बनिनसक्दै भत्किने पुल बनाउने सांसदको ‘पप्पु कन्स्ट्रक्सन‘




२०७५ असोज २० शनिवार
Newsdesk Shikharnews

काठमाडौं । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बनाउने क्रममा गुणस्तरहीन सामाग्री प्रयोग भएकाले विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

पुल बनाउँदा कर्मचारी र प्राविधिकको मिलेमतोमा कमसल सामान प्रयोग गरी उदघाटन नहुँदै भत्केको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रौनियार सहित १२ जनालाई ९० करोडको माग दाबी गर्दै मुद्दा दर्ता गरेको हो । रौनियार सांसद हुन । मुद्दा दर्ता भएसँगै उनको सांसद पद निलम्बित भएको छ ।

पुलको ठेक्का लिएर बनाउँदादेखि नै बाङ्गो देखिएको र पुल उद्घाटन नहुँदै भत्किएको भन्दै मुद्दा दर्ता भएको हो । त्यस समयमा सबै प्राविधिक कर्मचारीबाट लाईन लेभल सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप काम गरेको अख्तियारले भनेको छ ।

निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो भएको पुष्टी भएको बताइएको छ । पुलको अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन, पोखरिया-७ बीच पुल निर्माणका लागि मिति २०६८ असार २२ गते सम्झौता भएको थियो ।

बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्था हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल पायर हाइटकमा गम्भीर लापरवाही भएको आरोपपत्रमा उल्लेख छ ।
त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा काम गरेको, फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, स्पेसिफिकेसनको क्लज ११२ बमोजिम नभएको, निर्माण व्यवसायीबाट गुणस्तर पेश गर्न लगाइएको अख्तियारको दाबी छ ।

‘निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेकोकाले पुल भास्सिएको तथ्य प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टी हुन आयो’ विशेष अदालतमा दायर गरिएको आरोपत्रमा भनिएको छ ।
१२ जना व्यक्तिउपर शुक्रबार बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

आरोपित र बिगो 
१) हरिनारायण प्रसाद साह रौनियार, सांसद तथा पप्पु कन्स्ट्रक्सनका पूर्व सञ्चालक (पुल ठेकेदार लिएको समयका अध्यक्ष) बिगो– १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ
२) सुमित रौनियार, अध्यक्ष, पप्पु कन्स्ट्रक्सन, बिगो– १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ
३) गोविन्द गैरे, सब–इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो– १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ रुपैयाँ
४) कार्मा तेन्जिङ तामाङ, सब–इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – १५ करोड ८ लाख ८४ हजार ४ सय १३ रुपैयाँ
५) ई. दीपेन्द्रबहादुर विष्ट, इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – १ करोड ६१ लाख ८३ हजार ४ सय ४५ रुपैयाँ
६) ई. हरिबहादुर खड्का, इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज बिगो – ७ करोड ५४ लाख ४८ हजार ६१ रुपैयाँ
७) ई. प्रेमबहादुर चुवाई, इन्जिनियर, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – ३ करोड १९ लाख ३८ हजार ७ सय ७९ रुपैयाँ
८) ई. नवराज केसी, निमित्त डिभिजन प्रमुख, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – ६ करोड ९२ लाख ४६ हजार ९ सय २१ रुपैयाँ
९) राजेश कुमार यादव, तत्कालीन डिभिजन प्रमुख, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – ३ करोड ८८ लाख ७२ हजार १ सय ८६ रुपैयाँ
१०) मनोज श्रेष्ठ, तत्कालीन डिभिजन प्रमुख, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो – ९ करोड २४ लाख २४ हजार ९९ रुपैयाँ
११) भानु जोशी, तत्कालीन डिभिजन प्रमुख, डिभिजन सडक कार्यालय, नेपालगञ्ज
बिगो–१ करोड ९७ लाख १३ हजार ४ सय ३७ रुपैयाँ
१२) कृष्णदेव यादव सञ्चालक, इभरेस्ट इन्जिनियरिङ कन्सल्टेन्ट
बिगो– १ लाख ४१ हजार २ सय ५० रूपैयाँ