संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’




२०७५ असोज ४ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं । प्रदेश २ को केन्द्र जनकपुरमा संविधान दिवस मनाउन मुख्यमन्त्री, मन्त्री उपस्थित भएनन् । मुख्यमन्त्रीको अध्यक्षतामा हुने संविधान दिवसमा दुई घन्टासम्म कुर्दा पनि मुख्यमन्त्री, मन्त्री त्यहाँ गएनन् ।

संविधानमा लेखिएको व्यवस्थामा टेकेर भएको चुनावबाट प्रदेश सरकार बनेको हो । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री यही संविधान अनुसार नै बनेका हुन् । तर, त्यही संविधान दिवस बहिष्कार गरेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्री, राज्यमन्त्री संविधान दिवसमा उपस्थित भएनन् । यो हास्यास्पद विषय हो । जनताले उठाएको करबाट सेवा सुविधा उपभोग गरेर संविधान मान्दिनँ भन्नुले कहिँ नभएको जात्रा हाँडी गाउँमा जस्तो देखिएको छ ।

जुन संविधानले दिएको व्यवस्थामा टेकेर मुख्यमन्त्री, मन्त्री बनेर राज्यबाट तलब, भत्ता लगायतका सम्पूर्ण सेवा सुविधा राज्यबाट लिएर संविधान नै मान्दिनँ भन्ने छुट साय नेपालमा मात्र होला । सरकारमा समेत सहभागी हुने तर, संविधान दिवस नै बहिष्कार गर्नु विश्वकै लागि अचम्मित विषय हुनसक्छ ।

नेकपाका नेता भीम रावलले संविधान अन्तर्गत मन्त्री, सांसदलाई गैरजिम्मेवारी बनेको टिप्पणी गरेका छन् । नेता रावलले ट्विटरमा लेखेका छन्, ‘नेपालको संविधान अन्तर्गत मन्त्री र सांसद हुने अनि त्यही संविधान आएको दिनलाई कालो दिन भन्ने, लोकतन्त्रका कुरा गर्ने तर, अत्यधिक बहुसंख्यामा जनताले गरेको निर्णय नमान्ने कस्तो राजनीतिक नैतिकता र जिम्मेवारीपन हो ? यो प्रश्न आम नेपालीको हो ।’ ट्विटरमा लेखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संविधान दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा हुने उल्लेख गरेको थियो । त्यहाँ मुख्यमन्त्री नै भेटिएनन् ।

मुख्यमन्त्री, मन्त्री नआएपछि प्रमुख जिल्ला अधिकारीले प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंह नेतृत्वको कर्मचारी टोलीले सोही परिसरमा संविधान दिवस मनाइएको थियो ।

प्रदेश सरकारका दुवै घटक संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी (राजपा) संविधान दिवस मनाउनेबारे स्पष्ट कुरा भने गरेका थिएनन् । बुधबार बिहानै राजपाका प्रदेश सरकारका तीन मन्त्री, तीन राज्यमन्त्री पार्टीले तोकेअनुसार विभिन्न जिल्लामा पुगेर विरोधसभाको तयारीमा जुटेका थिए।

संविधान दिवसको बारेमा कुनै पनि कार्यक्रममा सहभागी नभएको मुख्यमन्त्री लालबाबु राउतले सञ्चारमाध्यमलाई बताएका थिए । आफू संविधान बारेमा न समर्थन न विरोध गर्ने दोधारे कुरा बताएका थिए । कतिपय मन्त्रीहरु विरोधसभामा पनि गएनन् , संविधान दिवसमा पनि गएनन् ।

फोरमबाटै सरकारमा सहभागी रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह तथा राज्यमन्त्रीहरू क्रमशः सरोजसिंह कुशवाहा, उषा यादव र योगेन्द्र राय यादव पनि संविधान दिवस तथा विरोधका कुनै कार्यक्रममा देखिएनन्।

राजपाबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्री पार्टीले तोकेका जिल्ला पुगेर संविधानविरुद्ध आयोजित सभामा बोलेका थिए । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, सामाजिक विकासमन्त्री नवलकिशोर साहले क्रमशः सप्तरी, सिरहा र धनुषामा आयोजित विरोधसभामा बोलेका थिए । राज्यमन्त्रीहरू डिम्पल झाले महोत्तरी, अभिराम शर्माले सर्लाही र सुरेश मण्डलले रौतहट जिल्लाको विरोधसभालाई सम्बोधन गरेका छन्। मन्त्रीहरू संविधान दिवसविरुद्धको -यालीमा अंगरक्षकसहित सहभागी भएका थिए।

प्रदेश २ को सरकारमा सहकार्य गरेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी संविधान जारी भएको दिन असोज ३ लाई कसरी मनाउने भन्ने विषयमा दुईधारमा बाँडिएका छन् ।
फोरम केन्द्रीय समितिले असोज ३ गते संविधान दिवसबारे केही नबोल्ने निर्णय ग-यो भने राजपाले कालो दिन भन्दै विरोधसभा गरेको थियो ।