३३ विकास बैंकको वित्तिय अवस्था सुधारोन्मुख




२०७५ भदौ २२ शुक्रवार
Business NewsDesk

 

काठमाडौं । आर्थिक बर्ष २०७४/ ०७५ मा संचालनमा रहेका ३३ वटा विकास बैंकहरु मध्ये सबै भन्दा बढी मुक्तिनाथ विकास बैकले नाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैंकबाट ख वर्गको बैंकका रुपमा संचालनको अनुमती लिएका विकास बैकहरुको संख्या अहिले ३३ पुगेको छ ।

 

जसमध्ये राष्ट्रिय स्तरका विकास बैंक ११ वटा, ४ देखि १० जिल्ला कार्यक्षेत्र रहेका विकास बैंक एउटा, १ देखि ३ जिल्ला कार्यक्षेत्र रहेको विकास बैंक १७ वटा र एउटा जिल्लामात्रै कार्यक्षेत्र रहेको विकास बैंकको संख्या ४ वटा रहेको छ । ती मध्ये हालसम्म ३१ वटा बिकास बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेको छ ।

 

गत आर्थिक बर्षमा ४ वटा बिकास बैंकहरुले ५० करोडभन्दा बढी नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको हो । जसको नाफा ५७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

 

त्यस्तै दोस्रो स्थानमा महालक्ष्मी विकास बैंक पर्ने सफल भएको छ । गत आर्थिक बर्षमा बैंकले ५६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने बढी नाफा आर्जन गर्ने विकास बैंकहरुको तेस्रो नम्बरमा रहेको कैलाश विकास बैंकले ५५ करोड ३२ लाख रुपैयाँ र चौथो स्थानको गण्डकी विकास बैंकले ५० करोड १८ लाख रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएका छन् ।

 

त्यसै गरि सबैभन्दा कम नाफा कमाउने विकास बैंकको सुचीमा ग्रिन डेभलपमेन्ट बैंकको रहेको छ । यसको नाफा भने जम्मा ८३ लाख रुपैयाँ रहेको छ । तर अघिल्लो आर्थिक वर्षकोे सोही अवधिको तुलनामा भने सबैभन्दा बढी नाफा कमाउनेमा ग्रिन डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको रहेका छन् ।

३१ वटा बैंकहरुमामा १९ वटा बैंकहरुले नाफा बढाएका छन् भने १२ वटा बैंकहरुले नाफा घटाएका छन् । नाफा घट्नेमा देवः, सांग्रिला, मितेरी, साइन रेसुंगा, सहयोगी, मिसन, साहारा, कर्णाली, पूर्णिमा, तिनाउ, सिन्धु विकास र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

 

चुक्ता पुँजी र खुद मुनाफा

३३ वटा विकास बैंकमध्ये ११ वटाले २ अर्बभन्दा माथि चुक्ता पुँजी पुर्याएका छन् । गत आर्थिक वर्षका चौथोे त्रैमाससम्ममा २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेमा गण्डकी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, देवः विकास बैंक, कैलाश विकास बैंक, ओम डेभलपमेन्ट बैंक, सांग्रिला विकास बैंक, कामना विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन् ।

गत आर्थिक वर्ष २०७४÷०७५ को चौथो त्रैमाससम्ममा आइपुग्दा सबैभन्दा बढी गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा कम चुक्ता पुँजी साहारा विकास बैंकको ७ करोड २९ लाख रुपैयाँ रहेको छ । ५ वटा विकास बैंकहरुले चुक्ता पुँजी ५० करोड रुपैयाँ पनि नाघेको छैन ।

३१ वटा बिकास बैंकहरुले गत आर्थिक वर्षको प्रकाशित वित्तीय विवरणका आधारमा विकास बैंकको स्थिति सुधारोन्मुख रहेको देखिन्छ ।