प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५ वटा उद्योग, ४९ हजार रोजगार




२०७५ साउन २३ बुधवार
Newsdesk Shikharnews

काठमाण्डौ, २३ साउन । प्रदेश नम्बर ३ अरु प्रदेश भन्दा अब्बल प्रदेश भएको देखिएको छ । प्रदेशको वस्तु स्थिति विवरण सार्वजनिक गर्दै यो प्रदेशलाई ७ प्रदेश मध्ये अब्बल प्रदेशका रुपमा प्रस्तुत गरेको छ ।

उद्योग प्रतिष्ठान धेरै
औद्योगिक गणना २०६९ का अनुसार यस प्रदेशमा ९ सय ६५ वटा उद्योग रहेका छन् जसमा ४९ हजार १ जनाले जनाले रोजगारी पाएका छन् ।

यस प्रदेशमा भएका कूल उद्योगमध्ये ४३.५४ प्रतिशत उद्योग सेवा क्षेत्रमा, २७.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा, १५.६७ प्रतिशत पर्यटन क्षेत्रमा र १२.६७ प्रतिशत कृषि तथा वनजन्य क्षेत्रमा छन् । जिल्लागत रूपमा सबैभन्दा बढी उद्योग काठमाडौंमा र सबैभन्दा कम उद्योग रसुवामा छन् ।

नेपालमा रहेका ११ औद्योगिक क्षेत्रहरुमध्ये बालाजु, पाटन, भक्तपुर र हेटौडा औद्योगिक क्षेत्र गरी ४ वटा औद्योगिक क्षेत्र यस प्रदेशमा रहेका छन् ।
प्रदेश नं ३ का ३५.९ प्रतिशत परिवारले फ्लसयुक्त शौचालयको प्रयोग गर्छन् भने प्रदेश नं ३ का १७.२ परिवारसंग शौचालय नै छैन । विकासका लागि खाका तयार पार्न भन्दै प्रदेश ३ ले ४५ दिन अगाडि प्रदेश नीति तथा योजना आयोग गठन गरेको थियो । उक्त आयोगले प्रदेश ३ को बस्तुस्थिति विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशको समग्र लैङ्गिक अनुपात (१०० जना पुरूषमा महिलाको संख्या) ९८.८ रहेको छ ।

यस प्रदेशमा कूल जनसंख्याको ७२.५७ प्रतिशत मानिस सहरमा र २७.४३ प्रतिशत मानिस गाउँमा वस्छन् । नेपालको इतिहासमा सहरी जनसंख्या गाउँको भन्दा बढी देखिएको यो पहिलो पल्ट हो ।जनसंख्याको हिसाबमा ३ नं प्रदेशमा २०.४२ प्रतिशत तामाङ, १८.२८ प्रतिशत पहाडि ब्राह्मण, १७.२८ प्रतिशत क्षेत्री र १६.९२ प्रतिशत नेवार रहेका छन् भने मगर, कामी, गुरूङ, थारू, राई, दमाई, सार्की र चेपाङको उपस्थिति १ देखि ५ प्रतिश रहेको छ ।

प्रदेश ३ का १३ मध्ये ७ जिल्ला सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाच्चोक, सिन्धुपाल्चोक र मकवानपुरमा तामाङ, दोलखा र रामेछापमा क्षेत्री, काठमाडौ र चितवनमा ब्राहमण र भक्तपुर र ललितपुरमा नेवार समुदायको संख्या बढी छ ।

कहाँ गयो प्रदेश ३ को १८.२ प्रतिशत जनसंख्या ?
प्रदेश ३ को कुल जनसंख्याको १८.२ प्रतिशत जनसंख्या प्रदेशमा अनुपस्थित छ । अनुपस्थितमध्ये ७९.५ प्रतिशत पुरुष र २०.५ प्रतिशत महिला छन् । विवरण अनुसार अनुपस्थितिमध्ये ५६.९३ प्रतिशत निजी नोकरीका लागि विदेश गएका छन् ।

बाहिरबाट मगाउँछ प्रदेश ३ ले खाना
आर्थिक वर्ष ०७३\०७४ को तथ्याङ्क अनुसार यस प्रदेशमा जम्मा खाद्यान्नको उपलब्धता ८ लाख ५२ हजार ६ सय ८० मेट्रिक छन छ । तर, यो प्रदेशको कूल खाद्यान्न आवश्यकता भने १२ लाख ४२ हजार ६ सय १८ मेट्रिक टन वार्षिक आवश्यकता छ ।

सम्पदामापनि धनी
विश्व सम्पदा सूचीमा सूचीकृत नेपालमा १० वटा मध्ये ८ वटा सम्पदाहरु यस प्रदेशमा पर्दछन् ।

२०७५ वैशाख १२ गतेसम्ममा कुल १००६.८ मेगावाट विद्युत उत्पादन भएकोमा यस प्रदेशमा मात्रै ३४०.३ मेगा वाट विद्युत उत्पादन हुन्छ । यस प्रदेशमा नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अन्य ५ वटा विमानस्थल रहेका छन् । बिमान स्थल भएर पनि लाङ्टाङ्, जिरी र मेघौली सञ्चालनमा छैनन् भने रामेछाप बिमानस्थलबाट नि नियमित सेवा सञ्चालनमा छैन ।

बस्तुस्थितिमा समेटिएका केही महत्वपूर्ण तथ्याङ्कहरू

२०,३०० बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको प्रदेश नं. ३ समुद्र सतहबाट १४१ मिटरदेखि ७,२२७ मिटरको उचाईसम्मको जमिन छ । सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडाै रसुवा, नुवाकोट, धादिङ, मकवानपुर र चितवन गरी १३ जिल्ला रहेको यस प्रदेशमा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी गरी ११९ स्थानीय तह छन् ।

वि. सं. २०६८ को जनगणना अनुसार यस प्रदेशको जनसंख्या ५५ लाख २९ हजार ४५२ रहेको छ । यो संख्या नेपालको कुल जनसंख्याको २०.८७ प्रतिशत हो । यहाँको कुल जनसंख्यामध्ये ४९.६९ प्रतिशत पुरूष र ५०.३१ प्रतिशत महिला छन् । बार्षिक जनसंख्या वृद्धिदर १.९१ प्रतिशत रहेको यस प्रदेशमा कुल जनसंख्यामध्ये ४० बर्ष मुनिको व्यक्तिको संख्या ७५ प्रतिशत, ६० वर्ष उमेरमाथिका जेष्ठ नागरिकको संख्या ८.१३ प्रतिशत छ । प्रदेश (संस्थागत परिवारसहित) मा १२ लाख ७० हजार ७९७ परिवार छन् । यो नेपालको कुल परिवार संख्याको २३.४२ प्रतिशत हो भने औषत परिवार सख्या ४.३५ जना रहेको छ । प्रदेशमा ४ वा सोभन्दा कम सदस्य रहेको परिवार संख्या ६०.२३ प्रतिशत छ । यसबाट प्रदेशमा सानो परिवारप्रतिको आकर्षण बढी रहेको देखिन्छ ।

यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०,९०,०८५ हेक्टर) जमिन बनले र ७.५७ प्रतिशत (१,५३,७५९ हेक्टर) झाडी बुट््यानले ढाकेको छ । यस्तै २४.३४ प्रतिशत (४, ९४,०८४ हेक्टर) जमिनमा खेती भएको देखिन्छ । सबैभन्दा थोरै अर्थात ३०७ हेक्टर (०.२ प्रतिशत) जमिन ताल पोखरीले ओगटेको छ । यस प्रदेशको कुल जमिनको ४.९ प्रतिशत जमिन समतल, ४.९ प्रतिशत जमिन हल्का ढल्केको र २३.६ प्रतिशत जग्गा भिरालो भएपनि कान्ला वा गरा बनाएर खेती गर्न सकिने खालको छ । यी तीनै वर्गका गरी जम्मा ३३.४ प्रतिशत जग्गा खेतीयोग्य देखिन्छ ।

प्रदेशका सातवटा जिल्ला दोलखा, सिन्धुपाल्चोक, रामेछाम, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र धादिङको जनसंख्या बृद्धिदर नकारात्मक छ । प्रजनन दर कम भएका कारणले जनसंख्या बृद्धिदर नकारात्मक रहेको भनेर पत्याउन सकिने आधार छैन । तुलनात्मक रूपले काठमाण्डौ, ललितपुर र भक्तपुरको जनसंख्या बृद्धिदर बढी देखिन्छ । यी ७ जिल्लाका मानिसहरू काठमाडौं उपत्यका र अन्यत्र बसाई सरेको देखिन्छ भने ती जिल्लामा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य सेवा सुविधा तथा पूर्वाधारहरूको कमी छ । कृषि उत्पादकत्वको कमी, पहिरो आदि कारणले जनसंख्या बृद्धिदर नकारात्मक हुन गएको बिश्लेषण छ । प्रदेशको समग्र लैङ्गिक अनुपात (१०० जना पुरूषमा महिलाको संख्या) ९८.८ भए पनि ५ वर्ष मुनिको लैङ्गिक अनुपात १०० भन्दा माथि छ जुन सबैभन्दा बढी भक्तपुर जिल्लामा ११५.५३ छ । समग्र प्रदेशभित्र ५ वर्ष मुनिको लैंङ्गिक अनुपात १०८.२८ छ भने समग्र नेपालको १०४.९४ छ ।

नेपालको कुल जनसंख्याको ६२.९५ प्रतिशत मानिस शहर (नगरपालिकाहरू) मा र ३७.०७ प्रतिशत मानिस गाउँ (गाउँपालिकाहरू) मा वस्छन् । यस प्रदेशमा कुल जनसंख्याको ७२.५७ प्रतिशत मानिस सहरमा र २७.४३ प्रतिशत मानिस गाउँमा वस्छन् । नेपालको इतिहासमा सहरी जनसंख्या गाउँकोभन्दा बढी देखिएको यो पहिलो पल्ट हो । राष्ट्रिय जनगणना २०६८ का अनुसार ६७.२ प्रतिशत परिवारको पहुँच धारा वा पाइपको पानीमा देखिन्छ । तर खानेपानी तथा सरसफार्इ ्विभागका अनुसार यस प्रदेशको ९१ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा पुगेको छ ।

यस प्रदेशमा परिवारले प्रयोग गर्ने शौचालयमध्ये ३५.९ प्रतिशत परिवारले फ्लसयुक्त शौचालयको प्रयोग गर्छन् । नेपाल जनसाख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार यस प्रदेशमा शौचालय नै नभएको परिवारहरुको प्रतिशत १७.२ रहेको छ ।

यस प्रदेशको कुल जनसंख्याको २०.४२ प्रतिशत तामाङ, १८.२८ प्रतिशत पहाडी ब्राह्मण, १७.२८ प्रतिशत क्षेत्री र १६.९२ प्रतिशत नेवार रहेका छन् भने मगर, कामी, गुरूङ, थारू, राई, दमाई, सार्की र चेपाङको उपस्थिति १ देखि ५ प्रतिशतभित्र छ । बाँकी अरू जातिको उपस्थिति १ प्रतिशतभन्दा कम छ । १३ मध्ये ७ जिल्ला सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाच्चोक, सिन्धुपाल्चोक र मकवानपुरमा तामाङ, दोलखा र रामेछापमा क्षेत्री, काठमाडौ र चितवनमा ब्राहमण र भक्तपुर र ललितपुरमा नेवार समुदायको संख्या बढी छ ।यस प्रदेशमा नेपाली मातृभाषीको संख्या ५७.४ प्रतिशत, तामाङ् भाषी १८.३ प्रतिशत र नेवारी भाषी १२.३ प्रतिशत छन् । यसबाहेक मगर, थारू र मैथिली बोल्नेको संख्या १ देखि २ प्रतिशतभित्र छ । अन्य भाषा मातृभाषीको उपस्थिति १ प्रतिशतभन्दा कम छ ।

कुल जनसंख्याको १८.२ प्रतिशत जनसंख्या अनुपस्थित छन् । अनुपस्थितमध्ये ७९.५ प्रतिशत पुरुष र २०.५ प्रतिशत महिला छन् । अनुपस्थितिमध्ये धेरैजसो (५६.९३ प्रतिशत) निजी नोकरीका लागि विदेश गएका छन् । विदेश गएकामध्ये सबैभन्दा बढी (३७.३२ प्रतिशत) मध्यपूर्वमा गएका छन् ।

नेपालका ३९.९ प्रतिशत जनसंख्या आर्थिक रूपले सक्रिय भएकोमा यस प्रदेशका भने ४२.५ प्रतिशत आर्थिक रुपले सक्रिय छन्, जुन नेपालको औसतभन्दा २.६ प्रतिशतले बढी हो । नेपाल मानव बिकास प्रतिबेदन २०१४ अनुसार नेपालको सूचकाङ्क ०.४९० छ । यस प्रदेशको सूचकाङ्क ०.५५८ छ जुन सबैभन्दा उच्च हो । मानव विकास सूचकाङ्कमा नेपालका दश उत्कृष्ट जिल्लाहरुमध्ये यस प्रदेशका पाँच जिल्लाहरु क्रमश काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र काभ्रेपलाञ्चोक रहेका छन् ।

राष्ट्रिय कृषि गणना, २०६८ अनुसार यस प्रदेशमा सिंचाई हुने जग्गाको जम्मा क्षेत्रफल १,१३,९७३.९ हेक्टर छ । यो खेती भएको कुल जग्गाको ३४.७२ प्रतिशत हो । खेती भैरहेको ६५.२८ प्रतिशत जमिनमा सिँचाई सुविधा पुगेको छैन । यहाँ सिञ्चित जग्गाको क्षेत्रफलमध्ये सिंचाईको स्रोत अनुसार नदी, तलाउ (स्वतः वहाव) बाट ६२.८५ प्रतिशत, बाँध रिजरभ्वायरबाट १८.२६ प्रतिशत र बाँकी अन्य स्रोतबाट जग्गा सिंचित भएको देखिन्छ ।

यस प्रदेशमा मकै, गहुँ, जौ, आलु, तोरी, कफी, अलैंची, लसुन र मासको उत्पादकत्व नेपालको औसत उत्पादकत्वभन्दा बढी रहेको छ । जनसंख्याको ठूलो हिस्सा रहेको यस प्रदेशमा खाद्यान्न उत्पादन आवश्यकता अनुसार हुन सकेको छैन । आर्थिक वर्ष ०७३÷०७४ को तथ्याङ्क अनुसार यस प्रदेशमा जम्मा खाद्यान्नको उपलब्धता ८,५२,६८० मेट्रिक छन .छ भने खाद्यान्न आवश्यकता १२,४२,६१८ मेट्रिक टन रहेको छ । यसको आधारमा यस प्रदेशमा ३,८९,९६१ मेट्रिक टन खाद्यान्न न्यून रहेको छ ।

यस प्रदेशमा गाई र भैंसीको गरी ३ ५७,९३८ मेट्रिक टन दूध उत्पादन हुन्छ जुन नेपालको कुल दूध उत्पादनको १८.७ प्रतिशत हो । त्यसैगरी, भैंसी, खसी, बंगुरलगायत कुखुरा र हाँसको गरी जम्मा ७५,००६ मेट्रिक टन मासु उत्पादन हुन्छ जुन नेपालको कुल मासु उत्पादनको २२.५६ प्रतिशत हो ।

यस प्रदेशमा कुखुराका अण्डा ७,२०,०७१ हजार उत्पादन हुन्छ । नेपालको कुखुराको कुल अण्डाको ५४ प्रतिशत अण्डा यस प्रदेशमा उत्पादन हुने गरेको छ । यस प्रदेशमा करिब ७० प्रतिशत इन्धन र ४० प्रतिशत पशु आहारा वन क्षेत्रबाट उपलब्ध हुदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा मध्यबर्ती क्षेत्रका हिसाबले यो प्रदेश महत्वपूर्ण छ । नेपालभर रहेका १२ वटा राष्ट्रिय निकुञ्जहरूमध्ये यस प्रदेशमा चितवन, लाङ्टाङ्, शिवपुरी र पर्सा गरी ४ वटा राष्ट्रिय निकुञ्ज रहेका छन् । राष्ट्रिय निकुञ्जमध्ये चितवन राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिकोणले प्रमुख गन्तब्य रहेको छ ।

नेपालको साक्षरता दर ६५.९४ प्रतिशत छ भने यस प्रदेशको साक्षरता दर ७४.८५ प्रतिशत रहेको छ । यो दर राष्ट्रिय साक्षरता दर भन्दा ८.९१ प्रतिशतले बढी हो । महिला र पुरूषको साक्षरता दर क्रमशः ६७.०४ र ८२.८२ प्रतिशत रहेको छ । औद्योगिक गणना २०६९ का अनुसार यस प्रदेशमा ९६५ वटा उद्योग (प्रदेशगत रूपमा सबैभन्दा बढी) रहेका छन् जसमा ४९ हजार १ जनाले जनाले रोजगारी पाएका छन् । उद्योग विभागका अनुसार २०७५ असार १४ सम्म यस प्रदेशमा मात्र ५ हजार ६३ ( ६७.६० प्रतिशत) उद्योग छन् । उद्योगको कुल लगानीलाई हेर्दा, यस प्रदेशमा ३७.७८ प्रतिशत लगानी रहेको छ । यहाँका उद्योगले कुल ठूला उद्योगले दिएको रोजगारीको ६०.८३ प्रतिशत हिस्सा ओगटेको छ ।

आ.व. २०७३/०७४ सम्मको घरेलु तथा साना उद्योगहरुको संख्यालाई हेर्दा करीव एक लाख (३७.६६ प्रतिशत) उद्योग यस प्रदेशमा छन् । यस प्रदेशमा भएका कुल उद्योगमध्ये ४३.५४ प्रतिशत उद्योग सेवा क्षेत्रमा, २७.१ प्रतिशत उत्पादनमुलक क्षेत्रमा, १५.६७ प्रतिशत पर्यटन क्षेत्रमा र १२.६७ प्रतिशत कृषि तथा वनजन्य क्षेत्रमा छन् । जिल्लागत रूपमा सबैभन्दा बढी उद्योग काठमाडौंमा र सबैभन्दा कम उद्योग रसुवामा छन् । यो प्रदेशमा चाँदी, तामा, फलाम, स्लेट, सिमेन्ट, म्याग्नेसाईट, अभ्रक, खरी, कोइला, कोवाल्ट, निकेल, खरी, गन्धक, मार्बल, युरेनियम, ग्याँस, गेरु आदिको प्रचुर संभावना छ । सरकारले नीजि क्षेत्रलाई खानी उत्खननका लागि दिएके १२६ मध्ये ४५ ओटा अनुमति पत्र यस प्रदेशमा दिएको देखिन्छ ।

नेपालमा रहेका ११ औद्योगिक क्षेत्रहरुमध्ये बालाजु, पाटन, भक्तपुर र हेटौडा औद्योगिक क्षेत्र गरी ४ वटा औद्योगिक क्षेत्र यस प्रदेशमा रहेका छन् । हेटौडाको मयूरधाप र चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको डि.पि.आर. र इ.आइ.ए.को क्रममा छन् । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालमा १० वटा मध्ये ८ वटा सम्पदाहरु यस प्रदेशमा पर्दछन् ।

२०७५ वैशाख १२ गतेसम्ममा कुल १००६.८ मेगावाट विद्युत उत्पादन भएकोमा यस प्रदेशमा ३४०.३ मेगा वाट छ । यस प्रदेशमा २३२६.६ मेगावाट विद्युत निर्माणाधीन अवस्थामा रहेको छ जुन निर्माणको चरणमा रहेका ४ हजार ६ सय ४१ मेगावाट आयोजना मध्ये ५० प्रतिशत भन्दा बढी हो । यस प्रदेशका सबै जिल्ला सदरमुकामहरूलाई कालोपत्रे सडकले जोडेको छ । जिल्ला सदरमुकामदेखि स्थानीय तहसम्म कुनै न कुनै किसिमको सडकले छोएको छ ।

यस प्रदेशमा नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अन्य ५ वटा विमानस्थल रहेका छन् । बिमान स्थल भएर पनि लाङ्टाङ्, जिरी र मेघौली सञ्चालनमा छैनन् भने रामेछाप बिमानस्थलबाट पनि नियमित सेवा सञ्चालनमा छैन ।