विप्लव नेतृत्वको नेकपाबाट चलाउने, जन्मदेवसहित ५ पत्रकार निष्काशित




२०७५ भदौ २९ शुक्रवार
NewsDesk Shikharnews

काठमाडौं, २९ भदौ । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले पाँच जना पत्रकारहरुलाई साधारण सदस्यता नै नरहने गरी निष्काशित गरेको छ । सो पार्टीको मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज सुदर्शनले प्रेस विज्ञप्ति जारी गरी उनीहरुलाई अनिश्चितकालका लागि निष्काशित गरेको जनाएका हुन् ।

यसरी निष्काशनमा पर्नेहरुमा सो पार्टीको मध्य केन्द्रीय कमाण्ड अन्तर्गत व्युरो सदस्य प्रभात चलाउने, जिल्ला सदस्यहरु जन्मदेव जैशी, कमल बुढा, बाबुराम भुसाल र सुदीप बर्देवा रहेका छन् । यी मध्ये प्रभात चलाउने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव हुन् भने जैशी महासंघकाक वर्तमान केन्द्रीय सदस्य हुन् ।

उनीहरुलाई पत्रकार संगठनसम्बन्धी पार्टीको निर्णयविरुद्ध अराजकता मच्चाएको, सूचना चुहाएको, पार्टी र नेतृत्वविरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार दिएको र सार्वजनिकरुपमा जिम्मेवार साथीमाथि हातपात गरेको आरोप लगाइएको छ ।

यता, क्रान्तिकारी पत्रकार संगठनको तेस्रो राष्ट्रिय सम्मेलनबाट चुनिएका ३९ जना केन्द्रीय सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गरी ३ जना केन्द्रीय सदस्यहरुलाई निष्काशित गरिएको जनाएका छन् । उनीहरुले प्रकाश डुम्रे, हिम विष्ट र सिर्जना तिम्सिनालाई संगठनको साधारण सदस्य नै नरहने गरी निष्काशित गरिएको जनाएका छन् । उनीहरुले पार्टीका नेताहरुलाई बिल्कुलै गलत सूचना दिने, पार्टीको आडमा सञ्चालित मिडियालाई दुरुपयोग गरी अकुत पैसा उठाउने लगायतका आरोपहरु लगाइएको छ ।

पार्टीले निकालेको विज्ञप्ति

पत्रकार संगठनले निकालेको विज्ञप्ति