सत्ता पाउँदा मत्ताउने र नपाउँदा छट्पटाउने ?

२०७५ भदौ १४ बिहीवार
NewsDesk Shikharnews

उमेश बन्जाडे

सत्ता बाहिर हुँदा ज्यादै जनसरोकार व्यक्त गरिन्छ । जनताको भोक र शोकमा चासो राखिन्छ । त्यतिले पुगेन भने टायर पोलिन्छ । अझै भएन भने संसदमा बोलिन्छ । भए फकाएर नभए थर्काएरै भएपनि देशको माटो र आँठोको धक्कु लगाइन्छ । जेहोस् छटपटी उग्र हुन्छ ।सत्ताको खडेरीले डढेर टाँँट पल्टिएको मस्तिष्कमा भष्मै राष्ट्रवाद रसाउँछ ।

तर त्यही कुरो सत्तामा पुगेपछि विपरीत बनिदिन्छ । पारा चढेजस्तै व्यबहार प्रस्तुत हुन्छ । आफूबिनाको दुनियाँ त औंशीको कालरात्रि नै हो जस्तो शक्तिको बत्ती बालिन्छ ।

सनक र दनकको भरमा राज्यसत्ता चल्दैन । राज्य उद्दण्ड बन्दै गए जनता न्यायका लागि आगो ओकल्न सक्छन् ! उन्मत्त भएर बेलगाम दौडिने शासकहरुको गर्धन अँठ्याएर उछिट्याइदिने शक्ति हुन्छ जनतासँग । सत्ताको भरमा सन्किने र मन्सिनेहरु देशलाई निकास दिन सक्दैनन् ! बरु उल्टै अन्योलको भुमरीमा रिंगाएर आत्मरति लिन्छन् ! अझ फाटेको चप्पल लगाएर शासन सत्ताको डाडुपन्यु समाउन पुगेकाहरुको बुद्धिमा बोसो पलाएपछि त यिनीहरु देशका लागि भयङ्कर खतरा सावित हुँदारहेछन् । यो कुरो नेपालको वर्तमान सन्की राज्यव्यवस्थाले प्रष्ट पारेको छ । सीमित भजनमण्डलीको घेराबन्दीमा समृद्धिको लोकाचार पारेर डोकाचार हसुर्ने सर्वहारा माननीयहरुको डढेलोले सामान्य सुधारको विचार अंगाल्नेहरुलाई समेत त्यही भुंग्रोमा डढाएको छ ।

नेपालको इतिहासमा हरेक कालखण्डका सत्ताहरु सन्किएरै भित्तामा पुगेका छन् । र, अप्रिय घटनाहरु निम्तिएकै छन् । अझ आफूलाई नयाँ व्यवस्थाका कारिन्दा ठान्ने कामरेडहरुको इतिहास हेर्ने हो भने त शायद निधारमा हात बिसाएर पर्खिनै पर्छ । अहिले कामरेडहरुको शासन छ नेपालमा । यो बाख्राको टाउकोमा भैंसीको सिङ भिराएर पार्टी मिलनको महोब्बत बनाउँदै गरिएको एकताको उपज हुनुपर्छ । इतिहासकै शक्तिशाली सरकार भनेर चिच्याउने कामरेडहरुले यसलाई थेग्न हम्मेहम्मे परेको छ । यही व्यवस्थालाई गिज्याउने ओलि प्रवृत्तिको दादागिरीले स्थानीयस्तरको सामाजिक उच्छृङ्खलता सतहमा आउने गरेको छ । अझ दुःखद त यो छ कि अपराधिक गतिविधि पनि चरम उत्कर्षमा पुगेको छ । घटनाक्रमहरुले यो ओली कामरेड वा प्रवृत्तिको मात्रै पतन युग नभएर काँध जोड्न पुगेर नारिएका सर्वहारा भनाउँदा दामरेडहरुलाई पनि पश्चतापपूर्ण सावित हुने निश्चित जस्तै छ । नेपालमा कामरेडहरुको राजनीति धेरैपटक घाटमा पुराएको इतिहास जिउँदै छ । अरुको कारण भन्दा पनि व्यक्तिगत लुछाचुँडी र हानथापको शिकार बनेका छन् कामरेडहरु । ती घटनाहरुले राष्ट्रलाई धेरै पछाडि धकेल्न मद्दत पुराएको छ । जस्तैः एक युगमा एकपटक हुने संविधानसभा समेत नेपालमा दुईपल्ट भएको छ । र शक्ति उन्मादले सुन्निएकाहरुलाई रछ्यानमा मिल्क्याइएको ताज इतिहास हामीसँगै छ ।

हिजो दुबै ठाउँमा निर्वाचन हारेका माधवकुमार नेपाललाई सांसद बनाउँदा माओवादी आन्दोलन र स्वयं प्रचण्डलाई भारी परेको थियो । आज फेरि पनि आफ्नै जिल्लाका जनताले नपत्याएका वामदेव गौतमलाई सांसद बनाउने खेलखण्ड सुरु भएको छ, त्यो पनि उसै क्षेत्रका निर्वाचित प्रतिनिधिलाई लोप्पा खुवाएर । यता सरकारको खैंजडु समाएका युवा भन्नेहरु “जसोजसो पण्डित उसैउसै स्वाहा” को अक्कल देखाउँछन् । टायर सल्काउन बाहेकको भूमिका नदिने चौरासी नेताले काँधमा धाप मारेर “तपाइँ त हाम्रो पार्टीको युवा नेता, हाम्रो शेषपछि तपाइँकै चल्ने हो” भनेपछि हाम्रा युवा नेताहरु जिन्दगीभर त्यही सम्झिएर गर्व गर्छन् । नेपालका युवाहरु सनातनी कर्मकाण्डीय राजनीतिमा विश्वास गर्छन् । सपना, जुनको गाला मुसार्ने देख्छन् । काम, उही भ्रष्ट बुढा नेताको खुट्टा मुसार्ने । गलत र सही के हो ? छुट्याउन एक मिनेट सोंच्दैनन् । मेरो त रगतमै यो पार्टी, ऊ नेता भन्दै गलल्ल हाँस्छन् । अनि बन्छ देश ? पाइन्छ योग्य नेता ? “कर बढायो खत्तम बनायो”, संघीयता काम छैन । सबैतिर भ्रस्टाचार नै भ्रष्टाचार ! इमरान जस्तो नेता खोई ? इमरानले त यस्तो घोषणा गर्यो, उस्तो गर्यो । हाम्रो नेताले कहिले गर्ने ? भनेर बाहिर उडाउँछन् । इतिहासभरि उनै पश्चागामी नेताहरुको पैताला मुसारेर यसो भन्न त हामीलाई लाज लाग्नु पर्ने हो ।

सम्भवतः हामिीमले आजसम्म नेता भन्नेहरुबाट पाएको उपलब्धि पश्चाताप भन्दा अर्को छैन । पुरातन शासनका नङ्ग्राहरुले लुछ्नु लुछेर थलिएका हामी । अब त केही नयाँ पक्कै हुन्छ भन्नेमा थियौं । यद्यपि त्यहाँ पनि पानी फेरिने निश्चित जस्तै भयो । पुरातनका पर्दा हटाएर नुतनता बिछ्याउन गएकाहरु उतै लम्पसार परेपछि हाम्रा सपनाहरु पुनः ओरालो लागे । नयाँ होऊन् या पुराना ? शासकहरु शोषकमा परिणत भए । अनि कुल्चिरहे निर्धाहरुलाई । खानीबाट खनिज र हावापानीबाट बिजुली निकाल्नु भन्दा, जनतालाई पेलेर कर निकाल्न धेरै सस्तो पर्ने रहेछ शासकहरुलाई । त्यसैले दोहोराई दोहोराई पेलिरहन्छन् हामी निर्धाहरुलाई । उसैको परिणामस्वरूप आफै बेचिएर मुग्लानको भोको बजारमा छोराछोरीको लागि रोटी किन्नेहरुको संख्या बढिरहेको छ ।

राज्यव्यवस्थाले जति जनउत्तरदायी भएको जिकिर गरेको छ, उत्ति नै बढ्दो छ यो विदेशिनुपर्ने बाध्यता । यो त बिस्तारै समाधान हुँदै जाला र हामी आशा गरौंला । तर देशभित्र बस्नै नसकिने अवस्थाको सिर्जना गराएर कुन समाजवादमा पुग्न आँटेको हो यो सरकार ? बुझ्न सकिएको छैन । कम्युनिष्टको मसिहा ठान्नेहरुले भोकाहरुको मुखमा ताल्चा झुण्ड्याएर कुन खाले समृद्धि ल्याउन खोजेका हुन् ? त्यो बुझिएन । सत्ता पाउँदा बेसुरमा मत्ताउने र नपाउँदा मरिन्जेल छटपटाउने घिनलाग्दो युग नेपालमा कहिले अन्त्य होला खै ? भनिन्छ नि, जुन देशमा भ्रष्टाचारी, बलात्कारी र हत्याराहरू बलिया हुन्छन्, त्यो देशका न्यायालय र निर्दोष जनता सधैं कमजोर बन्छन् । त्यही भएको त होइन शक्तिशाली सरकार ?

लमही, दाङ । हाल :  क्वालालम्पुर, मलेसिया