उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द




२०७५ भदौ २२ शुक्रवार
NewsDesk Shikharnews

काठमाडौं, २२ भदौ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा एनालग टेलिभिजन सिग्नल पूर्णरुपमा बन्द भइसकेका छन् । उपत्यकामा एनालग सिग्नल बन्द सफल भएपछि अब मोफसलका जिल्लाहरुमा पनि धमाधम एनालग टेलिभिजन बन्द हुन थालेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोफसलका अन्य शहरहरुमा पनि एनालग प्रविधि बन्द गर्न कडाइका साथ अनुगमन शुरु गरेको छ । देशभरका सबै एनालग टेलिभिजनहरु बन्द गराउन सरकारले अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले बताए । यसरी एनालग सिग्नल त्यसै बन्द गर्न भने थालिएको होइन । शाखा अधिकृत खत्री भन्छन्, “एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।” उनका अनुसार अब चल्ने एनालग केवल टेलिभिजनहरु अवैध ठहरिने छन् ।

नेपाल सरकारले देशभरिका एनालग प्रणालीका सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । उक्त समयावधिभित्र एनालग टेलिभिजन बन्द भए÷नभएको अध्ययनका लागि शाखा अधिकृत खत्री र इलेक्ट्रोनिक इञ्जिनियर अनिल भुजेलको २ सदस्यीय टोली अनुगमन गर्न थालेको हो ।

यसक्रममा पाँच नम्बर प्रदेशको ठूलो व्यापारिक केन्द्र मानिने नेपालगञ्जमा पनि एनालग प्रविधिको टेलिभिजन बन्द गरिएको छ । त्यहाँको बागेश्वरी केवल टेलिभिजन र सुपर भिजन केवल टेलिभिजनको अनुगमन गरिएको थियो । अनुगमन टोलीले सञ्चालनमा रहेको एनालग सेवा बन्द गरिदिएको छ । पूर्वी नेपालबाट एनालग प्रविधिको केवल टेलिभिजन बन्द गर्न शुरु गरेको अनुगमन टोलीले टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन नेपालगञ्जमा पनि अनुगमन गरेको हो । सोही क्रममा नेपालगञ्जका एनालग सेवा बन्द गरिएको शाखा अधिकृत खत्रीले जानकारी दिए ।

नेपालका केवल सञ्चालकले अहिले ग्राहक संख्या कम देखाएर मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी नगर्ने समस्या बढेपछि अनुगमनको पाटोलाई अझै कडा बनाएर अगाडि बढिएको शाखा अधिकृत खत्रीको भनाइ छ । खत्रीका अनुसार भारतीय डिटीएचबाट गैरकानूनीरुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा पनि चलिरहेकाले त्यसलाई तोड्न अबको व्यवस्था झनै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

अब हरेक टेलिभिजनमा सेट–टप बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिर्नु नपर्ने भएको छ । इलेक्ट्रोनिक इञ्जिनियर अनिल भुजेलले भने, “यसले सरकारको राजश्वमा पनि वृद्धि हुनुका साथै पूर्णरुपमा डिजिटाइजेशन प्रक्रिया सकिएपछि केवल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउने छन् ।” यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि रु १ हजार ५०० देखि रु ४ हजार ५०० मूल्यका छुट्टै सेट–अप बक्स लगाउनुपर्छ । यो प्रणालीअनुसार ग्राहकले प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै त्यस्तो बक्स जोड्नुपर्छ । हरेक टेलिभिजनमा उक्त बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिनुपर्छ ।

अनुगमनका क्रममा नेपालगञ्जमा सेवा दिइरहेका केवल टेलिभिजनले भारतीय डिटीएचबाट गैरकानूनीरुपमा सिग्नल लिएर वितरण गरिरहेको पाइएको शाखा अधिकृत खत्रीले बताए । “नेपालमा भन्दा सस्तो मूल्यमा पाइने भारतीय डिटीएच गैरकानूनीरुपमा केवल टेलिभिजनले नै प्रयोग गरिरहेको पाइएको छ”, खत्रीले भने । टोलीले नेपालगञ्जस्थित बागेश्वरी केवल टेलिभिजनमा गरेको अनुगमनका क्रममा भारतीय डिटीएचसमेत हटाएको छ । विदेशी डिटीएचको आयात, बिक्री, वितरण र प्रयोगमा सरकारले रोक लगाए पनि नेपालगञ्ज लगायत तराईका जिल्लामा यसको प्रयोग भने बढिरहेको छ । खत्रीले यसको पनि प्रभावकारी अनुगमन गरिने बताए ।

इलेक्ट्रोनिक इञ्जिनियर भुजेलका अनुसार केवल अपरेटरमार्फत नै गैरकानूनी डिटीएच प्रयोग भइरहेको छ । उनले गैर कानूनीरुपमा भारतीय डिटीएच प्रयोग गर्दा सस्तो पर्ने भएकै कारण यसको प्रयोग बढेको बताउँदै भुजेलले यसलाई रोक्न मन्त्रालय तहबाटै भारतीय सेवाप्रदायक कम्पनीसँग छलफल गर्नुपर्ने आवश्यकता औंल्याए ।