निर्मला हत्याकाण्ड : मानवअधिकार आयोगले सरकारलाई भन्यो, ‘डिएनए परीक्षण फेरि जाँच’




२०७५ असोज २२ सोमवार
Newsdesk Shikharnews

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटना छानबिनक्रममा गरिएको डिएनए परीक्षण रिपोर्टमा शंका गरेको छ । आयोगले डिएनए परीक्षण रिपोर्टमा शंका गर्दै ल्याबको अवस्थादेखि प्रयोग गरिएका औजारसमेतको पुनः जाँच गर्न निर्देशन गरेको हो।

प्रहरीले छानबिनको क्रममा गरेको डिएनए परीक्षणमा शंका लागेको भन्दै आयोगले फेरि जाँच गर्न सरकारलाई निर्देशन दिएको छ। छानबिनक्रममा स्थानीय दिलीप सिंह विष्ट, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण, अर्का स्थानीय आयुष विष्ट र चक्र बडुको डिएनए परीक्षण गरिएको थियो। सबैको डिएनए परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

‘शंकास्पद व्यक्तिहरुको डिएनए परीक्षण गरिएको भनिए पनि ल्याबमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, भेजिनल स्वाब सुरक्षा र वीर्य परीक्षण गर्न पर्याप्त तत्व थियो वा थिएन सोको समेत पुनः विश्लेषण तथा जाँच गरी एकिन गर्न’ सरकारलाई भनिएको छ।

आयोगले घटना अनुसन्धानमा प्रहरीका विभिन्न कमीकमजोरी औंल्याउँदै दोषी पत्ता लगाई पीडितलाई न्याय दिलाउन नौबुँदे निर्देशनसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ।

साउन १० मा हराएकी कञ्चनपुर उल्टाखामकी निर्मलाको ११ गते शव फेला परेको थियो। घटना  आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीबाट अनुगमन र अनुसन्धान भएको थियो। 

प्रहरीले अनुसन्धानको जिम्मेवारी नलिएका कारण दोषी पत्ता लगाउन ढिलाइ भइरहेको आयोगले जनाएको छ। घटना भइकेपछि प्रहरीले अनुसन्धानलाई प्राथमिकता नदिएका कारण, सूक्ष्म वैज्ञानिक परीक्षण नहुँदा पीडित परिवार र आमनागरिकमा निराशा बढेको आयोगको ठहर छ।

र्मला हराएकै दिन आमाले रोशनी बम र बविताको घरमा खानतलासी गर्न प्रहरीलाई अनुरोध गर्दा पनि प्रहरीले इन्कार गर्नुलाई आयोगले शंकास्पद ढंगले हेरेको छ।

आयोगले रोशनी र बवितालाई समेत शंकाको घेरामा राखी अनुसन्धान गर्न निर्देशन गरेको छ। निर्मलाको शव उखुबारीमा फेला परेपछि त्यहाँ रहेका प्रमाणको संरक्षण प्रहरीले उचित ढंगले गर्न नसकेको आयोगको निष्कर्ष छ। प्रमाण संरक्षण र संकलन गर्नुको सट्टा नष्ट गर्नु र अपराधी पत्ता लगाउन प्रशिक्षित कुकुर परिचालन नगर्नुलाई पनि आयोगले कमजोरी मानेको छ ।

आयोगले घटनाको विरोधमा भएको प्रदर्शनमा सन्नी खुनामाथि गोली हान्ने प्रहरीको पहिचान गरी कारबाही गर्न पनि निर्देशन गरेको छ। गोली लागेर खुनाको मृत्यु भएको थियो। अनुसन्धानमा बाधा पर्नेगरी कसैले अनावश्यक दबाब दिन नहुनेतर्फ पनि आयोगले सतर्क गराएको छ।