कसरी होला नेकपाको बाँकी सांगठानिक एकता ?




२०७५ साउन १८ शुक्रवार
NewsDesk Shikharnews

निर्मल भट्टराई

सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी एकताको ऐतिहासिक चरणबाट गुज्रिरहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा संगठनका विभिन्न शैली अवलम्बन गरे तापनि तत्कालीन एमालेले अभ्यास गरेको सांगठानिक शंैलीलाई नै एकतापछिको नेकपाले अबलम्बन गरेको छ । निःसन्देह, नेकपाको मातहत कमिटी र जनवर्गीय संगठनको एकता पनि सोही परम्परा र शैलीबाट सम्पन्न हुनेछ ।

१. युद्धकालीन संगठन र चुनावकालीन संगठन
जनयुद्धमा संगठनको विशिष्ट रूप हुन्छ । कन्चनपुरका निश्चित संख्याका मानिस गएर ताप्लेजुङका ब्यारेकका सेनासँग विजय प्राप्त गर्न सक्थे । थप हतियार प्राप्त गर्न सक्थे त्यो पनि छोटो अवधिमा । तर चुनावमा त्यसरी विजय प्राप्त गर्न असम्भव छ । चुनावमा विजय प्राप्त गर्न स्थायी प्रकृतिका पार्टी कमिटीहरू र स्थानीय स्थापित नेतृत्व आवश्यक पर्दछ । ती संगठनहरू खासगरी प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, नगरपालिका र गाउँपालिकाहरूमा केन्द्रित बनाउनु आवश्यक छ । त्यसकारण अब बन्ने भूगोलका संगठनमा सकेसम्म कार्यकर्तालाई आफू जन्मिएको वा स्थायी बसोबास भएको क्षेत्रमा संगठित गरिनु पर्दछ । तत्कालीन माओवादी केन्द्रका थुप्रै नेता कार्यकर्तालाई यो मातहत एकताले “भूगोलीकरण” गर्न सक्नुपर्छ ।

२) वैचारिक काम
भनिएको छ, “युद्ध हतियारसहितको राजनीति हो र राजनीति हतियारविहीन युद्ध हो ।” हतियारविहीन युद्ध जित्न चाहिँ “एक घर एक समर्थक र एक टोल एक संगठन” को नीति अवलम्बन गर्नु जरुरी छ । त्यस्तो किसिमको अभियानलाई सफल बनाउन आधारभूत तहमा वैचारिक नेतृत्व निर्माण गर्नुपर्ने आवश्यकता पर्दछ । आधारभूत तहका नेताहरू पार्र्टीले विगतमा प्राप्त गरेका महानतम उपलब्धिहरू र पार्टीको क्रान्तिकारी कार्यनीति, कार्यदिशा र रणनीतिका बारेमा राम्ररी बताउन सक्ने हुनु पर्दछ । पार्टीका हजारौं हजार कार्यकर्तालाई वैचारिक हतियारले सुसज्जित गर्नु भनेको अत्यन्त कठिन र समय लाग्ने काम हो । संगठनलाई जीवन्त बनाई राख्न राजनीतिक वैचारिक अभियानलाई निरन्तरता दिनु अनिवार्य छ । वैचारिक काम फितलो हुदै गएमा एकतापछिका बढेमान सांगठानिक संरचनाको प्रभावकारितामा ह्रास आउने निश्चितप्रायः छ ।

३. वर्गीय पक्षधरता र आन्दोलन
कम्युनिष्ट आन्दोलन भनेको मूलतः वर्गीय आन्दोलन हो । श्रमजीवी वर्गको नेतृत्वमा शासन सत्ता कायम गर्न गरिने आन्दोलन हो । स्वभावैले पार्टी सत्तामा रहेको वा नरहेको अवस्थामा वर्गसंघर्ष सञ्चालन गरिराख्नु पर्ने आवश्यकता रहन्छ । सत्तामा रहँदा वा नरहँदा श्रमजीवी वर्गको दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादका पक्षधर शक्तिहरूसँग संघर्ष चलिरहन्छ । श्रमजीवी वर्गको नेतृत्वमा राष्ट्रिय पूँजीपतिवर्ग समेतको सहयोगमा वर्ग संघर्ष गर्नु पर्दछ । माओ लगायतका विश्व नेताहरूले गरेको त्यही हो । नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपाले कमरेड पुष्पलालको समयदेखि नै मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्ग (धनी किसान पनि) मित्र शक्ति बन्न सक्ने आन्दोलन र सो आन्दोलनलाई सफलतामा पुर्याउन निर्माण गर्नुपर्ने संगठनका तहहरू निर्माण हुन सकेनन् । माओको नेतृत्वमा सम्पन्न चीनको नौलो जनवादी क्रान्तिको प्रभावबाट कमरेड पुष्पलालको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय पूँजीपतिवर्ग र मध्यमवर्ग समेतलाई संगठनको ढाँचाभित्र ल्याउन विगतमा या त सही नीतिको अवलम्बन गर्न सकेन या उनीहरूलाई समेट्ने नाममा वर्गीय पक्षधरता समेत छोड्ने स्थिति उत्पन्न भयो । तसर्थ आज क्रान्तिकारी कम्युनिष्ट पार्टीले उनीहरूलाई समेट्न उपयुक्त कार्यनीति र कार्यदिशा अवलम्बन गर्न आवश्यक छ । समाजमा विद्यमान वर्गीय अन्तर विरोधहरूको पहिचान र सार्वजनिक पहलकदमी गर्नु पर्दछ । बीसौं शताब्दीको तेस्रो चौंथो दशकमा माओत्से तुङले गरेको चिनियाँ समाजको वर्ग विश्लेषणमाथि मात्र भर नपरेर नेपाली कम्युनिष्टहरूले नेपाली समाजको वर्तमान वर्गविश्लेषण गर्दै वर्गीय पक्षधरताको आन्दोलनको नेतृत्व गर्नुपर्ने आजको ज्वलन्त आवश्यकता हो । जननेता मदन भण्डारीको वैचारिक छलाङले नेपालको राष्ट्रिय पूजीपति वर्गको ठूलो हिस्सा निकट आएको तथ्य पनि कसैले भुल्नु हुँदैन । र, भारी जनमत पाएर पार्टी सत्तारुढ भएको वर्तमान अवस्थामा वर्ग संघर्षको सही रुप तय नभएमा सत्ता सञ्चालनमा ठूलो अलमल हुनेछ । सत्ता सञ्चालन वर्ग पक्षधरताबाट कथंकदाचित विचलित भएमा ठूलो दुर्घटना हुन बेर लाग्दैन ।

४.. महिला आन्दोलन र नेतृत्व
करीब एकाउन्न प्रतिशत जनसंख्या ओगटेको नेपाली महिला जगतमा नेकपाको संगठित पकड अझै बन्न सकेको छैन । नेकपाले प्रथम महिला राष्ट्रपति बनाउन सफल भए पनि, राज्यको हरेक तहमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिए पनि पार्टीका आफ्ना कमिटीहरुमा यो व्यवस्था अझै अभिव्यक्त हुन सकेको छैन । नेकपाको मातहत कमिटीको एकता प्रक्रियामा सबै तहमा ३३ प्रतिशत महिला सहभागी गराएर मात्र कमिटीहरू निर्माण गरिनु उपयुक्त हुन्छ । किनभने समाजमा महिलाको नेतृत्व स्थापित गर्न आधारभूत तहका पार्टी कमिटीहरूले विशेष भूमिका निर्वाह गर्न सक्दछन् । पार्टी र जनवर्गीय संगठनका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको अब व्यवहारिक रुपमै ग्यारेण्टी गरिनु पर्दछ । समाजमा विद्यमान लिङ्गीय विभेदलाई अन्त्य गर्न कठोर संघर्ष गरेको पार्टीले स्थापित अधिकारलाई व्यवहारमा उतार्न ढिलो भइसकेको छ ।

५. पार्टी संगठन र राजकीय क्षेत्रको दोहोरो जिम्मेवारीको अन्त्य
प्रदेश, जिल्ला र गाउँ तहका पार्टी कमिटीहरूले सो क्षेत्रको राजकीय निकायका अतिरिक्त सहकारी, वन तथा खानेपानी उपभोक्ता समिति, नागरिक मञ्च, गैह्रसरकारी संस्था, विद्यालय व्यवस्थापन समिति, सामाजिक प्रतिष्ठान जस्ता संस्थाहरूमा रचनात्मक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नु पर्दछ । आफ्नो क्षेत्रको विकास निर्माणमा नेकपाका नेताको अग्रसरता जरुरी छ । नेकपाजस्तो गणतन्त्र ल्याउने पार्टी, संघीयता, धर्म निरपेक्षता र समावेशीकरणको जननी पार्टीले अब सामाजिक–आर्थिक रूपान्तरणमा त्यत्तिकै महत्वपूर्ण भूमिका खेल्न आफूलाई काबिल बनाउन सक्नु पर्दछ । संगठन निर्माण सँगसँगै विकास निर्माण, सामाजिक सहभागिता र प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नसक्ने स्थानीय नेतृत्व निर्माणको कामलाई अगाडि बढाइनु आवश्यक छ । यही अवधिमा पार्टीका पूर्णकालीन र अल्पकालीन कार्यकर्ताहरूको सही छनोट र व्यवस्थापन गरिसक्नु पर्ने चुनौती विद्यमान छ । चुनाव जितेर गएको प्रतिनिधिहरुको दोहोरो कार्यकारी जिम्मेवारी हटाउने वर्तमान नीतिलाई कडाइका साथ लागू गर्नु पर्दछ । “कसैलाई खातमाथि खात, कसैलाई पुर्पुरोमा हात” भन्ने उखानबाट नेकपाको सांगठानिक व्यवस्थापन मुक्त हुने अपेक्षा गर्न सकिन्छ ।

र, अन्त्यमा
नेकपाको संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालनमा देखा परेका सामान्य कमीकमजोरीलाई तिललाई पहाड बनाएर देखाउने प्रवृत्तिबाट सजग रहँदै पार्टीले विशेष योजना बनाएर सबै सरकारलाई प्रभावकारी काम गर्नसक्ने वातावरण बनाउनु पर्दछ । ऐतिहासिक परिवर्तनको नेतृत्व गरेको पार्टीले जनताको आर्थिक समृद्धिको नेतृत्व गरोस् भन्ने अपेक्षा राख्नु नितान्त स्वभाविक थियो । त्यही अपेक्षा पूरा होला भनेर नेपाली जनताले नेकपालाई मन खोलेर मत दिएका हुन् । आर्थिक समृद्धिको लागि परिवर्तनकारी आर्थिक नीति र सो नीति कार्यान्वयनमा पार्टीको नेतृत्वदायी भूमिका अपेक्षित छ । वर्तमान अवस्थामा नेपाली जनताले नेकपाभित्र संघर्ष र आरोप–प्रत्यारोप चाहेका छैनन् । एकता, पहलकदमी र रूपान्तरण चाहेका छन् । जनताले स्थायित्व, शान्ति र समृद्धि चाहेका छन् ।