म एक अपरिपक्व मतदाताको साविती बयान




२०७५ असोज १६ मंगलवार
NewsDesk Shikharnews

निर्मल भट्टराई

नेपाली समाज अर्काको आलोचना गर्न र सुन्न रमाउने समाज हो । हरेक चोक, गल्ली, चियापसल, रेस्टुराँ, भट्टी पसल , पनेरो,सरकारी अफिस, मेलापात, अस्पताल, विद्यालय लगायत जहींतहीं अरुको कुरा काटेको सुन्न पाइन्छ । सबभन्दा बढी सरकार र नेताको आलोचना गरिन्छ, कुरा काटिन्छ । सरकारले गरेको कमजोरीको संसदमा वा जनताको लेवलमा आलोचना त संसारभरिकै प्रचलन हो तर यहाँ अचाक्ली नै हुने गरेको छ । आलोचना गर्नुभन्दा आत्माआलोचना गर्नु निक्कै कठिन छ । आज सबै नेता कार्यकर्ता र जनताले आफूले परम्परागतरुपमा गर्दै आएको कमजोरीको आत्म अनुभूति गरेपछि मात्र सही ठाउँमा पुग्न सकिन्छ । नेपाली जनता, जसले देशको इतिहासको निर्माण गरेका छन् । नेता र नेतृत्वको निर्माण गरेका छन् र गम्भीर परम्परागत गल्ती दोहोयाउँदै आएका छन् पनि । अरुलाई चोर औंला ठड्याउँदा आफूतिर तीन औंला फर्किएका हुन्छन् भनिन्छ । जनता अर्थात मतिर ठडिएका औलाको चर्चा किन नगर्ने ?

१) म आश्वासनको आधारमा नेता र पार्टीलाई भोट हाल्छु, आश्वासनलाई यथार्थतामा खोज्दिन । अर्को चुनावमा नयाँ नयाँ गुलिया आश्वासन पछि पछि दगुर्छु । देशको नीतिगत र संरचनागत परिवर्तन गर्न योगदान गर्ने, सही राजनीतिक सिद्धान्तको पक्षपोषण गर्नेलाई भन्दा कालो धन खर्चिएर डन, गुण्डा अगाडि पछाडि लगाएर हिड्नेलाई नेता मान्छु । वाह वाह गर्छु ।

२) चुनावमा बढी पैसा खर्च गर्नसक्ने उम्मेद्वारलाई राम्रो उम्मेद्वार ठान्छु । पैसा खर्च गर्न नसक्नेले राजनीतिमा नआए हुन्छ भनेर निम्न वर्गबाट राजनीतिमा आएका वा आउन चाहनेलाई पटक—पटक निराश पार्छुं । सर्वहाराको राजनीतिमा सर्वहाराचाहिं पस्नै नपाउने पसेका पनि बस्नै नपाउने परिस्थितिको टुलुटुलु हेरिहन्छु !

३) म एउटा सामान्य हैसियत भएको नेता शक्तिमा पुग्नेबित्तिकै करोडौं सम्पत्तिको मालिक भएको देख्दा उसको सम्पत्तिको स्रोत के हो भनेर खोजीनीति गर्दिन बरु “मौकामा चौका हानेछ” भनेर उसैको तारिफ गर्छु । आलोचनात्मक चेतलाई लुकाएर चाप्लुसी चेत प्रदर्शन गर्छु ।

४) म कम्तीमा पाँच बर्ष चल्ने स्थिर सरकार बनाउन भोट माग्छु । भोट हाल्छु । तर सरकार बनेको पाँच महिना पनि नपुग्दै सरकारको उछित्तो काढ्न थाल्छु । ताल परे विभिन्न बहानामा सरकारको विरोधमा सडकमा निस्कन्छु । पाँच महिनाअघि महान मानिएको अमुक नेतालाई उसको कुनै ब्लण्डरबिना तारो हान्ने साधन बनाउँछु । पार्टीभित्र गुटीय दबाब सिर्जना गर्छु ।

५) म बाग्मती नदी सफाई अभियान, हनुमन्ते सफाई अभियान, नगर सफाई अभियान लगायतका अभियानमा सरिक हुन्छु । नेताहरुसँग सेल्फी खिच्छु तर आफ्नो घरबाट निस्कने फोहर सुटुक्क तिनै खोला वा राजमार्ग वा सार्वजनिक स्थानमा यत्रतत्र फालिदिन्छु ।

६) म उही किसिमको निर्माण सामग्री प्रयोग गरेर आफ्नो घर पचास बर्ष टिक्ने बनाउँछु । तर आफू उपभोक्ता समितिको अध्यक्ष वा ठेकेदार भएर सरकारी बजेट खर्च गरेर आफ्नो घर अगाडिको सार्वजनिक बाटो चाहीँ पचास दिन पनि नटिक्ने बनाउँछु ।

७) म “सरकारले राम्रो नियम कानून बनाउन सकेन” भनेर खुब आलोचना गर्छु तर बनेका नियम कानूनको पालना गर्नु परे आफूलाई निम्छरो भएको महसुस गर्छु । म मापदण्ड मिचेर घर बनाउँछु र नगरपालिकाको कुनै पदाधिकारीले घुस खाएर नक्सा पास गराउन सके गौरवान्वित हुने र मापदण्ड विपरीत नक्सा पास नगर्ने पदाधिकारीलाई “चोर डाका”भन्दै सराप्छु ।

८) म आफ्ना बालबच्चालाई महङ्गा निजी स्कुलमा पढाउँछु तर सरकारी स्कुलको व्यवस्थापन समितिमा पदाधिकारी वा सदस्यमा बस्न मरिहत्ते गर्छु ।

९) म आफूलाई सर्वश्रेष्ठ ठान्दछु । सरकार, संसदभन्दा ठूलो ठान्दछु । “मेरो कुरा लागू भएन भने मरिदिन्छु” भनेर अड्डी कस्छु, अनसन बस्छु ।

१०) म कुनै सार्वजनिक वा सामाजिक काम गर्नु परेमा “यसबाट मलाई के कति फाइदा हुन्छ” बाट सोच्न थाल्छु । सकेसम्म आफ्नो भाग पहिल्यै छुट्याएरमात्र काम शुरु गर्छु ।

११) म ट्राफिक जाम भएको मन पराउँदिन । आफू जाममा परे खुइ..य, खुइ..य गर्छु तर ट्राफिक नियम र सडक नियम उलङ्घन गरेर आफैं ट्राफिक जाम गराइरहेका हुन्छु ।

१२) म देश आत्मनिर्भर होस् भन्ने चाहन्छु तर देशलाई आत्मनिर्भर बनाउन मजबुत राष्ट्रिय ढुकुटी बनाउने प्रगतिशील कर प्रणाली मन पराउँदिन ।

१३) म “यो देशमा जंगबहादुर नजन्मी केही हुँदैन” जस्ता महान तर्क गर्छु तर सरकारले केही अति आवश्यक नियम कानुनमा कडाई गर्यो भने “तानाशाही जन्म्यो” भनेर सडक तताउँछु ।

कमजोरी नगर्ने असल नागरिक उल्लिखित “म”भित्र पर्दैनन् । यहाँ त केही आम मनोवृत्तिको मात्र चर्चा गरिएको हो । यहाँ सरकारका वस्तुपरक कमीकमजोरीको आलोचना र विरोध गर्नु हुँदैन भन्न खोजिएको पटक्कै होइन । जनताको तहमा देखिने यस्ता कमजोरी नहटेसम्म समाजको अग्रगामी रुपान्तरण केवल प्राज्ञिक बहसमात्र हुनेछ । आर्थिक समृद्धिको नाराको विचल्ली हुनेछ । नेतृत्वको कार्यशैलीमा मात्र होइन, जनताको मनोवृत्तिमा परिवर्तन नआए जुनसुकै सिद्धान्त बोकेको, जतिसुकै स्थिर र प्रतिबद्ध सरकार आए पनि देशको मुहार तत्काल फेरिने कल्पना गर्न सकिदैन । किनभने नेता जनताले बनाउने हो, गड्यौला बर्सेजस्तो नेता आकाशबाट बर्सने होइन ।