कमल थापाको राप्रपा अझै हिन्दूराष्ट्र पुनस्र्थापनाको प्रयासमा




२०७५ असार २६ मंगलवार
NewsDesk Shikharnews

काठमाडौं, २६ असार । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी अझै पनि हिन्दूराष्ट्र पुनस्र्थापनाको प्रयासमा देखिएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठकमा हिन्दूराष्ट्र पुनस्र्थापना अभियानबारे छलफल भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आजबाट प्रारम्भ भएको उक्त बैठकमा हिन्दूराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियानबारे छलफल भएको हो । त्यसका साथै प्रदेश कार्यसमितिको कार्यक्षेत्र तथा अधिकार, प्रदेशमा संगठनात्मक अवस्थाको समिक्षा तथा संगठन सुदृढिकरण कार्ययोजनाको विषयमा पनि छलफल भएको थियो ।

पार्टीका प्रवक्ता भुवन पाठकका अनुसार बैठकमा प्रदेशमा जनपरिचालन सम्बन्धी कार्यक्रम, राष्ट्रिय स्वाभिमान यात्रा र भ्रष्टाचार बिरुद्ध भण्डाफोर कार्यक्रम बारेमा विस्तृत छलफल भएको थियो । बैठक भोलि पनि जारी रहने बताइएको छ ।