सन्दर्भ इन्द्रजात्रा : जीवित गणेश र भैरव ओझेलमा

२०७५ भदौ २६ मंगलवार
NewsDesk Shikharnews

गणेश शाक्य

देशको परिचय दिने विभिन्न स्रोतहरु मध्ये त्यो देशको साँस्कृतिक जात्रा पर्व पनि एक प्रमुख स्रोत हुन् भन्दा अत्युक्ति नहोला । साँस्कृतिक जात्रा पर्वको दृष्टिकोणले नेपाल निश्चितरुपमा अति धनि देश हो । यहाँ वर्षभरि नै एकपछि अर्कोगरी जात्रा पर्वहरुको शृङ्खला नै चलिरहेको हुन्छ ।

जात्रापर्वहरुको शृङ्खलामा इन्द्रजात्रा पनि एक ऐतिहासिक पर्वको रुपमा परिचित छन् । जात्राको शीर्षक हेर्दा यो जात्रा इन्द्रको जात्रा जस्तो देखिए तापनि यसको प्रमुख आकर्षण भनेको दुई जीवित देवहरु र एक जीवित देवी कुमारीको रथजात्रा हुन् । यसरी, रथयात्रा गरिने जीवित देवहरुमा श्री गणेश र श्री भैरब रहेका छन् भने देवीमा श्री कुमारी रहेकी छिन् ।

यी तीनै जीवित देवदेवीहरु एकअर्काको पूरक हुन् । तीन जनामध्ये कुनै एकको अनुपस्थितिमा जात्रा अधुरो नै रहन्छ । तर, विडम्वना के छ भने इन्द्रजात्रा भनेपछि कुमारी जात्रा भन्ने मात्र सम्झने गरिएको छ । गणेश र भैरव बिल्कुलै ओझेलमा परेको छ । यसो हुनुमा राष्ट्रिय अन्तर्राष्ट्रिय लेखक, मिडिया आदिले पनि कञ्जुस्याई गरेकै कारण हुन् । जति पनि किताब, लेख, रचना, समाचार आदि प्रकाशित हुने गर्छन्, त्यसमा कुमारीमै मात्र केन्द्रित भई लेखेको पाइन्छ ।

यसै सन्दर्भमा भर्खरै तिबेत भिष्टा भन्ने एउटा ट्राभेल सम्बन्धी संस्थाले निकालेको लेखमा लेखक माष्टर क्याथरिन जिग्मेले जीवित गणेश र भैरवलाई मात्र “रोल प्ले” गर्ने पात्रका रुपमा वर्णन गरेको देख्दा अचम्म लागेको छ । लेखकले किन यसरी हावादारी गफ लेख्छन् ? कसले यस्तो सूचना दिने गर्छन् ? गम्भीर प्रश्न उठ्छ । जीवित गणेश, भैरव र कुमारीको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित हुने गरेको अन्य लेख रचनाहरुमा पनि गम्भीर त्रुटीहरु भेटिएका छन् । त्यस्ता लेख रचनाहरु तथ्यहीन र बिना अनुसन्धान लेखिएको देखिन्छ ।

अन्तर्राष्ट्रियस्तरको विकिपिडियाले समेत गणेश, भैरव र कुमारीको छनौट गर्दा शाक्य वा बज्राचार्य थर भएकाबाट गरिन्छ भन्ने उल्लेख छ, जुन सरासर गलत हो । गणेश, भैरव र कुमारीको छनौट केवल शाक्य थर (नेवार) बाट मात्र गरिन्छ । त्यसैगरी कुमारीको छनौट गर्दा हनुमान ढोकास्थित मूलचोकमा काटिएका राँगाको टाउकै टाउकोको बीचमा कन्या केटीलाई राखिन्छ । रोएमा छनौट हुँदैन । नरोएमा छनौट हुनेछ भन्ने पनि लेखिएको पाइन्छ । यो पनि तथ्यहीन कुरा हो । यस्तो प्रक्रिया नै छैन । तसर्थ, कुनै लेखक वा पत्रकारज्यूहरुले कलम चलाउँदा राम्ररी अध्ययन गरी मात्र चलाए जनमानसमा भ्रम फैलिने छैन ।

अब फेरि प्रसङ्ग जिवित गणेश, भैरब र कुमारीको स्थानतर्फ नै लागौं । गणेश, भैरव र कुमारीलाई काठमाडौंको पचलीस्थित पचली भैरवको गण मानिन्छ । इन्द्रजात्रा पर्वको पहिलो दिन अर्थात द्वादशीको दिन गणेश र भैरव परिवारका मूली र कुमारीेको हेरचाह गर्ने मूली पचली भैरव मन्दिरमा गई हाँस वा हाँसको फूल गणेशको तर्फबाट गणेशको मूर्ति, भैरवको तर्फबाट भैरवको मूर्ति, कुमारीको तर्फबाट कुमारीको मूर्ति विशेष पूजाआजासहित बलि चढाई फूल, अक्षता, टीका प्रसादको रुपमा जीवित गणेश, भैरव र कुमारीलाई लगाइदिने गर्छ । यसको अर्थ पचली भैरव गणबाट शक्ति तानी जीवित गणेश, भैरव र कुमारीमा प्रवेश गराउने भन्ने विश्वास छ । यसप्रकारको ऐतिहासिक परम्पराले जीवित गणेश, भैरव र कुमारीको एकै गणभित्रको रहेछन् भन्ने स्पष्ट बोध गराउँदछ ।

गणेश, भैरव र कुमारीको छनौट प्रक्रियामा पनि कुनै फरक छैन । सबैको छनौट प्रक्रियामा एउटै विधि, एउटै प्रणाली अपनाउँदै आएका छन् । गुठी संस्थानले प्रदान गर्दै आएका विधिवत पूजाआजामा पनि तीनैजनालाई कुनै फरक छैन । फरक छ त केवल चढाइने सरसामग्रीहरुको संख्या र आकारमा छन् । गणेश र भैरवको दाँजोमा कुमारीलाई चढाइने सरसामग्रीहरु संख्या र आकारमा बढी छ । राज्यले प्रदान गर्दै आएका सुविधामा जस्तै भत्ता आदिमा पनि भिन्नता छ । कुमारीलाई बढी, गणेश र भैरवलाई कम । जीवितलाई मात्र हैन भूतपूर्व गणेश भैरवहरुलाई दिने भत्तामा पनि भिन्नता छ । किन यस्तो व्यवहार हुन्छ ? आखिर देवता त सबै बराबर नै हुन् । कुनै ठूलो कुनै सानो त हुँदैन ।

हो, कुमारी रहुन्जेलसम्मको लागि बसन्तपुरमा बस्नको लागि छुट्टै घरको व्यवस्था छ, जसलाई कुमारी घर भन्ने गरिएको छ । त्यसैगरी, कुमारीको रथ आकारमा गणेश र भैरवको तुलनामा ठूलो छ । के यत्तिकै कारणले गणेश र भैरव ओझेलमा परेका हुन् त ? यदि यसो हो भने यो अन्याय हो । कुमारीको जस्तो गणेश र भैरवको लागि पनि छुट्टै घरको नितान्त आवश्यक छ । यसको लागि सम्बन्धित व्यक्तिविशेषहरुको तर्फबाट प्रयास नभएका पनि हैनन् । बसन्तपुरस्थित गड्डीबैठक अगाडिको एउटा विद्यालयसँगै जोडेको हाल त्रिभुवन विश्वविद्यालयको कार्यालय रहिआएको भवन गणेश र भैरवको लागि व्यवस्था गर्न सकिने भन्ने कुरा नउठेका पनि हैनन् तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

अन्तमा, यस लेखको मुख्य आशय भनेको धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक दुष्टिकोणले समान महत्व बोकेका तीनैजना जीवित देवदेवीहरुमा जीवित देवहरु गणेश र भैरव ओझेलमा परेका छन् र यसो हुनु हुँदैन भन्ने मात्र हो । अर्को महत्वपूर्ण कुरा के भन्दा कुमारीको बारेमा जीवित कुमारी स्थापना हुन आउनुमा धेरथोर भए पनि केही किम्वदन्तिहरु पाइन्छन् तर गणेश र भैरवको उपस्थिति कहिले र कसरी भन्नेबारे कुनै ठोस इतिहास भेटिएको छैन । इतिहासविद्हरुले यसबारे अध्ययन अनुसन्धान गर्नैपर्ने हुन्छ । साथै, जीवित कुमारीको कुरा गर्दै गर्दा कुनै लेखक होस वा पत्रकार जोसुकैले पनि जीवित देवहरु गणेश र भैरवको बारे पनि कलम चलाउन कञ्जुस्याई गर्नु हुँदैन ।