मगर जातिको ‘पुन’ थरमा रहेको भ्रम र यथार्थ




२०७५ साउन २१ सोमवार
NewsDesk Shikharnews

बलबहादुर घर्तीमगर

‘पुन समाज’ गठन गरी पुन दाजुभाईहरुले पुन संस्थागत गर्ने अभियान थाल्नु भएको रहेछ । पुन समाज नामक संस्थाका बारेमा मेरो त्यति अध्ययण छैन तथापि नेपालका विभिन्न जिल्ला र मुलुक बाहिर पनि पुन समाजका शाखाहरु संगठित गर्ने एवं विभिन्न सामाजिक गतिविधिहरु गर्ने गरेको संचार माध्यमबाट सुन्ने र पढ्ने अबसर मिल्यो । अझ पुन समाजले अलग जाति कै रुपमा सूचिकृत हुन नेपाल सरकार समक्ष निवेदन दिएको भन्ने हल्ला समेत सुन्नमा आयो, यसले म मात्र होइन आम मगरहरुलाई गम्भिर बनाएको छ । ‘पुन’ सम्बन्धमा पुन दाजुभाईहरुमा रहेको भ्रम हटाउन अठार मगरात मगरहरुमा रहेको थर संरचनाबारे अवगत गराउन यो विश्लेषणको प्रयास गरेको छु ।

प्राचीन मगर भूमिका मगर बासिन्दालाई १२ पन्थी र १८ पन्थी भनेर बर्गीकरण गरिएको थियो । उक्त भूमिलाई अहिले १२ मगरात र १८ मगरातको रुपमा चिन्ने गरिएको छ । यस्तै डोल्पाको काइके भाषी मगरहरु समेत गरी मगर समुदायको भाषिक सांस्कृतिक र भौगोलिक आधारमा ३ उप-पहिचान स्थापित भएको छ । १२ र १८ मगरहरु एकै वंशका हुन् यसमा कुनै प्रश्न उठाउने ठाउँ छैन । यी दुई क्षेत्रमा रहेको भाषा संस्कृति एव‌म् कतिपय सामाजिक सांस्कृतिक मुल्यहरुमा समेत भेगीय विभिन्नता रहेको छ । यो मगर समुदाय सांस्कृतिक रुपमा सम्पन्न हुनुको सुचक हो । नेपालको जनसंख्याको ७ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको यो समुदाय जो नेपालभर फैलिएको छ त्यो विविधतायुक्त हुनु स्वाभाविकै हो । यस्तै गरी थर संरचनामा समेत १२ र १८ मगरातमा विशिष्ट खाले विभिन्नता रहेको छ ।

१२ मगरातमा थापा राना आले जस्ता मुख्य थर अन्तर्गत अन्य उपथरहरु रहने गरेको पाइन्छ । जस्तो थापा अन्तर्गत सिंजाली राम्जाली सारु पुलामी गर्वुजा दर्लामी यस्तै राना अन्तर्गत सारु क्याम्छाकी अस्माली किरिङ हुन् भने आले अन्तर्गत बलामी बलम्पाकी गुरुचन सेन उचै आदि । यी उपथरहरु सामान्यत एक मुख्य थर अन्तर्गत स्थायी रुपमा रहेका हुन्छन् र आफ्नो स्पष्ट पहिचान सो अन्तर्गत कै हुने गर्दछन् । यसैगरी १२ मगरातमा कतिपय उपथरहरु सिधै थरकै रुपमा स्थापित गरिएका पनि छन् ।

यता १८ मगरातको थर संरचना भने १२ मगरातको थर संरचना भन्दा विल्कुलै भिन्न छ । माथिकै ढाँचामा अध्ययन र विश्लेषण गरियो भने त्यो त्रुतिपूर्ण हुने छ । १८ मगरातका विभिन्न गोत्यार (गोत्र) थर भएका मगरहरुले बुढा घर्ती पुन रोका झाँक्री बाँठा विष्ट लगायतका पदमूलक थर ग्रहण गरेका छन् जसलाई धेरैले सामान्य बुझाइमा प्रमुख थरकै रुपमा बुझ्ने गर्दछन् । कतिपयले थापा राना जस्ता १२ मगरातमा रहेका मुख्य थरहरु पनि ग्रहण गरेको पाइन्छ । १८ मगरातमा पदमूलक थर मुख्य होइन बरु अन्तर्गतको वंशज थर वा गोत्यार थर प्रमुख हो । पुन घर्ती रोका बुढा भन्दैमा उसको पहिचान पुर्ण मानिदैन । त्यहाँ कुन पुन, कुन घर्ती, कुन रोका, कुन बुढा भन्ने सवाला आइहाल्छ ।

१८ मगरातका मगरहरुले १२ मगरातका मगरहरु झै सिधै गोत्रीय थर लेख्ने अभ्यास गरेको पाइँदैन जस्तो पहराई पुनले पुनमगर मात्र लेख्छ उसको खास गोत्यार पहिचान लेख्दैन । यस्तै पहराई पुन छ भने उसको वंशजको सम्बन्ध अन्य गोत्यार भएको पुनसँग भन्दा पनि पहराईसँग नजिक मानिन्छ चाहे त्यो घर्ती बुढा वा रोका अन्तर्गतको पहराई किन नहोस् । पहराई रोका, पुन, घर्ती, बुढा सबैमा वितरण भएको हुन्छ । यस्तै बाइजाली घर्ती र राम्जाली घर्ती छन् भने ती घर्ती भएकै कारण सगोत्रीय हुँदैनन्, ती नगर सम्बन्ध बाहेक इस्तमाइती नै हुन्छन् । बरु राम्जाली पुन र राम्जाली घर्ती, राम्जाली बुढा र राम्जाली रोका सगोत्रीय हुन्छन् र तिनीहरुबीच बन्धुत्वको सम्बन्ध हुने गर्दछ । आपसमा गोत्यार सम्बन्ध स्थापित गरी दाजुभाईको सम्बन्ध राख्ने गर्दछन् ।

१८ मगरातमा न त १२ मगरातको जस्तो मुख्य थर र त्यस मातहत उपथर हुन्छन् न त गुरुङहरु जस्तो ४ थरहरु घले घताने लामिछाने लामा एवं १६ जाते जस्ता स्थायी खण्डिकरण नै हुन्छ । स्थायी वंश भनेको राम्जाली, बाइजाली राङू हिरुङ्गे उलुङ्गे पहराई ठिनी आदि हुन् र यी अकाट्य तथा अपरिवर्तनीय वंशज पहिचान हुन् । कुनै मगरले आफ्नो मौलिक इतिहास र उत्पत्तिको मिथक यसैबाट पाउन सक्छ । हामी धेरैलाई के भ्रम छ भने घर्ती, बुढा, रोका, पुन जस्ता पदमूलक थर भएका मानिसहरु सगोत्रीय हुन् र यिनको कुलायन पहिचान हुन्छ भन्ने तर त्यो पटक्कै होइन र भ्रममा पर्न आवश्यक छैन ।

पुन, बाँठा र झाक्री जस्ता पदमूलक थर मगर समुदायमबाट उत्पत्ति गरिएका पदमूलक थर हुन् । यी पदहरुको सम्बन्ध शुध्द कार्यसँग छ । घर्ती बुढा र रोका खसान राज्यमा प्रचलित शासकीय पदाधिकारीका पदबाट मगरसमुदायमा स्थापित भएको पदमूलक थर हो जस्तो बुढा भनेको प्राचीन खस राज्यमा सेनाको एक दर्जा हो । उक्त पदहरु खस जातिका थर र मगर जातिका थर दुवैतिर रहेका छन् । यी पदहरुको आफ्नो अलग पहिचान हुँदैन । यी त व्यक्तिले ग्रहण गरेका कुरा हुन् र यी पगरी मात्र हुन् । व्यक्तिको योग्यताका आधारमा प्राप्त ती पदहरु राज्यले व्यक्तिको लिखित पहिचान राख्नु अघि निकै गतिशील र अस्थायी थिए र यी पदहरु लिन र दिन मिल्ने खालका थिए । व्यक्तिलाई लिखित नागरिकता वितरण गर्ने क्रममा मात्र यिनले स्थायी रुप धारण गरेका हुन् ।

पदमूलक थर बोकेका घर्ती, पुन, रोका, बुढा, बाँठा, झाँक्री जे भएपनि यदि ती बाइजाली हुन् भने उनीहरुको उत्पत्तिको कहानी एउटै हुन्छ । उनीहरु दाजुभाई नै हुन् । उनीहरुलाई एकिकरण गर्ने आधार नै उनीहरुको उत्पत्तिको मिथक हो । उनीहरुको कुल पुजा र पित्र पुजामा उही शाकाको पूजा हुन्छ । यस्ता गोत्यार थरहरु धेरै जसो स्थान विशेषबाट नामाङ्कित भएको पाइन्छन् भने कतिपय कार्य र व्यवहारबाट पनि उत्पत्ति भएको मिथकहरु पाउन सकिन्छ । जस्तो ठिनी थरका मगरहरुको शाकापुर्खा ठिनि माछाको पेटबाट जालाहारीले निकालेको बच्चा हो भन्छन् । त्यसैले ठिनी मगरहरुले ठिनी माछा खाँदैनन् ।

यहाँ पुनको अलग पहिचान खोज्नु १८ मगरातको थर संरचनाकै खिल्ली उडाउनु हो भने स्थापित थर निर्माण सिध्दान्तलाई विकृत गराउनु हो । यो यथार्थ अध्ययन विना नै थालिएको भावनात्मक कदम हो । यसले भोलि पुन समाजको अगुवाई गर्नेहरुलाई नै लज्जित बनाउने छ । हो संघ संगठन खोल्न पाउनु पर्छ यो नेपालको संविधानले हरेक नागरिकलाई दिएको मौलिक अधिकार हो । संघ संगठनले पहिचानका सत्यतथ्य आधारहरुलाई स्थापित गरी आम मानिसहरुलाई जोड्नु पर्छ । केही व्यक्तिको स्वार्थका लागि यस खाले दुर्भाग्यपूर्ण कदम चाल्नु स्वयम् अभियान्ताहरुकै निमत्त निकै घातक हुनेछ । यसले मगर समाजमा पहिचानको होइन विखण्डनताको बिज रोप्ने निश्चत छ किन भने ‘पुन’ मगर समुदायको एकल र अलग पहिचान भएको थर नै होइन ।

अलग, एकल र गोत्यार कुनै मौलिक पहिचान नभएको पुनको उत्पत्ती पोनबाट भएको हो । आजकल अंग्रजीमा Pun लेख्न थालिए पनि मूल Pon नै यसको सही हिज्जे हो । पुराना लाहुरेहरुको थर पनि Poon/Pon लेखिएका दस्तावेज आजपनि भेटिन्छन् । कतिपयले पुन ओडारमा बस्ने भएकोले ‘पू’ बाट पुन भएको तर्क गर्छन् तर त्यो मिथ्या मात्र हो यथार्थ होइन ।

अब रह्यो मगर समुदायमा पोन के हो भन्ने । मगर समुदाय प्रकृति पूजक कुटुम्बमा आधारित भै जन्ममृत्यका संस्कार सम्पन्न गर्ने मौलिक सांस्कृतिक मुल्य भएको समुदाय हो । पितर पुजा, नयाँ अन्नको सास राख्ने अनि देउताहरुलाई विधि सम्मत रुपमा धानमान गर्ने भूमिका परिवारको ज्येष्ठ वा चोखो बस्न सक्ने कुनै पनि सदस्यले गर्नु पर्छ भन्ने मान्यता छ, जुन कार्यलाई पोन्न्या भनिन्छ । यो गोत्यारभित्रको पुजारीकै भूमिकामा रहने कार्यात्मक पद हो । हरेक परिवार वा वंशमा एकजना पोन हुनु पर्छ जस्ले माथि उल्लेखित पोन्न्या कार्य गर्दछ । पोन्न्या कार्य गर्ने तर्फका सबै सन्तानहरुलाई पोन भन्ने गरिन्थ्यो । उनीहरुको बाहुल्यता भएको स्थानलाई पोनथोक भनिन्छ । पोन हरेक गोत्यार थरमा हुने गर्छ किन भने पोन्न्या कार्य मगर समुदायको प्रमुख शुध्दिकरण र पित्री श्रध्दाको प्रकृया हो । पोन पूजा गर्ने पूजारीकै भूमिकामा रहने पद हो । घर्ती, बुढा, रोका, पुन, झाँक्री एवं बाँठा पद ग्रहण गरेका राम्जाली, राङु, प्वाङे, बाइजाली, पहराई आदि गोत्यारमा पोन हुन्छन् । पोन जसले पनि लिन सक्ने र दिन सक्ने पद भएकोले यो पद हो, गोत्यार होइन । यसको आफ्नो कुलायन पहिचान पनि छैन । सबै गोत्यारले ग्रहण गर्न सक्ने भएकोले पुन, घर्ती, बुढा, रोका डायनामिक पदावली हुन् ।

अब रह्यो पुन विस्तार हुनुको अर्को कारण । दोश्रो विश्वयुध्दमा बर्माको लडाईमा अद्वितीय युध्दकला प्रस्तुत गरे बापत ब्रितिश सरकारले तुलबहादुर पुनलाई भिक्टोरीया क्रस दिएपछि मगर भित्रको पुन पादावलीलाई निकै सम्मानित रुपमा लिन थालियो । लाहुरे नाप्ने गल्लाले समेत मगरमा पुन सुन हो भन्दै भटाभट भर्ती लिन थाले । पुन लाहुरे समुदाय वा व्रितिश र इन्डियन गोर्खामा निकै ब्रान्डिङ भयो । त्यसबेला नागरिता विना नै भर्ती लिने हुँदा सबैले आफुलाई पुन भन्दै भर्ती हुन थाले । यति सम्मकी क्षेत्रीहरु समेत पुन थर राखेर भर्ती भएका छन् । रोल्पा रुकुम दाङ म्याग्दी बाग्लुङ अर्घाखाँची जस्ता गाउँमा आज देख्न सकिन्छ कि एउटै बाजेका नातिहरु कोही पुन कोही घर्ती कोही रोका छन् । अब भन्नुस् ती पुन घर्ती रोका र बुढाहरु के अलग गोत्यार भए त ? ती त एउटै  बाजेका सन्तान हुन् र एउटै चुल्होबाट झाङ्गिएका गोत्यार हुन् ।

यही पुन ब्रान्डिङकै कारण पुन थरभएका कतिपयमा अहम्ता बढ्न गयो । मगर भनेको नै पुन हो र पुन भनेको नै मगर । यथार्थमा भने मगर जातिमा कुनै पनि थर न त तलको हुन्छ न त माथिको । मगर समाज Vertical देख्नु र ब्याख्या गर्न खोज्नु व्यक्तिमा हिन्दु बर्ण व्यवस्थाबाट प्रभावित चिन्तनको उपज बाहेक केही होइन । पण्डितले आएर तिमीहरु कौशिल्य गोत्रका हौ र तिमीहरु बैँसे जातिका हौ भनिदिदा इश्वयरीय बाणी ठानेर मख्ख हुने स्तरको चिन्तन बाहेक केही होइन ।

त्यसैले पुन अलग एकल पहिचान भएको थर होइन यो त पदवी मात्र हो यसको ग्रहण एउटै परिवारमा जसले पनि गर्न सक्छ । पुनलाई अझ मगर होइन भन्न त मिल्दै मिलेन । पोन्न्या कार्य गर्ने र लाहुरे हुँदा पुन ब्राण्डको प्रयोग गर्नेहरु नै पुन हुन् । जसबाट पुनको पहिचान स्थापित हुन सक्दैन । पुनको भ्रामक अभियान पछि लागेर आफ्नो खास वंशीय मिथक मेट्ने दुस्साहस कसैबाट नहोस् अन्यथा भोलि सन्ततीलाई जवाफ दिने मुख बन्द हुनसक्छ । बेलैमा चेतना खुलोस्।

रोल्पा

[email protected]