नेपाली साहित्यमा नयाँ अभ्यास, घोस्ट राइटिङ

२०७५ साउन २६ शनिवार
Abishkhar Khanal

काठमाडौँ, २६ साउन । घोस्ट राइटिङ अर्थात छायाँ लेखन बेलाएतको लण्डनमा २ सय ५० वर्ष अघि नै सुरु भए पनि नेपाली साहित्यमा भने यो नयाँ अभ्यास हो । छायाँ लेखनको अर्थ कुनै लेखकले विशेष पात्रको जीवनीमा आधारीत रहेर लेखिने कृति हो । जसमा लेखक छायाँमा रहन्छ । यस्ता कृतिका पात्र समाजका सबैखाले मानिस हुन सक्छन् । सबै वर्ग, धार्मिक, जातिय पृष्ठ भूमिका जो आफ्नो आत्मकथा लेख्न चाहन्छन् ।

नेपाली साहित्यमा छायाँ लेखनको प्रवेश केही पहिले नै भएपनि औपचारिक रुपमा भने चार वर्षअघि कमल ढकालले गरेका हुन् । ‘नेपालमा दिनहुँ धेरै मान्छेको अनाहकमा मृत्यु हुने गर्छ, माओवादी आन्दोलनमा १३ हजार, भुकम्पले १० दश हजार भन्दा बढी मान्छेको मृत्यु भयो । त्यस्तै बोक्सी, दाइजो र सडक दुर्घटनामा परी हजारौँको मृत्यु हुने गर्छ र धेरै मान्छेको जीवन सकिन्छ जीवनको कथा सकिन्छ, यो नहोस मान्छे हुँदै उहाँहरुको सम्झना हुँदै आफ्नो जीवन भोगाइको पुस्तक बनाउन हामी लागेका छौँ,’ ढकाल भन्छन् ।

मानिस जन्मिँदा अरबौँ संभावित जीवनलाई पछि पारेर नन्मिने हुनाले उसको जीवन नै एउटा ठूलो सफलता रहेको ढकाल बताउँछन् । उनी भन्छन्, ‘कुनै पनि मानिस सामान्य छैन, हरेकले जीवनमा धेरै संघर्ष गरेका हुन्छन् र हरेकको संघर्षबाट केही न केही पाठ सिक्न सकिन्छ । यहाँ यस्ता कुरालाई लिखित रुपमा प्रस्तुत गर्ने चलन कम छ, त्यस्ता ओझेलमा परेका कथालाई कृति बनाइ प्रकाशित गर्नु मेरो उद्देश्य हो ।’

छायाँ लेखनलाई अभियानसँग जोड्ने काम लेखन कुञ्जले गरेको छ । यस संस्थाले घोस्ट राइटिङका अलावा लेखनका अन्य विधा क्रियटिभ राइटिङ र थिएटर राइटिङलाई पनि अघि बढाइरहेको छ यहाँका भौतिक संरचना समेत साहित्यको छनक पाउन सकिन्छ । यहाँ कौतुहल कुञ्ज, शान्त कुञ्ज, कुञ्ज थिएटर र कुञ्ज क्याफे जस्ता साहित्यका फरक विरुवाको विजारोपण गरिएको छ । यो नेपाली साहित्यको इतिहासमै नयाँ प्रयोग हो । लेखन कुञ्ज लेखन, प्रकाशन, पुस्तक हटिया, नाटक मञ्चन र लेखकलाई खाना खाजा सबै उपलब्ध हुने सिर्जजनात्मक केन्द्र बनेको छ ।

अभियानको सुरुका वर्षको तुलनामा मानिसहरुमा घोस्ट राइटिङ अर्थात छायाँ लेखनको ज्ञान बढेको र आफ्नो कथा लेखाउन आउनेहरुको संख्यामा पनि वृद्धि भएको उनी बताउँछन् । लेखन कुञ्जबाट अहिले सम्म दुई दर्जन भन्दा बढी आत्मकथा प्रकाशित छन् भने करीब १५० कृति लेखिने क्रममा छन् । यहाँबाट प्रकाशित कृतिका पाठकको संख्यामा पनि बिस्तारै वृद्धि भैरहेको छ ।

छायाँ लेखनका माध्यमबाट मानिसहरुले आफ्ना पुर्खाको बारेमा जान्न सक्ने र भविष्यमा इतिहासको दस्तावेजको रुपमा प्रयोग हुन सक्ने भएकाले यसमा राष्ट्रको पनि ध्यान जानुपर्ने हो तर राज्यले गर्नुपर्ने काम आफू एक्लैले थाल्दा पनि कसैको साथ नमिलेको ढकालको गुनासो छ ।