पूर्वराजदूत झाको थापाथलीस्थित घरभित्रै हत्या,अनुसन्धान सुरु

२०७५ भदौ ४ सोमवार
Newsdesk Shikharnews

काठमाडौँ, ४ भदौ ।पूर्व राजदूत केशबराज झा मृत अवस्थामा भेटिएका छन्। उनको हत्या भएको आशंका गरिएको छ। थापाथलीस्थित आफ्नै बिस्तारामा उनी मृत भेटिएका हुन्। उनकाे टाउकोमा छुरा हानिएको जस्तो चोट रहेको प्रहरीले जनाएको छ। परराष्ट्रका पूर्व कर्मचारी झाले फ्रान्सका लागि नेपाली राजदूत भएर काम गरेका थिए। फरेन्सिक विज्ञहरु बोलाएर घटनाको अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए। घरमा उनी श्रीमतीसँग बस्दै आएका थिए। घरमा काम गर्ने युवक समेत थिए। बेलुका उनी कोठामै एक्लै सुतेका थिए।

काठमाडौंको थापाथलीस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका झाको घरमा रहेका उनका सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ। घरमा झासहित उनकी श्रीमती र एक सुरक्षागार्ड थिए। झाका छोरा बुहारी शनिबार मात्रै विदेशतिर गएको उनका छिमेकीहरुले बताएका छन्। प्रहरी अहिले घटनास्थलमा छ। प्रहरीले झाकी श्रीमतीसँग पनि सोधपुछको तयारी गरिरहेको छ।

८० बर्षिय झाको टाउको र घाँटीमा गहिरो चोट लागेकोले प्रहरीले उनको मृत्युलाई हत्या बताएको हो।  घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए। उनले भने, ‘हामीले घटनाबारे सोधपुछ सुरु गरेका छौं। छिट्टै नै सत्यतथ्य बाहिर आउनेछ।’