राजपाको कोर्स करेक्सन : संविधान संशोधन होइन प्रभावकारी कार्यान्वयन




२०७५ साउन ५ शनिवार
Udaya GM

शिखरन्युज

काठमाडौं, ५ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता महन्थ ठाकुरले २०७४ फागुन २० गते प्रतिनिधिसभाका जेष्ठ सदस्यका नाताले नयाँ वानेश्वरस्थित संघीय संसद भवनको सभाहलमा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराएका थिए । त्यसअघि नेता ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेष्ठ सदस्यको नाताले पद तथा गोपनीयताको शपथ खाइसकेका थिए ।

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए । त्यसपछि सांसदहरु संसद सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी भएका थिए । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा पुगेका थिए । यी सबै कार्यहरु नेपालको संविधानको धारा ८४ को प्रतिनिधिसभा गठनबारेको प्रावधानअनुसार भएका थिए । यद्यपि, संघीय संसदमा आफूहरुले संविधानकै धारामा टेकेर संविधानलाई मान्ने, त्यसलाई आत्मसात गर्ने र अगाडि बढ्ने भनेर शपथ खाइसकेपछि पनि जनतातर्फ फर्किएर राष्ट्रिय जनता पार्टीका नेताहरुले “संविधान संशोधन”को ढिपी भने छोडेका थिएनन् । शपथका भाषा फरक थिए तर आशय एउटै ।

नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् । संसदको पहिलो बैठकमा सहभागी हुनु अघि उहाँहरुले आज शपथ लिनुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा भोलि फागनु २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गर्नुभएको छ । निर्धारित कार्यक्रम बमोजिम फागुन २१ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको पहिलो बैठक एकै समयमा आ–आफ्ना सभाहलमा बस्दैछ । नेपालको संविधानले आफूलाई अपरिवर्तनशीलको रुपमा परिकल्पना गरेकै छैन । समयको माग र आवश्यकताअनुसार त्यसको परिमार्जन र संशोधनको परिकल्पना संविधानमा गरिएको छ । शायद अझै पनि “संविधान संशोधन”को राग अलापिरहनुमा शायद राजपाका आफ्ना “वाध्यता”हरु थिए कि ?

संशोधन होइन कार्यान्वयन
“देर आए दुरुस्त आए” भनेझैं आजैदेखि राष्ट्रिय जनता पार्टी नेपालको भाषा र भाका परिवर्तन भएको छ । आजै राजधानीमा आयोजित एक कार्यक्रममा फेरिएको भाषा र भाका प्रष्टै बुझ्न सकिन्थ्यो । पार्टीले औपचारिकरुपमै “संविधानको कार्यान्वयन र समावेशी लोकतन्त्र” विषयक अन्तक्र्रिया राखेर आफ्नो भाका र भाषा फेरिएको सन्देश दिएको छ । हिजैसम्म संविधान संशोधनको रटान लगाइरहेको राजपाले आजै एकाएक “संविधानको कार्यान्वयन”मा आउनु पनि नेपालका लागि एउटा सुखद् पक्ष मान्न सकिन्छ ।

संविधान संशोधनको मुद्दामा अडिएको राजपाले औपचारिकरुपमै संविधान कार्यान्वयनका लागि आफ्नो भूमिका खोज्दै छलफल शुरु गर्नु राजपाका नेताहरु वा राजपा नै नयाँ दिशातर्फ मोडिएको मान्न सकिन्छ । संविधानको अक्षरशः पालना गर्ने शपथ खाइसकेपछि पनि “यो संविधान मेरो होइन”, “मधेसविरोधी संविधान” भन्ने तर सोही संविधान अनुसार तलबभत्ता र सेवासुविधा सबै लिने र गाउँमा द्वन्द्वको राजनीति छोडेको आभास मिल्न थालेको छ । एकातिर शपथ खाएर सेवासुविधा सबै लिने र अर्कोतिर गाउँतिर द्वन्द्वको राजनीति गर्ने राजपाको द्वैध चरित्रको पनि अब अन्त्य हुन जरुरी छ । एकातिर सरकारलाई समर्थन दिने र र अर्कोतिर डा. गोविन्द केसीको आन्दोलनलाई पनि समर्थन गर्ने राजपाको द्वैध चरित्रको पनि अन्त्य हुनु आवश्यक छ ।

जेष्ठ सदस्यका नाताले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरिसकेपछि बाँकी सांसदहरुलाई शपथग्रहण गराउँदै राजपा नेता महन्थ ठाकुर ।

प्रधानमन्त्री ओलीसँग के भएको थियो ?
अस्ति अर्थात साउन ३ गते राजपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका थिए । प्रधानमन्त्री ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव त्यसै अवसरमा राजपाका नेताहरुसँग गरेका थिए । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका थिए । सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामाजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नुपर्ने प्रधानमन्त्री ओलीको जोड थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन ३ गते साँझ बालुवाटारमा भेटघाट गर्दै राजपाका नेताहरु । यो भेटमा पनि राजपा नेताहरुले संविधान संशोधनको माग दोहोराएका थिए ।

राजपाका नेता महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्री ओलीले ज्ञापनपत्र ग्रहण गर्दै राजपाले पहिला उठाएका कतिपय माग अहिले “असान्दर्भिक” भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका थिए, “हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरुले पनि पुनःविचार गर्नुहोस् ।” संंविधान संशोधनको विषयमा पनि प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताउँदै भनेका थिए, “संविधानमा देखिएका त्रुटिहरुमा छलफल गरौँ तर यसैमा अल्झिएर नबसौँ । देश विकासमा लागौँ ।” छलफलमा राजपा नेताहरु ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र केशव झा सहभागी थिए ।

आजको राजपाको अन्तक्र्रियात्मक कार्यक्रमले राजपाले कोर्स करेक्सन गरेको हो भन्न सकिने प्रशस्त आधार दिएको छ । आमनागरिकबीच आत्मीयता, सहकार्य, सद्भाव बृद्धि गरी सिङ्गो मुलुकलाई एकढिक्का बनाएर अगाडि बढ्नु नै आजको आवश्यकता हो । के राजपाको अबको यात्रा यतैतिरको हो ?