उपप्रधान तथा रक्षामन्त्री पोख्रेलद्वारा वाजपेयीप्रति श्रद्धाञ्जलि
काठमाडौं, ३ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । लैनचौरस्थित दूतावासमा पुगी उनले नेपाल सरकारको तर्फबाट स्वर्गीय वाजपेयीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धान्जली व्यक्त गरेका हुन् ।
दूतावासमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेललाई भारतीय राजदूत मन्जिव सिंहले स्वागत गरेका थिए । निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय वाजपेयीको बिहीबार निधन हुनुभएको थियो । दूतावासमा राखिएको शोक पुस्तिकामा श्रद्धान्जली व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले वाजपेयीलाई उच्च व्यक्तित्वका धनी, देशभक्त र सुदूर दृष्ट्रिकोण भएको नेताको रूपमा विश्व जगतले सम्झिरहने उल्लेख गरे ।
“विश्वका जनताले उच्च व्यक्तित्वका धनि, वाक क्षमता भएको, देशभक्ति र सुदूर दृष्ट्रिकोण भएका नेताको रुपमा वाजपेयीका योगदानलाई चिरकालसम्म सम्झिरहनेछन्”, आजैदेखि राखिएको शोक पुस्तिकामा उनले लेखेका छन् । उनले २००२ मा नेपालमा भएको सार्क सम्मेलनका क्रममा नेपाल–भारतबीच विकसित भएको द्विपक्षीय सम्बन्धलाई लामो समयसम्म स्मरणः गरिरहेको उल्लेख गरे ।
नेपाल सरकार र व्यक्तिगत तर्फबाट स्वर्गीय वाजपेयीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै उनले सकारका तर्फबाट शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट पनि गरेका छन् । साथैं भावविह्वल भएको भारतीय सरकार र त्यहाँका जनतासँग नेपालको पूर्ण साथ रहेको शोक सन्देशमा उल्लेख छ । सरकारले यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई स्व. वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन भारत पठाएको थियो ।