उपत्यकामा मोनोरेलको सम्भावना : चिनियाँ कम्पनीको अध्ययन यस्तो छ




२०७५ भदौ २९ शुक्रवार
Newsdesk Shikharnews

काठमाडौँ । उपत्यकामा मोनोरेल चलाउने विषयमा सम्भावना अध्ययन गरेको एक चिनिया कम्पनीले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । काठमाडौँ र ललितपुर महानगरपालिकामा अध्ययन गर्दै चाइनाको चाइना रेल्वे २५औँ ब्यूरो गु्रप कम्पनी (सिआरसिसी)ले प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुरका प्रमुख चिरीबाबु महर्जनलाई कम्पनीका इन्टरनेशनल म्यानेजर झावो सिवावोले प्रतिवेदन बुझाएका हुन् ।

चक्रपथमा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदनमा उल्लेख छ । बुझाइएको प्रतिवेदनमा कम्पनीले सबै हिसाबले चक्रपथमा मोनोरेल चलाउन काम गर्न सकिने बताएको छ ।

मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ ।

सिआरसिसीले पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिनेगरी प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझेपछि काठमाडौँका प्रमुख शाक्यले आफ्नै कार्यकालमा काठमाडौँवासीले मोनोरेल चढ्ने सपना पूरा हुने बताए । प्रमुख शाक्यले निर्वाचनका बेला घोषणा गरेको ‘एक सय दिनका एक सय काम’ मा काठमाडौँमा मोनोरेल निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए ।

कम्पनीका इन्टरनेशनल म्यानेजर झावो सिवावोले आफूहरु चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको भन्दै जतिसक्दो छिटो निर्णय दिए आफूहरुले विस्तृत परियोजना प्रतिवेदन  शुरु गर्ने बताएका छन् ।

गत जेठमा ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने गरी चाइनाको सिआरसीसी कम्पनीले काठमाडौँ र ललितपुर महानगरपालिकासँग काठमाडौँको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो ।

“हामीले मोनोरेल चढेर बिदा हुन्छौँ भनेका छौँ”, प्रमुख शाक्यले भने, “तपाईंहरुले एकै चरणमा काम गर्न नसक्ने अवस्था आयो भने बरु दुई-तीन चरणमा भए पनि काम गर्न सक्ने सम्भावना हुन्छ । हामी छिमेकी नगरपालिकासँग पनि यो विषयमा छलफल गर्छौं ।”