हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न ३० करोड लाग्ने




२०७५ साउन २२ मंगलवार
Business NewsDesk

 

काठमाडौं । उन्नाईस वर्ष देखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न ३० करोड लाग्ने भएको छ। यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निश्कर्षसहितको प्रतिवेदन दिएको हो । हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिनेभन्दै करिब ३० करोड खर्च गर्दा उद्योग फेरि सञ्चालनमा ल्याउन सकिने निश्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले हेटौंडा कपडा उद्योगको स्थलगत रुपमै अध्ययन गरेर प्रतिवेदन तायर गरेको हो । नेपाली सेनालाई संलग्न गराएर उद्योग चलाउने योजना अनुरुप अध्ययन कार्यदल गठन भएको थियो । समितिमा सेनाका अधिकृत पनि सदस्य थिए ।

प्रतिवेदनले उद्योग चलाउन विभिन्न मोडालिटी पनि प्रस्ताव गरेको छ । जसमा सेनाको एकल लगानीदेखि सरकारकोर सेनाको संयुक्त लगानीसम्मका मोडालिटी छन् । उद्योग चलाउने निर्णय गर्न अर्थमन्त्रालयले स्वीकृति दिनुपर्नेछ । त्यसपछि मन्त्रिपरिषदबाट निर्णय भएमा उद्योग सञ्चालनको तयारी सुरु हुनेछ ।

 

कार्यदलले उद्योगको मेसिन र पूर्वाधार अवस्था लगायतका विषयमा अध्ययन गरेको थियो । ‘उद्योगका मेसिन अहिले पनि मर्मत गरेर चलाउन सकिने अवस्थामा भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

 

सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । २०३५ र ३६ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ ।

 

नेपाली सेनाले दुई वर्ष अघि नै बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । ०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।