नाडा अटो शो काठमाडौंमा शुरु, अर्थमन्त्री भन्छन् – ऋण लिएर गाडी नचढ्नु




२०७५ भदौ २६ मंगलवार
Business NewsDesk

काठमाडौं । १३ औं नाडा अटो–शो काठमाडौंमा मंगलबारदेखि सुरु भएको छ । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपाल र ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको आयोजनामा काठमाडौैंको भृकुटीमण्डपमा अटो शो सुरु भएको हो ।

 

नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी नचढ्न सुझाव दिएका छन् । नाडा अटो शोमा प्रमुख अतिथीका रुपमा आफ्ना धारणा राख्दै उनले ऋण लिएर गाडी नचढ्न सुझाव दिएका हुन् । उनले अटोमोबाइल क्षेत्रले मुलुकको राजश्वमा १५ प्रतिशत योगदान दिएको बताउँदै त्यस्तो क्षेत्रको विकासमा सरकार सम्वेदनशिल रहेको दावी पनि गरे ।

 

मन्त्री खतिवडाले विद्युतिय सवारी साधन र ठूला सवारीहरुको आयातमा सरकारले बिशेष सहुलियत दिएको र त्यस्तो सहुलियतलाई निरन्तर बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । त्यस्तै कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अटोमोबाइल क्षेत्रप्रति सरकारको दृष्टिकोण नकारात्मक रहेको बताईन् ।

उनले अटोमोवाईल क्षेत्र अहिले विलासी भन्दा आवश्यक बन्दै गएकोले सरकार सकारात्मक हुनु पर्ने बताईन् । मेलामा १९ वटा चार पांग्रे र २० वटा दुई पांग्रे ब्राण्डले सहभागिता जनाएको छ ।

६ दिनसम्म शो मा ७१ वटा कम्पनीका १ सय ३४ स्टल रहने प्रदर्शनीलाई ६० हजार दर्शकले अवलोकन गर्ने आयोजकको दावी छ ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिज बिक्रेताको सहभागिता रहेको छ ।