बामपन्थी नेता सोमनाथ चटर्जीको निधन

२०७५ साउन २८ सोमवार
Newsdesk shikharnews

कोलकाता, भारत, २८ साउन । भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उहाँ ८९ वर्षका हुनुहुन्थ्यो ।
श्री चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । चिकित्सकका अनुसार उहाँमा मुटुको समस्या थियो । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नेता श्री चटर्जी मृगौला रोगबाट थलिनु भएको थियो । उहाँलाई शनिबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत जुलाईमा समेत उहाँलाई हृदयघात भएको थियो ।

सन् १९२९ जुलाई २५ तारिखमा जन्मिनुभएका चटर्जी १० पटकसम्म भारतीय लोकसभाका सदस्य हुनुहुन्थ्यो । भारतमा सबैभन्दा बढी लोकसभामा प्रतिनिधित्व गर्नेमध्येका उहाँ एक हुनुहुन्थ्यो । उहाँ सन् २००४ देखि २००९ सम्म भारतीय लोकसभाका सभामुख हुनुहुन्थ्यो ।