संघिय सरकारलाइ प्रदेश सरकारकाे यस्ताे अाराेप

२०७५ साउन ४ शुक्रवार
Newsdesk Shikharnews

अस्बिन खड्का,  ४ साउन ।  प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले संविधानले दिएकोे अधिकार नपाएको भन्दै मुलुकका सातैवटा प्रदेशका समाजिक विकास मन्त्री काठमाण्डौमा भेला हुने बताएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलनमा बाेल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले देश संघियतामा गएपनि केन्द्रिकृत मानसिकताको कारण प्रदेश सरकारले आफ्नो अधिकार नपाएको गुनसो गरे ।

उनले प्रदेशले पाउनु पर्ने अधिकार संघले आफैमा केन्द्रिकृत गरेको भन्दै सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरु साउन ५ गते काठमाण्डौमा भेला हुन लागेको बताए । ५ गते काठमाण्डौमा सबै सामाजीक मन्त्रीहरुको बैठक बस्ने र ६ गते संघिय सरकार अर्न्तगतका सबै मन्त्रालयमा अधिकार प्रत्यायोजन गराउन दवाव दिने कार्यक्रम रहेको बताए ।

मन्त्री घिमिरेले अधिकार केन्द्रिकृत गर्ने मानसिकता अझै पनि हट्न नसकेको बताए । उनले अधिकार संघ, प्रदेश सरकारले आफै सँग राख्न चाहने त्यतिमात्र नभएर पालिकाहरुले पनि वडालाई अधिकार नदिएर आफै राख्न खोजेको आरोप लगाए । संघियतालाई पुर्णरुपमा कार्यान्वयन गराउन तिनै तहको सरकारलाई संविधानले तोकेको अधिकार दिनु पर्ने बताए ।