Horseshoe Gaming Holding Company Company Histor
२०८१ कात्तिक १९ सोमवार
काठमाडाै, २५ भदाै ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको आरोप लागेका दिलीप विष्टलाई कञ्चनपुर जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। काठमाडौंको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि १० दिन राखेर शुक्रबार साँझ महेन्द्रनगर लगिएका विष्टलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो। विष्टको स्वास्थ्य परीक्षण प्रतिवेदन पनि अदालतसामु पेश गरिएको छ। सो प्रतिवेदनबारे अदालत वा प्रहरीले केही बताउन चाहेको छैन।
जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरीकृष्ण अवस्थिले उनको स्वास्थ्य रिपोर्ट अदालतले अनुसन्धान अधिकृतलाई दिएको र त्यसबारे अदालतले केही भन्न नमिल्ने बताए। यस्तै, कञ्चनपुर प्रहरीले पनि विष्टको स्वास्थ्य अवस्थाबारे केही खुलाएको छैन। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले विष्टको अवस्थाबारे अहिले नै केही भन्न नमिल्ने बताए। उनले प्रहरीले संकलन गरेका प्रमाणका आधारमा अदालतबाट आदेश हुने भएकाले प्रमाण पहिल्यै सार्वजनिक गर्न नसकिने जानकारी दिए।
दिलीपसँगै बम दिदीबहिनीलाई पनि थप चार दिनको म्याद दिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको डिएसपी ओझाले बताए। मानसिक सन्तुलन गुमाएका विष्टको मानसिक अवस्था एवं यौन उत्तेजनाबारे परीक्षण गर्न काठमाडौं ल्याइएको थियो। तर, पारिवारीक स्रोतका अनुसार उनलाई शिक्षण अस्पतालको तेस्रो तल्लाको सुनसान एक कोठामा हत्कडी र नेलमा बेह्रेर राखिएको थियो। अँध्यारो कोठामा प्रहरीले उनलाई आफ्नो घेरामा राखेर यातना दिएको उनको परिवारले दाबी गरेको छ।
मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई प्रहरीले दिएको यातनाका कारण दिलिपले आफ्नो परिवारका सदस्यलाई समेत चिन्न नसकेको उनका परिवारजनले बताएका छन्। केही दिन अगाडि उनलाई भेट्न गएकी भाउजु र भतिजीलाई समेत उनले चिनेनन्। दिलीपकी भतिजी दिपाले पाँच सय रुपैयाँ दिन खोज्दा ‘म पैसामा बिक्ने मान्छे होइन’ भन्दै पैसा नलिएको दिपाका बुवा तथा दिलिपका दाजु खडकसिंह विष्टले बताए। त्यो पैसा प्रहरीले राखेको खडकको भनाइ छ। दाजु खडकका अनुसार दिलीपले भतिजी दिपालाई एउटा कागज दिन खोजेका थिए, जसमा ‘म निर्दोष छु’ भनेर लेखिएको थियो तर त्यो कागज प्रहरीले नै खोसेको थियो।
दिलिपका दाजु खडक विष्टले आफ्नो भाईलाई प्रहरी हिरासतमा चरम यातना दिइएको दाबी गरेका छन्। उनले काठमाडौं पठाउनुअघि नै दिलीपलाई कुटपिट गरिएको भन्दै अहिले मानसिक अवस्था झन् विग्रिएको बताए। खडक विष्टका अनुसार हिरासतमा प्रहरीको कुटाईबाट दिलिपको छाती र हातमा चोट लागेको छ। उनले दिलिपलाई स्वास्थ्य परीक्षणका लागि नभई उसलाई दिइएको यातना लुकाउन काठमाडौं लगिएको दाबीसमेत गरे। यसबारे छानविन गरिदिन उनले मानवअधिकारकर्मीहरुलाई अनुरोध समेत गरेका छन्।
निर्मलाको हत्या भएको २६ औं दिनमा प्रहरीले विष्टलाई मुख्य आरोपी भएको दाबीसहित सार्ववजनिक गरेको थियो। तर, प्रहरीको दाबीलाई स्थानीयले वास्तविक हत्यारा लुकाउन प्रहरीले गरेको ‘नाटक’ को संज्ञा दिएका छन्। यता, महेन्द्रनगरमा रहेका उच्चस्तरीय छानविन समिति र केही दिन अघि महेन्द्रनगर पुगेका प्रहरी महानिरीक्षक शर्वेन्द्र खनाललाई स्थानीयले केही महत्वपुर्ण प्रमाण लिखित रुपमै दिएको बुझिएको छ।
स्रोतका अनुसार छिमेकीले दिएको प्रमाणका आधारमा उच्चस्तरीय समिति र प्रहरी महानिरीक्षकलाई निर्मलाको वास्तविक हत्यारा नजिक पुग्न सहज भएको हुनुपर्छ। स्थानीयले दिएको प्रमाणका आधारमा अनुसन्धान केन्द्रित गरिएको पनि स्रोतले जनाएको छ। स्रोतका अनुसार १० साउनमा निर्मलालाई आशंका गरिएको हत्यारा समूहले मोडल बनाइदिने भन्दै बोलाएको थियो। सो समूहले त्यसअघि निर्मलालाई लुगा किनेर दिएको पनि स्रोतको दाबी छ। निर्मलासँगै १० साउनमै अर्की एक किशोरीलाई पनि सो समूहले भेट्न बोलाएको तर ति किशोरी कारणवश जान नपाएको स्रोतले बताएको छ।
स्थानीयले प्रहरी महानिरीक्षक खनाललाई दिएको लिखित जानकारीमा घटनाको विबरणसहित आशंका गरिएका हत्याराको समेत नाम छ।