कामीरिताको कथा संकलनमा बृज सिमेन्टले सघाउने




२०७५ असार २१ बिहीवार
NewsDesk Shikharnews

काठमाडौं, २१ असार । २२ औं पटक सगरमाथाको सफल आरोहण गरेका कामीरिता शेर्पालाई बृज सिमेन्टले बधाई ज्ञापन गरेको छ । बृज सिमेन्ट र पुष्पतारा केडिया सेवा संस्थाले आज काठमाडौंमा विशेष कार्यक्रमका बीच सम्मान गरेको हो ।

आरोही शेर्पाले सन् २०१९ मा सगरमाथा वरिपरिका बस्तीहरुमा यात्रा गरी सो हिमाली भेगका कथाहरु संकलन गर्ने उद्देश्य लिएकाले त्यसमा पनि बृज सिमेन्टले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । खासगरि शेर्पा समुदायको साँस्कृतिक, आर्थिक, सामाजिक तथा मौलिक कथाहरु विश्वसामु चिनाउन कथा संकलन गर्न लागिएको शेर्पाले बताए ।

‘स्टोरी साइकल’सँगको सहकार्यमा गरिन लागिएको कथा संकलनका क्रममा २०७२ बैशाख १२ गते गएको आम विनासकारी भूकम्प पश्चातको पुर्ननिर्माणका कथाहरु समेट्ने उद्देश्य लिइएको छ । २०१८ को सिजनमा २२ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान गरेका कामीरिताले आगामी दिनमा सगरमाथा वरिपरिको क्षेत्रमा बसोबास गर्ने शेर्पा समूदाय र सगरमाथा वरिपरिको वातावरण संरक्षणमा भूमिका खेल्ने बताए ।

कार्यक्रममा बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक मनोज केडियाले नेपाललाई विश्वसामु सगरमाथा आरोहणबाट चिनाउन सफल शेर्पालाई बधाई दिँदै आगामी दिनमा पनि थप सहकार्य हुने प्रष्ट पारे । उनले बृज सिमेन्टको सामाजिक उत्तरदायित्व अभियान अन्तरगत राम्रा काम गर्नेलाई सधैं प्रोत्साहन गर्ने पनि उल्लेख गरे ।