विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राको सुरक्षामा ड्रोन समेत प्रयोगमा




२०७५ भदौ १८ सोमवार
Newsdesk Shikharnews

विराटनगर भदौ १८। विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने गरिन्छ ।यस पटकको रथयात्रामा विशेष प्रकारको घोडाले तान्ने बग्गी समावेश गरिने भएको छ । भारतबाट झिकाइएको बग्गीको पछाडि रथ रहने छ । रथयात्रामा भक्तजनको ध्यान तान्न यो वर्ष बग्गीको प्रयोग विशेष रहने आयोजकको भनाइ छ । रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाका अनुसार भारतबाट झिकाइएको विशेष प्रकारको घोडाले तान्ने बग्गी रथको अग्रभागमा राखेर यात्रामा समावेश गरिने छ । ओझाले रथ यात्राका बेला हेलिकोप्टरबाट पुष्टबृष्टि समेत गरिने जानकारी दिए ।

उनले विगतको तुलनामा यो वर्षको रथ यात्रा विशेष र भब्य हुने दावी गरे । विक्रम सम्बत १९८८ सालमा खट यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा २०२५ साल देखि रथयात्राका रुपमा मनाउन थालिएको थियो । रथ यात्रामा नेपाल र भारतका करिब पाँच लाख भक्तजन सहभागि हुने आयोजक समितिको अनुमान छ । रथ सोमबार दिउँसो चार बजे विराटनगरको तीनपैनी स्थित राधाकृष्ण मन्दिरबाट निकालिने छ ।

त्यसको एक घण्टा अघिबाटै विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु भने निकालिने छन् ।अध्यक्ष ओझाका अनुसार यात्रा विराटनगरको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथ यात्रा तीनपैनी चोक, गोल्छा चोक, ट्राफिक चोक, महेन्द्र चोक,धरानरोड,मुनालपथ, बरगाछी हुँदै राधाकृष्ण मन्दिरमै पुगेर टुँगिने छ । यात्राका लागि सात किलोमिटरको दूरी तय गरिएको छ।

रथयात्राकै अवसरमा प्रदेश १ सरकारले मोरङ र सुनसरीमा सोमबार सार्वजनिक विदा समेत दिएको छ ।

रिजालका अनुसार,सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिने छ । रथयात्रामा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गरिने यो नै पहिलो हो । एसपी केसीका अनुसार ड्रोन क्यामेरा चलाउन र त्यसको निगरानी गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट टोली आइसकेको छ । उनले ड्रोनमार्फत रथयात्रा अवधिभर सबै ठाउँको ‘रेकी’ गरेर त्यहाँको वस्तुस्थितीका बारेमा जानकारी लिने काम भइरहने बताए।

कसैले पनि कानुन विपरित कार्य गरेको पाइएमा ड्रोन क्यामेरामा कैद भएको दृष्यका आधारमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाउन निर्देशन दिइसकिएको डीआईजी रिजालले बताए । आकासमा उडाइने ड्रोन क्यामेराको प्राविधिकमार्फत कुनै एक  निश्चित ठाउँबाट निगरानी गरिने उनको भनाइ छ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले रथयात्राको सुरक्षा निगरानीका लागि दुईवटा ड्रोन तयारी अवस्थामा राखिएको बताए । यस अघि सुरक्षाका लागि सुरक्षाकर्मी मात्रै परिचालन गरिंदै आएकोमा यस पटक भने नौलो तरिकाबाट सुरक्षा निगारनी गर्न ड्रोन आकासमा उडाइने उनले रथयात्रा सुरक्षा निगरानीका लागि ड्रोनको प्रयोग पहिलो अभ्यास भएको जानकारी दिए ।