नेताहरुको दादागिरी र युवाहरूको हनुमानगिरी




२०७५ साउन ९ बुधवार
Udaya GM

उमेश बञ्जाडे

किताबी हनुमानमा कार्यकौशलता अनि क्षमता दुबै देखिन्छ । तर अहिले हनुमानगिरी गरिरहेकाहरुको अवस्था त्यस्तो छैन । यिनीहरु शकुनी र हनुमानको मिश्रणबाट बनेका दलाल भएका छन् । हनुमानको झैँ चाकडी र शकुनीको जस्तो कुटिलता देखिन्छ राजनैतिक हनुमानहरुमा । सायद किताबी हनुमानप्रति पनि अन्याय हुन्छ, स्वाँठहरुको कुकर्मलाई हनुमानगिरी भन्दा । सम्भवतः नेपालमा विचार, सिद्धान्त, शैली र आचरणले कुनै पार्टी छैनन् । यहाँ सबै लुटतन्त्रमा आधारित रहेर खोलिएका नाम र उपनामधारी कांग्रेस, कम्युनिष्ट झुण्डहरु “जनता ठग्ने पसल” सावित भएका छन् ।

यसको अर्थ राजा महाराजा नै ठिक भन्न खोजिएको होइन । यहाँ राजतन्त्रलाई नै बिर्साउने गगरी भइरहेका गतिविधिहरुले धेरैलाई “बरु पुरानै जाती” भन्नेसम्म पुराएको छ । ज्ञानेन्द्र शाह सिंहदरबारबाट नागार्जुन बगैंचामा गए, यद्यपि सामन्ती संस्कार उनीसँगै गएन । ज्ञानेन्द्रले पोकापुन्तुरा र ओढ्ने ओछ्याउने सँगै लगे होलान् परन्तु उनको जिम्दारीपारा सिंहदरबारकै भित्तामा टाँसिएर जम्दै गयो । र, त्यसले मन्दगतिमा देश अनि जनतालाई डस्दै गयो । यो कुरो मैले भनिरहनु नपर्ला, वर्तमान परिस्थितिले क्रमबद्धरुपमा निर्धारण गरिरहेको छ । अझै पनि गर्दै जाला । कुनै पनि देश सनक र दनकको भरमा नभई विधि र विधानमा चल्नुपर्छ । जनताद्वारा चुनिएर चुलीमा पुगेका हौं भनी छाती ठोक्नेहरु त यो विषयमा गम्भीर हुनुपर्यो नि । कसैले सामान्य विमति जनाए दुई तिहाइको घमण्ड, सानो विकासको अपेक्षा गर्यो भने रेलको कुरा, मसिनो निकासको आशा राख्यो भने जहाजको झनक अनि कतै अपर्याप्त भएका विषयमा प्रश्न उठायो कि सिधै दनक । अरे बाफ रे ! यो कस्तो सनक ?

अरु पनि थुप्रै तथ्यहरु छन्, जसबाट सिद्ध गर्न सकिन्छ कि नेपाली समाज अझै सामन्ती दासता, दलाल पूँजीवाद र विस्तारवादको शिकार भइरहेको छ । नेपाल स्वतन्त्रपूर्वक केही गर्न सक्ने अवस्थामा छैन । उनीहरुले नयाँ रुप र शैलीमा अझै नेपालको उन्नति र प्रगतिलाई रोकिरहेका छन् । यी तथ्यलाई ढाँटेर विभिन्न नामधारी पार्टी र आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरुले जनतालाई मुर्ख सम्झदै ओंठमा जनवाद चपाएर कोठामा समाजवादको भागबण्डा लगाइरहेका छन् । धेरैलाई अपेक्षा थियो, चुनावअघि दुई कित्तामा विभाजित राजनैतिक उतारचढाव पछि उत्पन्न भेल बाढीले केही हदसम्म देशलाई निकास दिनेछ । अझ त्यसमा पनि गरिखाने वर्गप्रतिको उत्तरदायित्व बोकेका कम्युनिष्ट पार्टीको हातमा सत्ताको डाडु पन्यु परेपछि देश अघि बढ्न नसके पनि खस्किन पक्कै दिँदैनन् । तथापि उनीहरु हात मात्रै होइन भाँडै चाट्न झनै माहिर ठहरिए । ब्वाँसाले भैँसीको ढाड कन्याएझैँ हाम्रै मान्छेलाई गोटी बनाएर हाम्रै दुःखका कुरा, हाम्रै समस्याका बात र हाम्रै अप्ठ्यारोका कहानी सुनाएर हामीलाई नै सिध्याउन तल्लीन देखिन्छन् । कहिले कर्णधार भनेका छन्, कहिले साझेदार भनेका छन् तर हिस्सेदार बन्नबाट च्युत गरेर मज्जाले जोतेका छन् । यी कुराहरुले पनि सामन्तवादको समूल अन्त्य भएको छैन भन्ने तथ्य हामीलाई बुझाउँछन् । चुनावी घोषणापत्र र मन्त्रालय हात पारेपछि कम्युनिष्ट मन्त्रीहरुले घोषणा गरेका अधिकांश कामहरु सुरुवात नै नभएर सेलाए । आफ्नो अधिपत्यमा धक्का लाग्ने त्रासले गर्न खोज्नेलाई पनि निस्तेज गरियो ।

मुखमा समृद्धि र सुशासन झुन्ड्याएर व्यबहारमा चौतर्फी कुराको काँडेतार लगाइयो । फ्री वाईफाईको घोषणापत्र बेचेर इन्टरनेट सेवामा १३ प्रतिशत मूल्य बृद्धि गरियो । कहाँ के बोल्ने भन्नेसम्म हेक्का नभएहरु मन्त्रीको कुर्सीमा आसिन छन् । “घर बलियो हुन जग मजबुत हुनुपर्छ” भनेझैँ माथिल्लो तहबाटै निर्माता भनिएकाहरुले अमर्यादित एवं घृणित सोंचलाई अङ्गीकार गरे, कस्तो समाजको रचना गर्लान् भन्ने प्रश्न उठ्छ । सम्भवतः मन्त्रीजस्तो गरिमामय पदमा बसेको मान्छेले बोल्ने हरेक कुरा साझा र समग्र देशकै धारणा हुन्छ । तर लोक नै लाजले भुतुक्कै हुनेगरी मनलाग्दी बक्दै हिँड्नु पनि अहमता र दादागिरीको पराकाष्ठा नै हो ।

पहिलोपटक सरकारमा जाँदा कानै पाक्ने गरी गफको बिस्कुन फिँजाएका वर्तमान प्रधानमन्त्री आजपर्यन्त पनि उनै गफमा रमाउँदै छन् । बीचमा हनुमानगिरीको एउटा खेमा थियो, जसले भन्ने गथ्र्यो, “उनलाई लामो समय सत्तामा टिक्न दिइएन ।” होला नि त । समयसँगै कामकुरा पूरा गर्दा हुन् भन्ठानेर ताली बजाइदिए कतिले । तर आज (देशकै सिंहासनमा पलेटी कसी अबोध केटाकेटीझैँ बम्किँदा देशको लागि समृद्धि र व्यवस्थित मुलुक निर्माणमा चुपचाप लागिपर्ने प्रतिनिधिको लागि एउटा विवेकहीन बतासलाई ताज पहिराइएछ भन्ने लागेको छ होला । र, पनि वर्षको एक महिना चुनावमा झण्डा हल्लाएर, एघार महिना खाडीमा बेल्चा हल्लाउने हामी भने उनीहरुकै हनुमानगिरीमा लागिपरेका छौं । धेरैपटक “किन रोइस् मंगले आफ्नै ढङ्गले” भनेझैँ नेताको भर्याङका भुक्तभोगी भएका हामी अझैसम्म सत्य र असत्य नछुट्याएरै बुरुक्क उफ्रिनु पनि देश डुब्नुको एउटा कारण हो । त्यो उफ्राई पछि जतिपल्ट जमिनमा थचारिए पनि हाम्रो चेतनाको ढक्कन नखुल्नु अर्को विडम्बना हो । कम्तिमा राष्ट्रिय हित र जनजीविकाको मुद्दामा हामीहरु किन एकमत हुँदैनौं ? किन आपसमा जहिल्यै कोपराकोपर मात्रै ? अनि कहाँ पुराउला हाम्रो यो अन्धो हनुमानगिरीले ?

के हामीले सोंच्नु पर्दैन ? हामीले जुन गतिमा हनुमानगिरी गरेका छौँ, नेताहरुको दादागिरी पनि त्यो भन्दा कम्तिको छैन । हुन त चौतर्फी माफिया र डनहरु तेर्साएर हिँड्ने नेताहरुको दादागिरी नभए गिट्टी कुट्ने मजदुरको हुन्छ त भन्ने प्रश्न पनि आउँछ । राज्यविहीन समाजको परिकल्पना गर्दै कार्ल माक्र्सले भनेका छन् “समाज विकासको अन्तिम विन्दु साम्यवादसम्म पुग्दा राज्यहरु सवै ध्वस्त हुनैपर्छ ।” तर, हामी समाजवाद उन्मुख मार्गमा छौँ भनेर फुटेको थाल ठोक्ने नेपाली कम्युनिष्टहरु फगत सत्तामा टिक्नकै लागि टाउको फोडाफोड गर्छन् र आफूभित्रको दादागिरीलाई छ्यालब्याल्ती पार्छन् ।

बिरामीले उपचारको लागि आफ्नो पार्टीको डाक्टर खोज्ने, विद्यार्थीले पढ्नको निम्ति आफ्नो नेताको कलेज रोज्ने अनि कर्मचारीहरु पालिकातिर आउँदा आफ्नो पार्टीले जितेका स्थानीय तहहरु खोज्ने । अझ नागरिक समाज र राष्ट्रसेबकहरु दलीय कित्तामा बिभाजन हुने व्यवस्था सारमा “दलीयतन्त्र नै हो ।” तर हाम्रोतिर देशको हकमा खत्तम सावित भएको यो व्यवस्थालाई लोकतन्त्र एवं संसारकै उत्तम प्रणाली मान्ने चलन छ । खबरदारी गर्नुपर्ने ठाउँमा हनुमानगिरी गर्न माहिर हामीले नेतृत्वलाई गलत गर्न प्रोत्साहित गर्छौं । दम्भ र घमण्डले फुलिएका नेताहरु सामान्य अन्तर्वार्तामै बहस गर्दागर्दै पच्छारा पच्छार गर्न खोज्छन् । सत्यतामा डढेलो लगाएपछि ढाँटेको कुरा काटेर मिल्दैन अनि पाखुरा सुर्किएर दादागिरी देखाउँदै स्टुडियोमै भिड्न तम्सिन्छन् । हामी हनुमानहरु आफ्नो माथि पर्यो भने वाहवाही गर्छौं र तलपरे नैतिकताको प्रश्न खडा गर्छौं । अर्काको आलोचना गर्न र खुइल्याउन दक्ष हामीहरु आफ्नाले गर्ने गलतलाई सही भनेर कहिलेसम्म टिमुर्किने ? अब त हामीले एकपटक सोंच्ने कि, कहाँ पुराउला नेताहरुको यो दादागिरी र हाम्रो हनुमानगिरीले देश अनि आम जनतालाई ?
–लमही, दाङ । हाल ः क्वालालम्पुर, मलेसिया