो । र, सबैभन्दा ठूलो कमी प्रचण्ड सचिवालय र मिडियालाई प¥यो ।

मिडियाले खेदो खनेकै कारण मिडियाको चरित्र बुझ्ने कला प्रकाशमा थियो । के कुरा समाचार बन्छ र के कुरालाई समाचार बनाउनुपर्छ भन्ने उनले मेसो पाएका थिए । सूचनाको त उनी भण्डार नै थिए । उनको मृत्युपछि कसैको इनबक्समा सूचना आएनन् । न त कसैलाई फोन आयो । न कसैले भित्रि कुरा के हो चाला पाए । पार्टी एकताको प्रक्रियामा यदि प्रकाश भएको भए… । मिडियामा आउने कुराहरु सम्भवतः अलि फरक हुन्थे । अलि यथार्थ हुन्थे ।

बुवा प्रचण्डलाई औधी माया गर्थे प्रकाश । त्यसैले कसरी हुन्छ बुवालाई कुनै पनि तनाव नहोस भन्ने उनको ध्याउन्न थियो । पार्टीभित्र सामूहिकता विलोप भएर व्यक्तिवादी चरित्रको विकास भएको कारण छोरा हुनुको कर्तव्य झनै निर्वाह गर्नुपर्छ भन्ने उनमा परेको थियो ।

तर, यो कुरा उनी बाँच्दासम्म महत्वहिन नै भए । साँचो अर्थमा उनी बाँच्न नै पाएनन् । साँचो अर्थमा हाँस्न नै पाएनन् । आफू र बाहिरीयाहरुको आलोचनाले उनको जीवन सहज भएन । यही जीवन बाँच्न नपाइकन नै उनी जीवनबाट टाढा भए । चितवनको निर्वाचनमा प्रचण्डका विरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु खनिएको सूचना पाएका थिए प्रकाशले । प्रचण्डलाई जसरी पनि हराउनैपर्छ भनेर संगठित भोट किन्ने एउटा ठूलो षडयन्त्र हुँदै थियो । यसलाई चिर्नैपर्ने दायित्व प्रकाश र पार्टी कमिटीमा थियो । पार्टीको कुरा गर्दा चितवनको पार्टी एकढिक्का थिएन र अस्तव्यस्त थियो ।

अर्कोतर्फ पार्टी अध्यक्ष भएको नाताले देशैभरिका उम्मेदवारहरुका लागि आर्थिकदेखि प्रचारप्रसारका सामग्रीको व्यवस्थापन गर्ने जिम्मेवारी फेरी प्रचण्डकै हुन्थ्यो । र, यो दबाब र तनाव पनि प्रकाशकै काँधमा थियो ।

अलविदा, प्रकाश । जन्मदिनको शुभकामना त कसलाई दिनु र ? तर तपाईंको मृत्युपछि तपाईको महत्व जसरी झल्कियो, कठै, त्यो तपाईले हेर्न पाउनु भएको भए…!

बुवालाई औधी माया गर्थे प्रकाश । त्यसैले कसरी हुन्छ बुवालाई कुनै पनि तनाव नहोस भन्ने उनको ध्याउन्न थियो । पार्टीभित्र सामूहिकता विलोप भएर व्यक्तिवादी चरित्रको विकास भएको कारण छोरा हुनुको कर्तव्य झनै निर्वाह गर्नुपर्छ भन्ने उनमा परेको थियो । त्यसैले निर्वाचनको बेला समेत उनी सहज थिएनन । हरेक कार्यक्रमलाई उनले नजिकबाट नियाल्थे, तयारीका हरेक काममा अघि सर्थे र सँगसँगै देशैभरिका रिपोर्टहरु संकलन गर्थे । यो सबै प्रचण्डलाई सहज पार्नका लागि थियो ।

यही बीचमा उनी पार्टीकै काम विशेषले काठमाडौं आए । र, त्यही क्रममा उनको मृत्यु भयो । एउटा अकल्पनीय मृत्यु ।

प्रकाशको मृत्युलाई प्रचण्ड परिवार र उनका साथीसँगीले, समर्थकहरुले अहिलेसम्म पनि पचाउन सकेका छैनन् । लाग्छ, उनी मरेका छैनन, यतै कतैबाट नियालिरहेका छन् ।

तर, सत्य के हो भने, उनी हामी माझ छैनन् । र, अब फर्किँदैनन, उनको कमी सधैं धेरै खड्किरहने छ ।

प्रकाश दाहालको आज ३७ औं जन्मदिन । तर, हामी मृत्युका कुरा गरिरहेका छौं । किन भने प्रकाशले साँचो अर्थमा मृत्युपछि मात्रै जीवनको परिचय दिएर गए ।

अलविदा, प्रकाश । जन्मदिनको शुभकामना त कसलाई दिनु र ? तर तपाईंको मृत्युपछि तपाईको महत्व जसरी झल्कियो, कठै, त्यो तपाईले हेर्न पाउनु भएको भए…

साभार : एभरेष्ट दैनिक डटकम