निर्मला पन्तको बलात्कारपछि हत्याबारे के भने सदनमा गृहमन्त्रीले ?




२०७५ भदौ २९ शुक्रवार
NewsDesk Shikharnews

काठमाडौं, २९ भदौ । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको विषयमा आज सदनलाई जानकारी गराएका छन् । संसदनमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले सदनलाई त्यसको वस्तुस्थितिबारे जानकारी गराएका हुन् ।

गृहमन्त्री थापाको जवाफको पूर्ण अंश
“माननीय सांसदज्यूहरुले कञ्चनपुर जिल्लाको घटनाको बारेमा संवेदनशीलता देखाउनु भएको र घटनाको निष्पक्ष छानबिनका लागि निरन्तर खबरदारी गरिरहनुभएको छ । भीमदत्त नपा २ बस्ने यज्ञराज र दुर्गा देवी पन्तको छोरी वर्ष १३ की निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गरिएको छानबिन तथा अनुसन्धानको विषयलाई लिएर भएको विरोध प्रदर्शनका घटनाहरु र नागरिक तहबाट भएको माग सम्बोधन गर्ने विषयलाई गम्भीरतापूर्वक लिई गृह मन्त्रालयले मिति २०७५।०५।०७ को निर्णयानुसार उच्चस्तरीय छानबीन समितिको गठन गरेको छ ।

समितिले छानबीन कार्य प्रारम्भ समेत गरिसकेको अवस्थामा पुनः भएको विरोध प्रदर्शन ध्वंशात्मक भई सरकारी सम्पत्तिमाथि क्षति पुग्ने गतिविधि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्दा हुन गएको मानवीय क्षतिको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु साथै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । नेपाल सरकारले मृतकलाई शहीद घोषणा समेत गरिसकेको जानकारी गराउन चाहन्छु । मृतक निर्मला पन्त र सनी खुनाको परिवारलाई राहतस्वरुप सरकारले १०।१० लाख रुपैयाँ उपलब्ध गराएको छ । घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाडौ ल्याई सरकारले शुल्क व्यहोरी उपचार भइरहेको छ । उक्त घटनाको छानविन तथा विस्तृत अनुसन्धान जारी छ ।

अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको कठघरामा ल्याउन र अनुसन्धान एवं अन्य कार्वाहीको सिलसिलामा कहिँकतैबाट कुनै किसिमको लापरवाही वा गल्ती भएको पाइएमा संलग्न जोकोहीलाई दण्डित गर्न मन्त्रालय प्रतिवद्ध रहेको र सोही बमोजिम मातहत निकायलाई निर्देशन गरिएको छ । महिला तथा बालबालिकाको समानता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूतिको लागि कुनै पनि किसिमका अपराधका घटना नियन्त्रणका लागि मन्त्रालय क्रियाशील छ । महिला तथा वालबालिकामाथि गरिने बलात्कार र हत्या जस्तो जघन्य अपराधका दोषीविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाउने र घटनाका दोषीहरुलाई कानूनी सजायबाट उन्मुक्ति नदिइने कुरामा म माननीय सांसदहरुलाई विश्वस्त गराउन चाहन्छु । साथै यस घटनाको निष्पक्ष छानविनलाई प्रभाव पार्ने गरी कुनै किसिमको अवाञ्छित र अतिरञ्जित अभिव्यक्ति र व्यवहार हुन गर्न नदिनेतर्फ सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्य तथ्य छानविन र अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र पीडित परिवारलाई न्याय दिलाउने कार्यमा सबैको सहयोग लागि समेत अनुरोध गर्दछु ।’’