निर्मला प्रकरणमा अर्को टर्न : सिआइवीको टोलीमाथि नै प्रहरीले छानविन गर्दै !

२०७५ भदौ २९ शुक्रवार
Newsdesk Shikharnews

काठमाडौँ ,२९ भदाै ।  हरेक दिनजसो नयाँ ट्विस्ट जोडिएको निर्मला पन्तको बलात्कार पछिको हत्याको ५० दिन पुगेको छ। यति लामो समयसम्म दोषी पहिचान हुन नसकेको यो केसमा अनुसन्धानमाथि नै अनुसन्धान हुनेक्रम बढेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको अनुसन्धानमाथि नै फेरि प्रहरीको अर्को टोलीले अनुसन्धान सुरु गरेको छ।

जटिल प्रकृतिका अनुसन्धानका लागि स्थापित केन्द्रीय अनुसन्धान व्यूरो९सिआइवी० पनि निर्मला पन्त प्रकरणमा विवादित बन्न पुगेको छ। सुरुदेखि नै प्रहरी संगठनभित्र राम्रो छाप छोड्न सफल सिआइवी १३ वर्षीय किशोरी निर्मला पन्त बलात्कार(हत्या प्रकरणमा भने नराम्ररी चुकेको छ। काठमाडौंबाट कञ्चनपुरका लागि खटिएको टोली यस प्रकरणमा मुछिँदा लामो समय लगाएर कायम राखेको केन्द्रीय अनुसन्धान व्यूरोको शाख नराम्ररी खस्केको छ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार दिनपछि अनुसन्धानका लागि सिआइवीको टोली कञ्चनपुर पुगेको थियो। व्यूरोबाट डिएसपी अङ्गुर जिसीको नेतृत्वमा तीन सदस्य टोलीले अनुसन्धान थालेको थियो, कञ्चनपुरमा। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र व्यूरोको टोलीले घटना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेसँगै केन्द्रबाट खटिएको प्रहरीको अनुसन्धानमा शङ्का पैदा भयो। एसपी विष्टलाई निलम्बन भए। व्यूरोको टोली समेत फिर्ता बोलाइयो। सम्पूर्ण प्रहरी सङ्गठनसँगै व्यूरोको पनि साख खस्कियो। एउटै घटनाले गर्दा प्रहरीको सङ्गठन प्रति नै नकारात्मक छाप आउन थालेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले स्वीकारे। एसएसपी थापाले भने, कञ्चनपुर घटनाले प्रहरीमाथि शङ्का र प्रश्न जन्माएको छ। हामी यसको अनुसन्धान गर्छौं।

प्रहरीले अभियुक्त बनाएका ४१ वर्षीय दिलीप सिंह विष्ट बलात्कारमा दोषी ठहर नभएसँगै प्रहरीको अनुसन्धानको विश्वसनीयता थप गिरेको हो। अहिले व्यूरोबाट एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वको टोली कञ्चनपुर पुगेर पुनस् अनुसन्धान गरिरहेको छ।

सिआइवी प्रहरी अधिकृत माथि छानबिन गर्न एसएसपीको टोली
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीको अनुसन्धान र प्रहरी अधिकृतका कामको बारे जानकारी दिन छानबिन समिति गठन गरेको छ। नेपाल प्रहरीले एसएसपीको नेतृत्वमा समिति गठन गरेर अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले बताए। एसएसपी क्षेत्रीले भने, अनुसन्धानमा के भएको हो, सिआइवीको टोलीको अनुसन्धानबारे छानबिन गरिरहेका छौं।

त्यसका लागि एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको छ। समितिले प्रहरीको बयान र अनुसन्धान गर्दैछ। त्यस्तै निलम्बनमा परेका एसपी डिल्लीराज विष्टसँग पनि आवश्यक बयान र गल्ती देखिए थप कारबाही गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ।