काठमाडौबाट अब पटना, बोधगया सिधा यातायात सुचारू




२०७५ भदौ २८ बिहीवार
NewsDesk Shikharnews

अनलाइनबाटै टिकट काट्न सकिने

काठमाडौं, २८ भदौ । राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ ।

बिहार राज्य पथपरिवहन निगम र स्वयम्भु मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्तरूपमा हरियो झण्डा फहराई बसलाई विधिवतरूपमा गन्तव्यतर्फ पठाई सेवाको शुभारम्भ गरेका छन् ।

यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बस सेवा सुरू हुनेछ । सोही कार्यक्रमको उद्घाटन प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ ।

स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.ले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरूवात गरेको छ । अबदेखि यात्रीहरूले www.manjushreeyatayat.com.np मार्फत् अनलाइन टिकट काट्न सक्नेछन् । यसैगरी बस सेवाको वेबसाइट बससेवा डटकम www.bussewa.com तथा बस सेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाइल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् । साथै भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिने छ ।

राजधानीमा आयोजित बस उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातयात मन्त्री रघुवीर महासेठले दुई देशका बीचमा इतिहासदेखि नै सुमधुर सम्बन्ध रहिआएकोमा पछिल्लो समय भारत र नेपालको सम्बन्ध अझ उचाइमा पुगेको बताए । उनले दुई देशका बीचमा यातायात सञ्चालन हुँदा दुई मुलुकका जनतालाई आवत जावतमा झनै सहजता हुने बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पटना, बोधगया लगायतका क्षेत्रमा पनि सिधा यातायात सुचारू हुनाले दुई देशका बीचमा यातायात सुविधा अझ सहज हुनुका साथै यसले नेपाल र भारतबीचको सम्बन्धलाई अझै उचाइमा पुराउने बताए ।

यस्तै कार्यक्रममा स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.का अध्यक्ष अनिल चालिसेले भने, “हामीले आगामी दिनमा पनि भारतका अन्य राज्य तथा पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै सिधा यातायात सेवा विस्तार गर्दै जानेछौँ । साथै हामीले यात्रुलाई टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सेवाको सुचारू गरेका छौँ’ ।”

वि.स २०५६ सालदेखि काठमाडौबाट दिल्ली यात्रु बस सञ्चालन गर्दै आएको यस संस्था सन् २०१४ देखि विधिवतरुपमा सरकारीस्तरबाट समेत नेपाल भारत नियमित मैत्री बससेवामा परिणत भएको छ । हाल काठमाडौ–दिल्ली–काठमाडौ, काठमाडौ बनारस काठमाडौका लागि नेपाल भारत नियमित मैत्री बससेवा सञ्चालन हुँदै आएको छ । अबदेखि यी यातायातको टिकट पनि अनलाइनबाट काट्न सकिनेछ । सन् २०१४ मा भएको १८ औँ सार्क सम्मेलनका बेला नेपालका तत्कालिन प्रधानमन्त्री स्व. सुशील कोइराला र भारतीय प्रधानमन्त्री मरेन्द्र मोदीले नेपाल भारत मैत्री बसको उद्घाटन गरेका थिए ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । यसको प्रयोग मार्फत् बस टिकट सुरक्षित् हुने पनि स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.ले जनाएको छ ।