चित्रबहादुर केसीको सरकारलाई झटारो : भनम् भने गाउँको मुख्खे, नभम् त चल्ला सक्के




२०७५ असार २६ मंगलवार
NewsDesk Shikharnews

काठमाडौं, २६ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उखानटुक्कामार्फत व्यंग्य गर्न खप्पिस छन् । उनले भर्खरै दाङ पुगेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली नेतृत्वको सरकारलाई व्यंग्यको झटारो हानेका छन्, “भनम् भने गाउँको मुख्खे, नभनम् त चल्ला सक्के ।”

जनताले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको दुई तिहाईको शक्तिशाली सरकारबाट ठूलो आशा र अपेक्षा गरेको तर सरकारले भने पुरानै कामलाई निरन्तरता दिएको आरोप लगाए । दाङको घोराहीमा प्रगतिशील पत्रकार संघ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले भने, “अझै सरकारको मूल्यांकन गरिहाल्ने बेला त भएको छैन । तर, संकेत हेर्दा गतिलो पनि छैन । भनम भने गाउँका मुख्खे, नभनम त चल्ला सक्के ।” अध्यक्ष केसीले राणा, राजा र पञ्चायतकालीन शासन गए पनि प्रवृत्ति भने नगएको टिप्पणी गरे ।

भ्रष्टाचार र महंगी निकै मौलाएको भन्दै केसीले पहिला जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम गर्नुपर्नेमा सरकार उःटो गतिमा हिँडेको उनले बताए । उनले व्यापारिक मानसिकताका जनप्रतिनिधिहरुकै कारण जे कुरा पनि सम्भव नुहुने बताए । उनले डा. गोविन्द केसीका जनपक्षीय मागहरुलाई पनि त्यसैगरी पारित हुन नदिने ठूलो शक्ति लागेको उनको आरोप छ ।