पैसाले गोजी भर्ने सोच बनाएर थिएटर नआउनुस् : मीना पूर्णिमा




२०७५ भदौ १३ बुधवार
NewsDesk Shikharnews

नविन पौडेल

वि.सं. २०३७ सालमा काठमाडौको हात्तीगौंडामा जन्मिएकी मीना खड्का विगत दुई दशकदेखि अनवरत रङ्गकर्ममा तल्लीन छिन् । रेडियो नाटकको स्रोता हुँदादेखि अहिले आफ्नै दर्शक तथा स्रोता बनाउँदासम्मको उनको कलायात्रालाई यहाँ थोरै भएपनि बाहिर ल्याउने प्रयास गरिएको छ ।

कलाकार होस् या व्यवसायी । समाजका हरेक क्षेत्रका व्यक्तिहरुका जीवन–संघर्षका आआफ्ना कथा सबैले बोकेकै हुन्छन् । त्यस्तै मीनाले बोकेका जीवन संघर्षका पाटोहरुमध्ये सबैसँग साट्न चाहेका संघर्ष तथा जीवनका थप अन्य निर्णायक मोडहरु हामीले खोतल्यौं । ती मोडहरु जो उनले सार्वजनिक गर्न चाहिन्, त्यो यस्तो छ :

स्रोतादेखि रङ्गकर्मीसम्म
उनलाई सानैदेखि रेडियो नाटक सुन्न मन पथ्र्यो । रेडियो नेपालबाट हरेक शनिबार दिउँसो प्रसारण हुने नाटकको उनी नियमित स्रोता थिइन् । एक दिन नृत्य कक्षा गएर फर्किंदा साथीहरुले एउटा नाटकको तयारी भइरहेको ठाउँमा जाऔं भने । मलाई पनि नाटकमा रुची त पहिलेदेखि नै थियो । कसरी रहेछ ? मनमा कौतुहल जाग्यो । सुन्ने नाटक तयार हुने ठाउँमा हेर्न र जान्न मन लाग्यो ।

“म पनि उत्साहित हुँदै गएँ”, २०५३ सालको घटना स्मरण गर्दै उनले भनिन् ।

साथीहरुले घर जाने बाटोको छेवैमा रहेको एउटा घरमा लिएर गए । जहाँ नाटकको रिहर्सल चलिरहेको थियो । एउटा कुनामा साथीहरुसँग सुकुलमा बसेर उनी अरुले नाटकको तयारी गरेको उत्सुकतापूर्वक हेरिरहेकी थिइन् । त्यस्तैमा एउटा पुरुष आवाजले उनलाई बोलायो । त्यो आवाज सोही नाटकका निर्देशक रमेश खड्काको थियो । उनी डराइन् । “त्यहाँ बस्न नपाइने पो हो कि ?” उनले मनमनै सोंचिन् ।

रमेशले उनलाई उठाए । मीना पनि सुरुक्क उठिन् । मीनाका अघिल्तिर एउटा अनपेक्षित मौका तेर्सियो । रमेशले उनलाई सिधै “नाटक खेल्छौ ?” भनेर सोध्दा उनलाई विश्वास नै भरहेको थिएन ।

मीनाको लागि कुनै सपना भन्दा कम थिएन त्यो क्षण । धेरै समय नखर्चेर नाटकको लागि “हुन्छ” भनिदिइन् । र, रमेश खड्का निर्देशित नाटक ‘गरीबको दशैँ’ उनको पहिलो नाटक बन्न पुग्यो । उनले कहिल्यै पनि सोचेकी थिइनन् कि उनी पनि कुनै दिन नाटक खेल्ने छिन् । उनले सोच्न त यो पनि सोचेकी थिइनन् होला कि अहिले सँगै उभिएको मानिससँग केही वर्षपछि एउटै जग्गेमा बस्नु पर्नेछ । र, वास्तविक जिन्दगीको नाटकमा पनि उसकै सहपात्र भएर बिताउनु पर्नेछ ।

पहिलो नाटक खेलेपछि उनको अभिनयले सबैको मन जित्यो । उनी पनि रमाउन थालिन्, नाटकमै । उनको त्यो समूहले खास खास अवसरहरु जस्तै चाडपर्व, राष्ट्रिय दिवस, जात्राहरु आदिमा मात्र नाटक मञ्चन गर्ने हुनाले मीना नाटकमा उति सक्रिय हुन पाइनन् । समयले उनलाई सर्वनाम पु¥यायो, जहाँबाट उनको औपचारिक नाट्ययात्रा प्रारम्भ भयो । सर्वनामका संस्थापक तथा निर्देशक अशेष मल्लसँगको पहिलो भेटमै मीनाले उनीबाट राम्रो प्रतिक्रिया पाइन् ।

मीनालाई नाटकमा अभिनय गर्ने इच्छा छ भन्ने थाहा पाएपछि त्यतिबेला सर्वनाममा हरेक मंगलबार हुने कार्यक्रममा अशेषले उनलाई आउन भने । उनको पहिलो घटना जस्तै सर्वनाममा पनि नाटक रिहर्सल गरेको हेर्दाहेर्दै नाटक खेल्ने अवसर जु¥यो । “कुनामा बसिरहेको मलाई अशेष दाईले भन्नु भो, ल नानी नाटक खेल्छौ हैन ? ल उठ सानो रोल छ गर । मैले हुन्छ भनें ।” सर्वनाममा खेलेको पहिलो नाटक “फेरि अर्को कंश”को प्रसङ्ग निकाल्दै उनले भनिन् ।

त्यसपछिका दिनहरुमा रङ्गयात्रामा उनी दोब्बर गतिले अघि बढ्न थालिन् । निकै छोटो समयमा त्यतिबेलाका व्यस्त रङ्गकर्मीहरुमा उनको नाम पनि जोडिन थाल्यो । उनको अभिनय यति अब्बल थियो कि त्यो रङ्गमञ्चमा मात्र सीमित रहेन । उनको अभिनयबाट प्रभावित भएर मानिसहरु उनलाई खोज्दै थिएटरसम्मै आउन थाले विभिन्न अवसरहरुमा कोसेली लिएर । छिटै उनको आवाज रेडियोमा पनि बज्न थाल्यो । थिएटर र रेडियो नाटकपछि उनलाई फिल्मका अफरहरु आउन थाले ।

रङ्गकर्म सुरु गरेको एक दशकपछि वि.सं.२०६५ सालमा उनी पहिलोपटक क्यामेरासँग मुखामुख गरिन् र उनको पहिलो सिनेमाको रुपमा चलचित्र “मैना” आयो । जसले उनका प्रशंसक झन बढे ।

खुर्सानीको रागले रोक्न नसकेको नाटक
“हामी निकै मेहेनत गरेर तयार पारेको नाटक मञ्चन गरिरहेका थियौँ । दर्शक पनि उल्लेख्य मात्रामा थिए । त्यस्तैमा केही परको घरमा खुर्सानी डढाएर हाम्रो मञ्चतिर त्यसको राग पठाइयो । उनीहरुको उद्देश्य हाम्रो नाटक बीचमै रोक्नु थियो तर हामी रोकिएनौँ । खोक्दै, आँसु पुछ्दै नाटक सिध्याएरै छाड्यौँ”, द्वन्द्वकालको घटनाको स्मरण गर्दै मीनाले भनिन् । मीनासहितको समूहले ६२÷६३ को आन्दोलनमा भाग लियो तर आफ्नै हतियार “कला” बोकेर । उनीहरु नेपालका विकटतम क्षेत्रमा पुगेर नाटकका माध्यमबाट जनतालाई सचेत बनाए । कतिपटक खाना पनि नपाएर भोकै रहेको मीना सम्झिन्छिन् ।

एकपटक नाटककै सिलसिलामा डोटी पुग्दा खाने कुरा केही थिएन । त्यहीँ स्थानीयले बनाएको झिँगासहितको रोटी खाएको अझै याद छ मीनालाई । त्यो समयमा उनीहरुलाई रोक्न धेरै षड्यन्त्रहरु रचिए तर उनीहरुले नाटक छाडेनन्, नाटकबाट क्रान्ति गर्न छाडेनन् ।

नाटक र समाजमा एक
अधिकांश रङ्गकर्मीको जस्तै समय उनको पनि आयो, नाटक र समाजमा एक रोज्नुपर्ने । जुन निकै निर्णायक रहन्छ, सबैका लागि । त्यतिबेला उनी धेरैपटक नाटक गरुँ या छोडुँ भनेर दोधारमा परेको कुरा बताइन् । एकपटक नाटकका महान हस्तीहरु भारतबाट सर्वनाम आए, १५ दिने विशेष कार्यशाला लिएर । मीनाले पनि भाग लिइन् । १५ दिनभित्र सबै तालिम सकेर एउटा नाटक पनि देखाउनुपर्ने थियो । मीना निकै खुशी थिइन्, यो कक्षा लिन पाएकोमा । तर निकट भविष्यमा आउने त्यो अन्योलताबाट भने एकदम बेखबर । उनको नाटक मञ्चन हुने दिन नै घरमा श्राद्ध प¥यो । यो उनलाई धर्मसंकटको अवस्था थियो । जाऔं घरमा श्राद्ध छ, नजाऔं आफ्नो भविष्य र इज्जतको सवाल थियो । उनलाई थिएटर र घर कतैबाट पनि राम्रो जवाफ आएन, यसो गर भनेर । उनी आफै अन्तरद्वन्द्वमा फसिन् । रातभर निदाइनन् । अन्तमा उनले श्राद्धमा नबस्न रजस्वलाको अचुक उपाय निकालिन् । किनकि हिन्दू धर्मअनुसार पर सरेकी महिलालाई कुनै पनि पूजाआजामा उपस्थित हुन वर्जित थियो । “मलाई पाप लाग्छ होला तर मैले त्यही गरेँ, जो सही थियो । किनकि श्राद्ध अर्को वर्ष पनि गर्न सकिन्थ्यो, तिथि हरेक साल आउँथ्यो तर यो सुवर्ण अवसर बारबार आउँदैनथ्यो । त्यसैले मैले त्यसो गरेँ”, मीना भन्छिन् ।

उनको ‘बाँकी पृष्ठ’ नाटक मञ्चन हुने क्रममा उनलाई फेरि अर्को ठूलो आपत आइलाग्यो । उनी नाटकका लागि तयार भएर घरबाट निस्कने क्रममा एउटा फोन आयो ।

उनका काका बितेका रहेछन् । र, उनलाई घाटसम्म लगिसकिएको रहेछ । मीनालाई छिटो घाटमा आउन भनी फोन आएपछि उनी दोधारमा परिन् । साँझ ५ बजेको शो थियो । टिकट सबै बिक्री भइसकेको । नाटकको एउटा मात्रै पात्र नहुँदा पनि अपूर्ण हुन्छ । उनलाई थाहा थियो, घाट नपुगे परिवार र आफन्तजनबाट बहिष्कृत हुनुपर्ने र नाटकमा नगए आफ्नो इज्जतको धज्जिया उड्ने कुरा । उनले आफ्ना विद्यार्थी दर्शक सम्झिन्, जो आफ्नो खाजाको पैसा बचाएर नाटक हेर्न आउँदै थिए । र, लगातार फोन पनि गरिरहेका थिए । उनले ठण्डा दिमागले सोचिन् “म नगएर घाटमा लाश नजल्ने होइन । आफन्त रिसाउलान्, रिसाउन् । मानेपछि मनाउँला नत्र यत्तिकै ठिकै छ तर मैले आफ्ना दर्शकलाई दुःखी गराउनु हुँदैन । म गइन भने उनीहरुमाथि धोका हुन्छ र भगवान सरह दर्शकलाई धोका दिनु हुँदैन भनेर म नाटक खेल्न गएँ”, उनले आफ्नो अभिनय यात्रामा आएका अप्ठ्यारा क्षणको बेलीबिस्तार लगाउँदै भनिन् ।

यतिबेला उनको दैनिकी निकै व्यस्त चलिरहेको छ । “मैना”पछि उनलाई चलचित्रबाट धेरै अफरहरु आए । उनले आधा दर्जन भन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । उनी अभिनित चलचित्र “मिस्टर भर्जिन” भर्खरै बजारमा आएको छ । उनी अहिले एउटा टेलिफिल्म र फिल्मको शुटिङमा व्यस्त छिन् । उनी रेडियो पर्यावरणमा कार्यक्रम प्रस्तोता पनि हुन् । काममा यति व्यस्त हुँदा पनि उनलाई एउटा कुराले पिरोलिरहन्छ । र, त्यो हो– नाटक । “कार्यव्यस्तताले गर्दा पछिल्लो केही समयदेखि म नाटक गर्न पाइरहेकी छैन । एक किसिमको छटपटी भइरहेछ, नाटक कहिले गर्र्ने भनेर”, मुहारमा नाटकप्रतिको मोह छल्काउँदै उनले भनिन् ।

नयाँ पुस्तालाई सुझाव
यतिबेला थिएटरहरु जसरी एकपछि अर्को खुलिरहेका छन्, त्यस्तै च्याउझैँ कलाकारहरु पनि जन्मिरहेछन् । “यो एकदम राम्रो पक्ष हो यदि उहाँहरु कलालाई माया गरेर र एउटा राम्रो कलाकार बन्ने हेतुले आउनुहुन्छ भने । तर यो ट्रेण्डको रुपमा चलिरहेको छ”, मीना भन्छिन् । मानिसहरु राम्रो कलाकार बन्ने उद्देश्यले भन्दा पनि धेरै पैसा कमाउने सोचले थिएटर पस्ने गरेको पाएको मीनको अनुभूति छ । “जो पैसा कमाउने र गोजी भर्ने उद्देश्यले थिएटर आउन चाहनुहुन्छ, उहाँहरुलाई नआउनुहोस् भन्छु”, थिएटर जान चाहने नयाँ पुस्तालाई मीनाले यस्तो सुझाव दिइन् ।