बलात्कार, बलात्कारी र समाज




२०७५ असोज १३ शनिवार
NewsDesk Shikharnews

भीमबहादुर फडेरा

आजभोलि पत्रपत्रिका पढि नसक्नु, टेलिभिजन हेरिनसक्नु भएका छन् । दिनानुदिन कलिला चेलीदेखि बृद्ध हजुरआमा बलात्कार भएका समाचार जो आइरहेछन् । सामाजिक सञ्जाल, अनलाइन मिडियाहरुले बलात्कारका समाचार पूराका पूरा मसला बनाएर छापिरहेका छन् । बलात्कारीलाई मृत्युदण्डको माग, जनताको एकसाथ सरकारप्रतिको असन्तुस्टि र आक्रोश, न्यायका लागि भीख यी सबै एकैसाथ भइरहेका छन् ।

निर्मलाको बलात्कार÷हत्या प्रकरणले सिङ्गै नेपाल तातिरहेकै बेला त्यही छेउँछाउँमा अर्की बालिकाको निर्मलाको पहिलो नियति बनाउन शरीरको बनावटधारी पुरषले दुस्साहस गरे । नेपालमा त्यस्तो ठाउँ, त्यस्तो नाता, कुनै उमेर, कुनै धर्म, कुनै जातका मानिस, अछुत रहेनन् जहाँ जता, जसले बलात्कार नगरेको होस या बलात्कारको शिकार नबनाइएको होस । ३६५ दिनै बलात्कारका घटना भइरहेछन् । आफूसँग बिहे नगरेको बहानामा छूरासहित एसिड आक्रमण, श्रीमतीले भनेको नमाने मृत्युवरण गराइदिने, यौन कौतुहलता मेटाउन बलात्कार, त्यसपछि बलात्कार लुकाउन हत्या गर्ने कुरा सामान्य जस्तै भएका हुन् कि भन्ने भान भइरहेछ, यी सामचार सुन्दा, घटनाको उँभोलाग्दो बक्ररेखा हेर्दा । के साँच्ची पुरषहरु यतिसम्म निर्दयी, मानवताहीन, राक्षसी भएका हुन त ? के पुरुषहरु स्वभावैले यस्ता हुन् या नेपाली समाजको बनावटले गर्दा यस्तो भएको हो ? या त फितलो कानुनी व्यबस्थाले यो अपराधको बक्ररेखा उँभो लागिरहेछ ? अहिले सबै नेपाली पुरुषले यसको जवाफ दिनु र नेपाली समाजले जवाफ खोज्नु पर्ने टड्कारो आवश्यकता भएको छ ।

सबैभन्दा पहिला बलात्कार के हो ? मान्छेले किन बलात्कार गर्छ ? यो बुझ्नु जरुरी छ । यौन चाहना प्राकृतिक कुरा हो । साधारण मान्छेमा यौन चाहना हुनु अस्वाभाविक हैन । प्रकृतिले नै यौन सम्बन्धबाटै संसार चल्ने चक्र बनाइदिएको छ । र यसको विकल्प छैन भन्दा पनि हुन्छ । अर्कोतिर यसलाई मनोरञ्जनको बिषय हो भनेर नकार्न पनि सकिँदैन । तर मुख्य कुरो के हो भने यो सबै सम्भव हुन्छ जबसम्म सम्बन्धमा सहमति, मर्यादा र सहअस्तित्व हुन्छ । नत्र यही आवश्यक चिज संसारकै एकदम घृणित र मानवताविहीन कार्य भइदिन्छ । बहुआयामिक अपराधहरुमा बलात्कार एउटा मानव संवेदनाहीन भएकाले गर्ने काम हो ।

साधारणतया यदि पुरुषले महिलाको सहमति बेगर बल प्रयोग गरेर या झुक्याएर परस्त्रीसँग शारीरिक सम्बन्ध राखेमा यसलाई बलात्कारका रुपमा परिभाषित गरिन्छ । विश्वब्यापी स्थापित कानुनी मान्यता के छ भने यदि कुनै मानिसले महिलाको सहमति बेगर स्त्रीसँग यौन चाहनाका साथ आफ्नो यौन जनेन्द्रीय महिलाको जनेन्द्रीयमा पसाएमा या खास उमेर भन्दा मुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखेमा त्यसलाई बलात्कार या हाम्रो कानुनी भाषामा जबर्जस्ती करणी मानिन्छ । जस्तो UK को Sexual Offences Act 2003 को दफा १ अनुसार यदि “क” व्यक्तिले आशयका साथ “ख”को योनी, मुख या गुदद्वारमा “ख”को सहमतिबिना र “क”लाई “ख”को सहमति छ भन्ने मनासिव विश्वास नहुँदानहुँदै पुरुष जनेन्द्रीय पसाएमा “क”ले जबर्जस्ती करणी या बलात्कार गरेको मानिने छ भनेको छ । तर भारत र नेपालको कानुनले अलि फरक तरिकाले परिभाषित गरेको छ । हाम्रो मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ अनुसार कुनै व्यक्तिले कसै महिलालाई निजको मञ्जुरी नलिई या १८ वर्षमुनिको बालिकासँग मञ्जुरीमा भए पनि करणी गरेमा जबर्जस्ती करणी गरेको मानिनेछ भनेको छ । फरक के छ भने यदि लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी मानिने छ भनेर भारत र नेपालको कानुनले भन्छ । तर त्यही कुरा बेलायतको ऐनले यसलाई केही बस्तु पसाएर आक्रमण (assult by penetration) गरिने यौन अपराध भनेको छ । खासमा करणी भनेको महिला र पुरुषको यौन जनेन्द्रीयको मिलनलाई मानिन्छ । अरु वस्तु पसाउँदा पनि करणी मान्नु पर्ने स्थिति कसरी आयो ? यो हाम्रो समाजको वास्तविकताले मागेको कुरा हो यो । एकदम नाजुक बनाइएपछि महिलालाई बढी सुरक्षाको लागि नबनाई नहुने भएकोले र हाम्रो अभ्यासले सिकाएको कुरा हो यो । हाम्रो महिला वर्गलाई बढी सुरक्षा दिनुपर्ने भएकोले यस्तो कानुन बनाइएको हो । बलात्कार केवल यौन अपराध मात्र हैन, यसका असरहरु बहुआयामिक छन् । यो सुरुमै एउटा मान्छेको इच्छाविपरीत गरिने अपराध हो । दोस्रो महिलाको शरीरविरुद्ध गरिेने खेलवाडको (अपराध) हो । तेस्रो यो नैतिकता विरुद्धको अपराध र अन्तिममा पुरा समाज वा मानवता विरुद्धको अपराध हो ।

जसले जबर्जस्ती करणीको जुलुम गर्छ त्यो बलात्कारी या यसको अपराधी हो । प्रायजस्तो कानुनहरुमा जबरजस्ती करणी महिलाको विरुद्धमा मात्र हुन्छ भन्ने छ । हाम्रो कानुनमा पनि “कसैले” “कुनै महिलालाई” भन्ने वाक्य प्रयोग गरेको छ । यसले पनि पीडित सधै महिला र पीडक जो पनि हुनसक्छ भन्ने सोझो अर्थ दिन्छ । तर भर्खरै हेँटौडाको एउटा घटनामा करणीको पीडित र पीडक दुईवटै पुरुष भएको बाहिर आएको छ । तर, बलात्कारी सधै पुरुष नै हुने गरेका छन् । जबर्जस्ती करणी गर्न किन पुरुषहरु यति धेरै उद्धत छन् ? सजाय हुन्छ भन्ने डर हुँदाहुँदै पनि किन पुरुष यति पिपासु बन्दै गएका छन् ? यिनै मुख्य प्रश्नहरु हुन् । अपराधीको मनोविज्ञानले के भन्छ भने मानिस सजायको डर भएर अपराध नगर्ने या सजाय कम भएकोले अपराध गर्ने भन्दा पनि, देशको कानुन, पुलिस, प्रशासनलाई छलिहाल्छु भन्ने मनोविज्ञानले या कसरी छल्न सकिन्छ भन्ने र मौका पाएपछि अपराध गर्ने गर्छन् । अपराध आफैमा नैतिकताहीहन कार्य हो, चाहे त्यो सानो वा होस ठूलो होस । झन बलात्कार त संवेदनाहीन र सैतानरुपि नीच मान्छेले गर्ने कार्य हो । कुरो चाहीं के हो भने कुनै समाजमा जस्तो अहिलेको नेपाली परिवेशमा किन धेरै मात्रामा बलात्कार हुन्छ भन्ने हो । यी सबै कुराको उत्तर कुनै खास समाजमा चेतनाको लेबल र शिक्षाको स्तर कत्तिको छ ? मानिसमा आपसी सदभाव र संवेदना कत्तिको छ भन्नेमा भर पर्छ ।

अब केही कुरा समाजका बारे गरौँ । मान्छे ढुङ्गे युगबाट समाजमा कसरी आइपुग्यो भन्ने कुराले समाजको महत्व र समाजमा हुनुपर्ने गुणलाई राम्ररी बुझाउँछ । एक्लाएक्लै बस्न नसकिने, सँगै बस्दा एकअर्काको सहयोगले गुजारा गर्न सजिलो, कसैसँग लड्न सजिलो भएकै कारण मान्छे समाजभित्र आयो । झन रुसोको सामाजिक करारको सिद्धान्तले के भन्छ भने, मान्छेले निश्चित मर्यादाभित्र रहनु पर्छ र उसको सुरक्षाको जिम्मेवारी शासन गर्नेले लिनुपर्छ । मान्छे समाजभित्र आउनको मुख्य कारण नै उसको सुरक्षाको ग्यारेण्टी हो नत्रभने मान्छेले आफ्नो स्वतन्त्रता अर्कोलाई सुम्पिदैन भन्छन् । सुरक्षाको लागि बनाइएको समाज नै असुरक्षित बन्नु एकदम गम्भीर बिषय हो । समाज भनेको सम्बन्धहरुको जालो हो । एउटा मान्छे कसैको छोरो, कसैको बुवा, कसैको भिनाजु, कैसैको ससुरा, कसैको हाकिम, कसैको नोकर यस्तै यस्तै हुन्छ । एउटा मान्छेले एकै समयमा धेरै रोलको निर्वाह गरिरहेको हुन्छ । ऊ समाजमा एकदम जेलिएको हुन्छ । ऊ बस्ने समाज कस्तो छ भन्ने कुरा समाजको भू–अवस्था, समाजमा बस्ने मान्छेहरुको जात, समाजमा चेतनाको र शिक्षाको स्तरले निर्धारण गर्छ । प्रत्येक समाजका आआफ्नै मूल्य र मान्यताहरु हुन्छन् । त्यही समाजमा सबै अटाउनका लागि ती मूल्यमान्यता र मर्यादाक्रमको पालनाका साथै आपसी सहयोग, समझदारी र अस्तित्वको स्वीकार एकदम आवश्यक हुन्छ । समाजका प्रत्येक मानिसमा एकअर्काप्रति विश्वास हुनुपर्छ तब न एउटा सभ्य समाज बन्छ । जहाँ बलात्कार हुन्छ त्यो समाजमा आपसी विश्वासको ठूलो खडेरी र सभ्यपनाको स्तर एकदम निम्छरो या हुँदै हुँदैन भन्दा पनि हुन्छ ।

अरस्तुले भनेका छन्, जो मान्छेलाई समाज चाहिँदैन त्यो मान्छे कि त भगवान कि त दानव हुनुपर्छ । यसले मान्छे सामाजिक प्राणी हो । यसलाई समाज कुनै हालतमा चाहिन्छ भन्ने कुराको अवगत गराउँछ । यसरी एकअर्काबिना बाँच्न नसक्ने मानिसहरु कहिलेकाहीं या भनौँ कुनै समाजमा प्रायजसो आपसमा दानवीय व्यबहार किन गर्छन् त ? मान्छे भनेको उसले आफूलाई कसरी हेर्छ र समाजलाई कुन रुपमा लिन्छ भन्ने कुराको संयोग हो । समाजमा बलात्कार घटाउन कुनै बाहिरको मान्छे आएर यस्तो नरपिचास काम गरेको बिरलै होला । झन आफन्तले नै बलात्कार गरेको घटनाहरु धेरै आइरहेका छन् । जो पीडितसँग नजिक छ, जसले पीडितको सबै आनीबानी, काम थाहा पाएको छ, उसैले यस्तो कर्तुत गरेको, कर्तुतपश्चात अपराध लुकाउन झन सफल भएको उदारणहरु धेरै छन् । भनेको पीडक र पीडित दुबै हाम्रै समाजका पात्र हुन् । आफूसँग बिहे नगरेको झोंकमा एसिड अनुहारमा छ्याप्ने, छुरा हान्ने, यौन प्यास मेटाउन अबोध बालिकाको बलात्कार गर्ने, त्यसलगत्तै हत्या गरिदिने, श्रीमतीले भनेको नमाने छुरा हानेर हत्या गरिदिने, नाबालिकालाई लखेटेरै लगेर बलात्कार गर्ने, यौन प्यास मेटाउन बृद्धा, आफ्नै छोरीभतिजीलाई समेत नछोड्ने, पैसाको लालचमा हजुर आमालाई फलामले हानेर मरणतुल्य बनाउने यो हाम्रो समाजको चरित्र हो अहिलेको । अच्युत वाग्लेले त्यसै भनेका हैनन् “नेपाली समाजको अहिले बनेको अनुहार बलात्कारीको हो” भनेर ।

अब बलात्कारी को हुन् ? किन बलात्कार गर्छन् ? यसको समाधान के त भन्ने बिषयको चर्चा गरौँ । माथि नै भनियो, जुन मानिसमा संवेदना छैन, जसमा मानवता हराएको छ, जसले अर्को मानिसको अस्तित्व र मर्यादा स्वीकार गर्दैन या जोसँग यो ज्ञान छैन, त्यस्तो मान्छेले मात्र जबर्जस्ती करणी जस्तो कर्तुत गर्छन् । जो समाजमा बस्न जानेका हुँदैनन्, जसलाई समाज के हो ? समाजमा मेरो अस्तित्व के छ ? समाजले मलाई के दिन्छ ? भन्ने जानेका हुँदैनन् तिनीहरुले नै हो यस्तो कर्तुत गर्ने । समाजको आवश्यकता बुझेका, अर्काको अस्तित्व स्वीकार गर्न जानेका, मानवता बुझेका मान्छेले यस्तो अपराध जहाँसम्म गर्दैनन् । कुरो नेपाली समाजमा बलात्कार किन धेरै भयो भन्ने हो । यसमा हाम्रो समाजको जुन संरचना छ, यसको ठूलो हात छ । अशिक्षाको ठूलो खाडल छ । हाम्रो समाजमा चेतनाको स्तर एकदम कम छ । पुरातनवादी सोच, पितृसत्तात्मक स्कुलिङ यी सबै कुराले कहीं न कहीं घिउ थपेकै छ । बलात्कारलाई प्रश्रय दिएकै छ । समाजका बलात्कारी पात्रहरु सही र गलत के हो ? छुट्याउन नसक्ने मान्छेहरु हुन् । तिनीहरु रोगी हुन् मानसिक रुपले, नैतिक रुपले । तिनीहरुमा शैतानी मनोबल प्रवल रह्यो । जसले शैतानी जीवन जिउँछ, उसलाई मानवीय प्रवृत्तिको ज्ञान कसरी हुन्छ ? यो चिन्ताको बिषय हो कि उसले त मानवीय जिन्दगी जिउँदै जिएन । उसलाई मानव हुनुको आनन्द कहिल्यै अनुभव भएन । बलात्कारीले एकदम ठूलो चीज गुमायो, मानव हुनुको आनन्द । तिनीहरु दयाका पात्र हुन्, मानवताको औषधि दिनुपर्ने, सिकाउनु पर्ने विरामीहरु हुन् तिनीहरु । मानवताविहीन कसरी भए भन्ने चुरो कुरो हो । अशिक्षा, बेरोजगारी, समाजमा सरकारको न्युनस्तरको उपस्थिति, शिक्षामा नैतिक पाठको कमी, धुमिलो सामाजिक वातावरण, पितृसत्तात्मक स्कुलिङ यी सबै कारणले यो भयवह स्थिति उत्पन्न भएको हो । अहिलेसम्म धेरै मानिसले समाज के हो ? समाजमा मेरो अस्तित्व के छ ? समाजले मलाई के दिन्छ ? सामाजिक मर्यादा के हो ? अरुको अस्तित्व मै मेरो अस्तित्व छ भन्ने कुरा बुझेनन् । समाजले मलाई केही दिँदैन भने मैले किन अर्काको अस्तित्व स्वीकार गर्ने भन्ने मनोबलले काम गर्यो । मान्छे बनाउनतिर भन्दा भत्काउनतिर लाग्यो । र बुझेका, खासगरी सरकारले बुझाउने चेष्टा गरेन । उल्टो पाठ पढाइयो कि बलात्कारीको नभई पीडितको इज्जत जान्छ । पीडितलाई समाजमा बस्न मुस्किल बनाइयो । चारैतिर कुरा काटियो । कानुनमै हामीले पीडितको नाम गोप्य राख्ने लेख्यौ । हामीले कहिल्यै यो बुझेनौ कि बलात्कारी मानवता विरोधी हो । अस्तित्वको विरोधी हो । मर्यादा र नैतिकताको उलंघनकारी हो भनेर । उसकोमा यी सब कुराको खडेरी छ । आखिर पीडितलाई गोप्य राख्नु पनि त अपराधलाई गोप्य राख्नु जस्तै त हो भनेर हामीले बुझेनौ । बलात्कारी हाम्रो समाजको एक बिरामी होसम्म पनि भन्न सकेनौ । उल्टै पीडितलाई विरामीको रुपमा उभ्यायौ । झन पूरा पुलिस प्रशासन लगाएर बलात्कारीलाई उम्काउने पीडितलाइ धम्काउने, आवाज उठाउनेलाई गोली हान्ने काम गर्यौं । सरकारमा भएकाले बलातकार÷हत्यालाई सरकार विरुद्धको षडयन्त्र भन्यौँ । बलात्कार महिला विरुद्धको नभएर मानवता विरुद्धको अपराध र बलात्कारी मानवता हराएको मान्छे हो भनेर चित्रणसम्म गर्न सकेनौं, बुझेनौं । बलात्कारीदेखि सरकारमा भएका सबैको मानसिकताले मेल खायो । यो हाम्रो स्कुलिङले सिकाएको समाजको वास्तविक धरातल हो । “नैतिकता नभएर दिमागमा मात्र शिक्षित बनाउनु भनेको समाजमा खतरालाई शिक्षित बनाउनु हो” भन्ने अमेरिकी रुजबेल्टको भनाई हाम्रा बौद्धिक वर्गका लागि सुहाउन पुग्यो । गल्ती यहींनेर हो, कमजोरी यहींनेर हो मेरो, हाम्रो समाजको, हाम्रो राज्यको । यसरी हाम्रो समाज नैतिकता, सदभाव र सम्बेदनाविहीन हुँदै गयो । जुन वाग्लेले भनेअनुसार सामाजिक पूँजी हुन् र हाम्रो समाज, सामाजिक पूँजीविहीन हुँदैछ । अबको बाटो भनेको हामीले यही सामाजिक पूँजीको विकास गर्नुको शिवाय अरु विकल्प छैन । राज्यले शिक्षाको पहुँच विशेषगरी नैतिक शिक्षामा जोड दिनु पर्छ । हामीले मानव भएर जिउनुमा जति अरुमा मजा छैन । अर्काको अस्तित्व अस्मिता जोगाएमा मात्र मेरो अस्तित्व छ भन्ने चेतना जबसम्म विकास गराउन सक्दैनौ तबसम्म यी मानवता विरोधी बलात्कार भई नै रहने छन् ।