आज जनताको दिन, संविधान दिवसले सम्झायो नाकाबन्दी




२०७५ असोज ३ बुधवार
Newsdesk Shikharnews

काठमाडौं ३ असोज । आज संविधान दिवस । जनताद्धारा चुनिएका प्रतिनिधिले जनताका लागि लेखेको पहिलो संविधान जारी भएको तीन वर्ष पुगेको छ । २००७ सालदेखिको जनताको चाहना पूरा भएको त्यो दिन थियो २०७२ असोज ३ ।

आजको दिन संविधान दिवस मात्र नभएर राष्ट्रिय दिवस मानिएको छ । दोस्रो संविधानसभाबाट ९० प्रतिशत सभासदले हस्ताक्षर गरेको संविधान मधेसी दलको असन्तुष्टिबीच तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट नेपालको संविधान, २०७२ घोषणा गरेका थिए ।

संविधानका मूल विशेषता संघीयता, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, समावेशीता हुन् । पहिलो संविधानसभाले जारी गर्न नसकेको संविधान दोस्रो संविधानसभामा आउँछ कि आउँदैन जनताले निकै शंकाको दृष्टिले हेरेका थिए । त्यो दिन, जुन दिन विश्वका लागि नेपाल परीक्षाको घडीमा उभिएको थियो । तर, नेपालका दलहरुले त्यो परीक्षाको घडी पार गरेका थिए सहमतिमा नयाँ संविधान लिएर ।

संविधानले ३५ भाग, ३०८ धारा र ९ वटा अनुसूचीमा लिपिबद्ध मानवीय एवं लोकतान्त्रिक राजनीतिको मौलिक, आधुनिक र प्रगतिशील पक्षहरुलाई अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिएका छन् । नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताएका छन् ।

संविधान घोषणाता भए लगत्तै देशभित्र साना असन्तुष्टि देखिए भने मित्रराष्ट्र भारतले संविधान घोषणालगत्तै नाकाबन्दी लगाइदियो । नाकाबन्दी लगाउनुको मुख्य कारण नै संविधान थियो । संविधान भारतले भनेजस्तो नबन्नु नाकाबन्दी थियो । नाकाबन्दीबाट नेपालीले निकै दुःख झेल्नु परेको थियो । भूकम्पबाट भर्खर उठ्दै गरेको नेपालमा नाकाबन्दी कम ठूलो चुनौति थिएन ।

जति असन्तुष्टि र चुनौती भए पनि संविधानले २००७ सालदेखि मुलुकमा भएका सबै आन्दोलन र त्यसका उपलब्धि संस्थागत गरेको थियो । २०६५ जेठ १५ गते घोषित लोकतान्त्रिक गणतन्त्रको जग बसाउने काम संविधानले शुरु गरेको थियो ।

संविधान कार्यान्वयन त्यसपछि शुरु भयो जतिबेला देशमा तीनवटा चरणका चुनाव भए । संघीय, प्रदेश र स्थानीय गरी तीन तहका निर्वाचन एकै वर्षमा भैसकेका छन् । देशभर ७५३ वटा स्थानीय सरकार छन् । ७ वटा प्रदेश सरकार र एउटा संघीय सरकार छ ।

संविधान जारी गर्दा असन्तुष्टी जनाएका मधेशवादी दल पनि संविधानले दिएको बाटोमा अघि बढ्न तयार भए, फलस्वरुप निर्वाचनमा भाग लिए । त्यो नै संविधान कार्यान्वयनको एउटा खुट्किलो मान्न सकिन्छ ।

प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरेका छन् ।

आफ्नै हातले संविधान जारी गरेका पूर्व राष्ट्रपति रामवरण यादव भन्छन्, ‘अब यताउता केही हुँदैन । दलहरू मिलेर जानुपर्छ । सरकारमा रहेका दलहरूले विपक्षीलाई पनि साथ लिएर अघि बढ्नुपर्छ । विपक्षीले पनि संविधानको कार्यान्वयनमा साथ दिनुपर्छ । अहिले जति पनि समस्या देखिएका छन् त्यसलाई संघीयसभाबाट कानुन बनाएर संविधानलाई अघि बढाउनुपर्छ।’

संविधान जारी गर्दा महत्वपूर्ण भूमिका खेलेका संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले हामी सबै संविधानको राजमार्गमा हिडिरहेको बताएका छन् । निकै चुनौतिपूर्ण अवस्थामा आफूहरुले संविधान ल्याउन सफल भएको उनले बताए । उनी भन्छन्, नेपाली दल उदाहरण देखाउन जानेका छौं । विश्वले हामीबाट सिकोस् । जतिबेला संकट आउँछ, देशका दलहरु एकताबद्ध भएर अघि बढ्ने गरेका छौं ।